रंजन झा,
वर्ष २ । अङ्क १६ । फाल्गुण–चैत्र २०७६
एक्काइसौं शताब्दीको आरम्भमा मानव सभ्यतामाथि कै संकटको रुपमा आएको छ, कोभिड–नाइन्टीन अर्थात नोभेल कोरोना भाइरस । विश्व स्वास्थ्य संगठन डब्लुएचओले पनि यसलाई महामारी घोषणा गरिसकेको छ । महामारी विश्वका १ सय ५७ देशमा देखा परिसकेको छ। यो आलेख तयार पार्दा सम्म कोरोना महामारीले ८ हजार ७ जनाको ज्यान लिइसकेको छ । जस मध्ये ३ हजार भन्दा बढी चीनका रहेका छन भने ३ हजारकै हारहारीमा इटाली, हजार भन्दा बढी इरानमा र ५ सय भन्दा बढी जना स्पेनका रहेका छन । महामारीका कारण २ लाख भन्दा बढी मानिस संक्रमित भइसकेका छन । केही साता अघिसम्म चीनमा मात्र देखिएको कोरोना भाइरस अहिले विशेष गरी युरोपमा बढी देखिएको छ ।
डबलुएचओले कोरोनाको अबको केन्द्र बिन्दु युरोप भएको बताएको छ । महामारीलाई थप फैलिन नदिन अमेरिकाले राष्ट्रिय आपातकाल घोषणा गरेको छ भने विश्वका अन्य राष्ट्रहरुले पनि बचावका लागि सक्दो पहल गरिरहेका छन । अधिकाँश राष्ट्रमा विद्यालय, बजार, होटेल, रेष्टुरेन्ट, चलचित्र गृह र सार्वजनिक समारोहको आयोजनामा प्रतिबन्ध लगाइएको छ । अन्य मुलकबाट हुने आवगमनमाथि प्रायः सबै मुलुकले बन्देज लगाएका छन जसका कारण पर्यटन उद्योग धरासायी बनेका छन । अन्तर्राष्ट्रिय साना र ठुला खेलकुदका कार्यक्रम रद्द गरिएका छन । उद्योग धन्दा कल कारखाना बन्द गरिएका छन ,आपुर्ती प्रणाली ध्वस्त भएको छ । कोरोनाले विश्व अर्थतन्त्रलाई पु¥याएको नोक्सानको बारेमा अझै यकिन हुन सकेको छैन तर यसले विश्व अर्थतन्त्र नै धरासायी बनाएको भन्दा अतिस्योक्ती हुँदैन ।
कोरोना विरुद्धको खोप

करिब साढे दुई महिनाको प्रयास पछि कोभिड नाइन्टीनविरुद्ध मानव जातीमा नयाँ आशा पलाएको छ । मार्च १६ मा अमेरिकी वैज्ञानिकहरुको समुहले एउटा खोपको परिक्षण गरेका छन । मोडेर्ना कम्पनीले निर्माण गरेको यो खोप लाई ४५ जना अमेरिकी स्वयंसेवीमाथि परिक्षण गरिएको छ । खोपलाई एम आरएनए– १२७३ गरिएको छ । परिक्षणका लागि तयार पारिएको खोपमा वास्तविक कोरोनाभाइरसको कुनै अंश छैन । त्यसमा मेसिन्जर आरएनएको सानो भाग राखिएको छ । यसले बिरामीको कोषलाई भाइरसको संक्रमणबाट जोगाउन वा रोगविरुद्ध लडेर निको पार्न आवश्यक प्रोटीन उत्पादन गर्न सक्रिय बनाउने वैज्ञानिकहरूको अनुमान छ । सीयाटलको काइसर पर्मानन्ट वाशिङ्टन हेल्थ रिसर्च इन्स्टिट्यूटमा गरिएको परिक्षणको पहिलो चरणमा यो खोपको मात्राले प्रतिरक्षा प्रणालीले कुनै प्रतिक्रिया जनाए वा नजनाएको जाँच गरिने गरिनेछ । परिक्षण सफल भएमा १२ देखि १८ महिनामा कोरोनाविरुद्धको खोप बजारमा आउने अपेक्षा गर्न सकिन्छ । अमेरिका बाहेक अन्य मुलुकहरु पनि कोरोनोविरुद्धको खोप बनाउन जुटेका छन यद्यपी सफलता भने कसैले पाउन सकेको छैन ।
कोरोनाविरुद्ध युरोपको पहल
कोरोनाभाइरसको संक्रमण र त्यसबाट मृत्यु हुनेको संख्या चीनभित्रभन्दा बाहिर धेरै भइसकेको छ। महिनौँ लामो कडा क्वारेन्टाइनजस्ता प्रावधानका कारण केही समययता चीनभित्र नयाँ संक्रमणएवं मृत्युको संख्या घट्दो छ । तर अन्यत्र भने यो निरन्तर बढिरहेको छ । कोरोनाविरुद्धको लडाईको क्रममा अमेरिकाको न्यूयोर्क र लस एन्जलसमा रेस्टुरेन्ट, बार तथा क्याफे बन्द गर्न आब्हान गरिएको छ । न्यूयोर्कमा स्कुल बन्द गरिएका छन् । युरोपभरि संक्रमण रोक्न झनझन् कडा नियम ल्याइएको छ।
