वर्षः ०२ | अङ्कः १६ | फाल्गुण–चैत्र २०७६

दुई तिहाईको दह्रो ओली नेतृत्वमा सरकारमा कानुनमन्त्री बारम्बार फेरिँदै इतिहास रच्ने तरखरमा छ ।  दुई वर्षको अवधिमा कानुनमन्त्री चारपटक फेरबदल भइसकेको छ । उपसभामुख पदबाट राजीनामा दिएको महिना दिन पछि नेकपाकी डा. शिवमाया तुम्बाहाङ्फे चौथो कानुनमन्त्री नियुक्त भएकी छन् । उनी अगाडी शेरबहादुर तामाङ, भानुभक्त ढकाल र उपेन्द्र यादवले उक्त मन्त्रालय सम्हालेका थिए । ओली निकट मानिने तुम्बाहाङ्फे समानुपातिक निर्वाचनबाट पहिलो पटक सांसद बनेकी हुन् । 

कृष्णबहादुर महरा यौन काण्डमा मुछिएपछि राजीनामा दिँदा रिक्त रहेको सभामुख पदमा तुम्बाहाङ्फेले दावी गरेकी थिइन् । तर नेकपाले अग्नी सापकोटालाई सभामुख बनाउने निर्णय लिएपछि एउटै दलका सभामुख र उपसभामुख हुन नसक्ने संवैधानिक व्यवस्थाका अनुसार उनले राजीनामा दिएकी थिइन् । तुम्बाहाङ्फे मन्त्री बनेसँगै २४ सदस्यीय मन्त्रिपरिषद्मा तीन महिला मन्त्री पुगेको छ । यस अघि पदमा अर्याल –भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण) र बिना मगर (खानेपानी) मात्र महिला मन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका हुन् । मन्त्री बनेलगत्तै उनले मौलिक हकसम्बन्धी नियमावली निर्माणमा जोड दिदै जाने बताएकी छिन् ।