वर्षः ०२ | अङ्कः १६ | फाल्गुण–चैत्र २०७६
नेपाली समाज र राजनीतिमा नेपाली राजनेता सरह नै चर्चा र परिचर्चा हुने पात्र हुन् – भारतीय राजदूत। नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा २५औँ राजदुतका रुपमा काठमाडौँ आएको एक साताभित्रै आफ्नो सक्रियता सबल पारेका छन्। राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र बुझाएसँगै उपराष्ट्रपति, उपप्रधानमन्त्री, परराष्ट्रमन्त्री, कांग्रेस सभापति, पूर्वप्रधानमन्त्री, उर्जामन्त्री लगायत प्रतिनिधि सभाका सभामुखसँग भेट गर्न भ्याएका छन्।
विवादरहित ३ वर्षे भुमिका निर्वाह गरेर २४औँ राजदूत मञ्जीवसिंह पुरी फर्केलगत्तै क्वात्रा नेपाल आएका हुन् । ३० वर्षदेखि विदेश सेवामा काम गरिसकेका क्वात्रा यसअघि फ्रान्समा भारतीय राजदूत रही कार्य गरिसकेका छन्। यसैगरी सन् २००६ देखि २०१० सम्म काठमाडौँ स्थित दक्षिण एशियाली क्षेत्रीय संगठन (सार्क)मा काम गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग व्यक्तिगत रुपमा निकट पहुँच भएको क्वात्रा मार्फत नेपालले चाहेमा धेरै कार्य सफल र सहजपूर्वक कूटनीतिक माध्यमले हल गर्न सक्छन्।
भारत स्वतन्त्र भएपश्चात सन् १९४७ जुन १३ देखि भारतसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापित रहँदै आएको छ । नेपालमा भारतीय राजदूतको सक्रियता आमचर्चा र चासोको रुपमा हुने गर्दछ। क्वात्रा भारतमा प्रधानमन्त्री मोदीको पहिलो कार्यकालमा सचिवालयमा समेत कार्य गरिसकेका छन्। क्वात्राका अनुसार भारतका रक्षामन्त्री राजनाथ सिंह छिट्टै नेपाल भ्रमण गर्ने बताएका छन् साथै नेपाल–भारत सम्बन्ध सरकार बीचमा मात्र नभएर जनस्तरसम्म सुदृढ रहेको पनि बताए। उनले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने बताए।