युरोपेली युनियनले सबै सदस्य देशहरुमा नाका बन्द गर्ने घोषणा गरेको छ । बेलायतमा सबैलाई सामाजिक जीवनबाट टाढा बस्न भनिएको छ भने फ्रान्सले पनि सबैलाई घरमै बस्न र पारिवारिक जमघट समेत नगर्न भनेको छ । जर्मनीले पसल तथा सार्वजनिक स्थलहरु बन्द गराएको छ । फ्रान्सको स्वास्थ्य स्थिति पनि तीव्र गतिमा विग्रिरहेको छ । जर्मनीले फ्रान्स, अस्ट्रिया, डेनमार्क, स्वीट्जरल्यान्ड र लक्जेम्बर्गसँगको उसको सिमाना आफ्नै देशका फर्किरहेका नागरिक तथा व्यापारीक सवारीसाधनका अतिरिक्त अन्य सबैका निम्ति बन्द गरिदिएको छ । इटलीको प्रधानमन्त्री जुजेपे कोन्टेले आफ्नो देश प्रकोपको सबभन्दा खतरनाक साताहरूमा प्रवेश गर्दै गरेको बताएका छन् ।
आरोप प्रत्यरोपमा विश्व समुदाय
चीनको वुहानमा पहिलो पटक दिसेम्बर ३१ तारिखमा कोरोना संक्रमित व्यक्ति फेला परेको थियो। रोगको प्रकोप यस अघि पनि त्यहाँ रहेको तर चीनले सुचना लगाएको अनुमान गरिदै आएको छ। हुबई प्रान्तको वुहानबाट फैलिएको रोग विस्तारै चीनका अन्य प्रान्तमा मात्रै नभएर विश्वभर नै फैलियो । जसका कारण यो अब कुनै एक देशको मात्रै नभएर मानव सभ्यता माथि कै संकटको रुपमा देखिएको छ । विश्वका नेताहरु चिन्तित छन, एकातर्फ उनीहरु कोरोना विरुद्धको पहलमा लागेका छन भने अर्कातिर आरोप–प्रत्यारोपमा । ओभल अफिसमा आफना अधिकारीहरुसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई फरेन भाइरस (विदेसी भाइरस) भनेर अभिव्यक्ति दिएका थिए । अमेरिकी गृहमन्त्री मायक पोम्पेओ र अन्य अधिकारीहरुले वुहान भाइरस र चाइनिज कोरोनाभाइरसभन्दै चीनलाई भाइरस फैलाउको आरोप लगाएका थिए । तर अमेरिकाको यो आरोपलाई लामो समयसमम सहेको चीनले पछिल्लो समय अत्यन्तै कडा र विश्वलाई नै चकित बनाउने आरोप लगाएको छ। चीनिया विदेश मन्त्रालयले अमेरिकामाथि आरोप लगाउदै अमेरिकी सैनिले कोरोना भाइरस चीन ल्याएको आरोप लगाएको छ। लामो समयदेखि व्यापरिक युद्धमा रहेको अमेरिका र चीनले एक अर्कामाथि लगाएको आरोपले सारा विश्व समुदाय अन्यौलमा छन।
देशभित्र पनि आरोप– प्रत्यारोप
अमेरिका र चीनले एक अर्कामाथि आरोप प्रत्यारोप लगाई रहेका बेला दक्षिण कोरियामा भने अर्कै विवाद देखिएको छ । दक्षिण कोरियामा कोरोनालाई लिएर घिन लाग्दो राजनीति भइरहेको छ। पछिल्लो समयमा त्यहाँ तीव्र गतिमा यो भाइरस फैलिरहेको देखिएको छ। कोरोना भाइरसको विशेष प्रभाव दक्षिण पूर्वी शहर डाएगुमा देखिएको छ । कोरिया सरकारले रोगलाई फैलिन नदिन हर सम्भव प्रयास गरिरहेको छ तर यही अवस्थालाई केही व्यक्तिले एक अर्कामाथि हिलो छ्याप्ने मौकाको रुपमा लिएका छन । डाएगुस्थित सिन्चोन्जी चर्चबाट संक्रमण फैलिएको र चर्चले सहयोग नगरेको आरोप त्यहाँको सरकार र केही जिम्मेवार व्यक्तिहरुले लगाएका छन् । सिन्चोन्जी चर्चले भने सरकारको आरोपलाई खण्डन गर्दै आफुहरुलाई विभेद नगर्न सरकारसँग आग्रह गरेको छ। उसले आफना चर्चलाई अनावस्यक विवादमा ल्याएको भन्दै आरोप प्रत्यारोपभन्दा पनि रोगलाई फैलिन नदिन हर सम्भव कदम चाल्न सरकारलाई आग्रह गरेको छ । उसले कोरोनाको रोकथामका लागि आफूहरु युद्धस्तरमा प्रयास गरिरहेको समेत बताएको छ । तर, समस्त मानव जातीमाथि नै संकट आएको बेला जिम्मेवार निकायहरुबाट आएको अभिव्यक्तिले समाजमा दुरी बढाउनु बाहेका अरु केही गर्दैन।
