वर्षः ०२ | अङ्कः १६ | फाल्गुण–चैत्र २०७६

ओली सरकारको गठनसँगै दुई वर्ष भित्र प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्ने निर्णयबाट अझ पनि सयौँ गाउँपालिका बंचित रहेको छ ।  शिक्षा मन्त्रालयको आँकडा अनुसार २०६ गाउँपालिकामा प्राविधिक शिक्षा पुगेको छैन ।  तथ्याङ्क हेर्दा २७.३६ प्रतिशत स्थानीय तहमा प्राविधिक धारको शिक्षा विस्तार हुन सकेको छैन ।  प्राविधिक शिक्षाको पहुँच विस्तार भएको पालिकामा समेत पुर्वाधार र शिक्षकको अभाव देखिन्छ ।  ७५३ स्थानीय तहमध्ये ५४७ वटामा मात्रै प्राविधिक एसएलसी, डिप्लोमा र प्राविधिक धारको कक्षामा पठनपाठन हुने गरेको छ ।  यसका अतिरिक्त २८० यस्ता क्याम्पस रहेको छ, जुन उच्च शिक्षामा प्राविधिक शिक्षा पढाई हुने विश्वविद्यालय र प्रतिष्ठान मातहतमा रहेका छन् ।

प्रदेश १ को ४५, प्रदेश २ को ४९, बागमती प्रदेशको ३२, गण्डकी प्रदेशको २६, प्रदेश ५मा १७, कर्णालीमा १८ र सुदुर पश्चिम प्रदेशमा १९ वटा स्थानीय तह प्राविधिक शिक्षाको शिक्षण संस्थाविहीन रहेका छन् । १ हजार ३१२ वटा वटा यस्ता शिक्षण संस्था रहेका छन्् जसमा केन्द्र र परिषद् मातहत आंगिक, सामुदायिक विद्यालय साझेदारी र सम्बन्धन प्राप्त माध्यमिक तहसम्म प्राविधिक शिक्षा दिइन्छ ।  यसैगरी ४३४ विद्यालयमा कक्षा ११–१२ मा प्राविधिक धार तथा निजी सम्बन्धनमा चलेका ४२९ प्रमाणपत्र – डिप्लोमा) तहका रहेका छन् ।  पाँच वर्षमा सरकारले सबै नागरिकलाई साक्षर तुल्याउने उद्देश्य राखेको छ ।  जसअन्तर्गत हालसम्म ५१ जिल्ला साक्षर जिल्ला घोषणा भइसकेका छन् ।  ज्ञात रहोस् घोषणा भएका जिल्लाको अवस्था पनि प्रष्ट  हुन सकेको छैन ।