संकटमा स्मरण (सार्क)
कोरोनाले विश्व समुदायलाई एक अर्काबाट अलग्याएपनि दक्षिण एशियाली क्षेत्रिय सहयोग संगठन (सार्क)लाई यसले जोडने प्रयास गरेको छ । भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, मालद्विभ्स, नेपाल, भुटान र अफगानिस्तानमा समेत यो महामारी देखिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड – नाइन्टीविरुद्ध साझा प्रयास आवस्यक रहेको भन्दै छलफलको प्रस्ताव राखे। दोस्रो पटक मृगौला प्रत्यारोपण गरेर उपचारको क्रममा अस्पतालको शैय्यामा रहेका नेपालका प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री मोदीको प्रस्ताव तत्काल स्वागत गरे। पाकिस्तानले समेत प्रस्तावलाई सकारात्मक भन्यो । विशेष गरी कस्मिर मामिलालाई लिएर भारत र पाकिस्तानबीच तनाव बढेर सार्क नै निष्क्रिय झै भइसकेका बेला भारतीय प्रधानमन्त्री मोदीले सार्कको कुरा उठाउनुले सार्कले पुनर्जीवन पाउने अनुमान गर्न थालिएको छ। प्रधानमन्त्री मोदीले प्रस्ताव गरेको तेस्रो दिन भिडियो कन्फरेन्स मार्फत सार्कका शिर्ष नेताहरुले छलफल गरेका थिए।
छलफलमा भारतीय प्रधानमन्त्री मोदीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन–सार्क सदस्य राष्ट्रबीचको आपसी साझेदारी विश्वमै नमूना बनाउनुपर्ने धारणा व्यक्त गरे । उनले विश्वव्यापी समस्याको रूपमा देखिएको कोरोना भाइरसको व्यवस्थापनका लागि आपतकालीन कोष खडा गर्ने कोरोना भाइरसविरुद्ध लड्न भारतले एक करोड अमेरिकी डलरको योगदान गर्ने पनि बताए । संक्रमणबाट प्रभावित सबै मुलुकमा आवश्यकता अनुसार कोषलाई परिचालन गर्ने उनको भनाई थियो ।
सम्मेलनमा पाकिस्तानले कोरोना भाइरसको विश्वव्यापी ‘प्रकोप’ले दक्षिण एशियालाई पनि नराम्रोसँग प्रभावित पारेकोले यसमा सबैको साझा चासो रहनुपर्ने धारणा राखेको थियो। यद्यपी कोभिड–नाइन्टीन विरुद्धको मञ्चमा उसले काश्मिर मुद्दालाई पनि सार्क राष्ट्रका नेताहरूसमक्ष उठाएको थियो । सार्कका सबै मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिने क्रम जारी रहेपनि प्रकोपका रूपमा नआएको धारणा राख्दै उनले भाइरसको संक्रमणबाट पर्ने सम्भावित खतरालाई सामना गर्न सहकार्यका लागि पाकिस्तान प्रतिवद्ध रहने पाकिस्तानी स्वास्थ्यमन्त्रीले बताए । त्यसैगरी बंगलादेशकी प्रधामन्त्री शेख हसिनाले कोरोना भाइरसविरुद्ध लड्न सार्क मुलुकहरुले बलियो समन्वय र सहकार्यका लागि जोड दिइन । सम्मेलनमा प्रधानमन्त्री शेखले आफ्नो मुलुक सबै सार्क मुलुकसँग सधै सहकार्य गर्न तयार रहेको बताइन् । उनले बंगलादेशमा तीन व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको तर यसका कारण स्वदेशमा कसैको मृत्यु नभएको बताउँदै भाइरस संकैमणलाई नियन्त्रण गर्नका लागि रणनीति निर्माण गरी त्यसको कार्यान्वयमा जोड दिनुपर्ने बताएकी छन्। त्यसैगरी श्रीलड्ढाका राष्ट्रपति गोतावाय राजापाक्षले कोरोना भाइरस संक्रमणको ठूलो समस्या आफ्नो मुलुकमा नदेखिएपनि मुलुकको व्यापार एवं पर्यटन व्यवसाय प्रभावित भएको बताए । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले सार्कमुलुकमा कोरोना भाइरसविरूद्धको लडाईलाई सफल पार्न टेलिमेडिसिन र अन्य साझा संरचना बनाउन जोड दिएका छन् । त्यस्तै माल्दीभ्सकाका राष्ट्रपति इब्राहिम मोहमद सोलिहले एकल प्रयासमा कोरोना भाइरस संक्रमण बिस्तारलाई नियन्त्रण गर्न कठिनाई भएको र यसका लागि सार्क मुलुकहरूले एक भएर काम गर्नुपर्ने बताए । सम्मेलनमा भूटानका प्रधानमन्त्री लोटे छिरिङ र प्रधानमन्त्री केपी ओली पनि साझा समस्या समाधानका लागि सकहकार्य गर्नु पर्नेमा जोड दिए।
नेपालको अवस्था
नेपालमा भने अहिलेसम्म एक जनामा मात्रै कोरोनाको संक्रमण देखिएको छ र संक्रमित व्यक्ति पनि निको भइसेका छननिश्चय नै यो सकारात्मक पक्ष हो । तर, समय रहँदै कोरोना विरुद्ध पर्याप्त तयारी गरिएन भने संक्रमणले ठूलो क्षति नगर्ला भन्न सकिन्न। लक्षण नदेखिएका व्यतिबाट पनि यो भाइरस सजिलै अर्को व्यक्तिमा सर्ने भएकाले यसको संक्रमण दर उच्च रहेको चिकित्सकहरुको भनाई छ । अझ भारतमा कोरोनाको संक्रमण देखि सकेको र दुई देशबीच खुला सीमाना रहेकोले संक्रमणबाट ढुक्क अवस्था भने छैन । नेपालमा संक्रमण फैलिहालेको अवस्थामा विद्यामान पुर्वाधारले भने धान्न सक्ने अवस्था छैन।
त्यती मात्र नभई सम्पुर्ण विश्वले विदेसी नागरिकको आवागमनमा प्रतिबन्ध लगाउदा नेपालमा भने विदेसी पर्यटकहरु खुला रुप मै आइरहेका थिए । जनवरी र फेब्रुअरी महिनामा मात्रै करिब ९० हजार विदेसी पर्यटक नेपाल भित्रिएको तथ्याँकले देखाएको छ । तर स्वास्थ्य मन्त्रालय भने संक्रमण फैलिहालेको अवस्थामा त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा छलफल गर्नु बाहेक ठोस कदम चालेको देखिदैन । कोरोनालाई लिएर चौतर्फी त्रास बढदै गएपछि नेपाल सरकारले केही योजनाहरु अघि बढाएको छ जसमध्ये कतिपय प्रावधानहरु अझै पनि व्यवहारमा लागु हुन सकेको छैन ।
सरकारले विदेशबाट आउने स्वदेशी तथा विदेशी नागरिकलाई सेल्फ क्वारेन्टाइन बस्नुपर्ने प्रावधान बनाएको छ । तर, घरमा आफै क्वारेन्टाईनलाई भने सरकारले राम्रोसँग ब्यवस्थित गरेको देखिएको छैन । संक्रमणको शंङ्का भएको तर, स्वस्थ व्यक्तिले स्वयंलाई अन्य व्यक्तिबाट अलग राखेर संक्रमण फैलिने सम्भावना न्यूनीकरण र रोगको सहज पहिचान गर्न सेल्फ क्वारेन्टाइनले सहयोग गर्दछ । यस्ता व्यक्ति आफ्नै घरभित्र वा निश्चित कोठामा, तोकिएको समयसीमा अर्थात १४ दिन अलग्गै बस्नुपर्छ । कोरोना भाइरस फैलिएका देशमा सेल्फ क्वारेन्टाइन निर्देशन पालन नगर्नेलाई दण्डगर्ने कानून बनाएको छ । तर नेपालमा भने समूहमा भेला भएर गरिने क्रियाकलापलाई निषेध गर्न अनुरोध मात्र गरिएको छ । यस्तो वेला आफैं सचेत हुनु पर्दछ ।
सेल्फ क्वारेन्टाइन वैदेशिक यात्रा गरेर नेपाल फर्किएका व्यक्ति, भाइरसबाट संक्रमितसँग सँग नजिकिएको शड्ढा लागेका व्यक्ति र चीन, इरान, दक्षिण कोरिया, इटाली, युएई, जापान जस्ता अत्यन्तै जोखिमयुक्त देश हुँदै नेपाल आएका व्यक्तिका लागि अनिवार्य गरिएको छ ।
नेपालको तयारी

कोरोना भाइरसबाट हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले दुई सय ३५ वटा आईसीयू बेड तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सङ्घ र प्रदेशमा गरी दुई सय ३५ आईसीयू बेड र एक हजारको सङ्ख्यामा आइसोलेशन बेड तयारी अवस्थामा राख्ने निर्णय गरेको हो । बैठकले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सशस्त्र प्रहरीको अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, नेपाली सेनाको छाउनी र भद्रकाली तथा कीर्तिपुरको आयुर्वेद अस्पतालमा २०–२० वटाका दरले एक सय २० वटा आईसीयू बेड निर्माण गर्ने निर्णय गरेको छ ।
त्यस्तै सरकारले वाग्मती प्रदेश बाहेकका ६ वटा प्रदेशमा एक सय १५ वटा आईसीयू बेड तयारी गर्ने भएको छ । आइसोलेशन वार्ड पनि कीर्तिपुरमा दुई सय जना, खरिपाटीमा २ सय २० जना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको अस्पतालमा एक सय र इचङ्गुनारायणमा दुई सय ५० गरी कुल एक हजार वटा बेडहरु तयार गर्ने निर्णय पनि बैठकले गरेको छ । त्यस्तै सरकारले पीपीई र डाइगोनेस्टिक किटहरु पनि तत्काल खरिद गरी सबै प्रदेशहरुमा पठाउने भएको छ । भारतसँग जोडिएका एक सय २८ पालिका र त्यहाँ आवागमन हुने ठाउँहरुमा ज्वरो नाप्ने थर्मल गन पनि पठाईने भएको छ । त्यस्तै कोरोना भाइरस संक्रमणको स्थितिमा काम गर्ने स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुका लागि टीओआर बनाएर तलब स्केल इन्सेन्टिभका रुपमा दिने व्यवस्था भएको छ । ल्याब टेस्ट, स्वास्थ्य परीक्षणमा खटिने डाक्टर र नर्सलाई सुरुको तलबमानको ७५ प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने र अन्य जनशक्तिलाई ५० र २५ प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने निर्णय भएको छ ।
नमस्ते संस्कृति
कुनै पनि औषधी वा खोप आइनसकेको बेला डब्लुएचओले कोरोनाबाट जोगिन रोकथाम नै सबैभन्दा राम्रो उपाय भएको भन्दै हात नमिलाउन आग्रह गर्यो । यो भाइरस हावाबाट फैलिनुभन्दा पनि संक्रमित व्यक्तिको हातबाट सर्ने संभावना धेरै भएको दाबी गर्दै हात निमलाउन आग्रह गर्यो । तर, आधुनिक समाजमा एक अर्कालाई भेटदा हात मिलाउने, अंगालो मार्ने र कतिपय ठाँउमा म्वाई खानेसम्म प्रचलन रहेको छ । भारतवर्षमा भने हात मिलाउनुभन्दा पनि दुई हात जोडेर नमस्ते वा नमस्कार गर्ने चलन रहेको छ ।
कोरोनाको कहरले युरोप र अमेरिकालाई समेत चपेटामा लिइसकेको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयरल्याण्डका प्रधानमन्त्री लियो वराडकरसँको भेटमा दुई हात जोडेर नमस्ते गरे। त्यती मात्र नभई उनले आफु भारत जाँदा सिकेको समेत बताए । त्यती मात्रै होइन, इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहु, बेलायती युवराज चाल्र्स लगायतले पनि नमस्कार गर्न थालेका छन ।
नमस्कार र नमस्तेको यो प्रचलनले कथित आधुनिक समाजलाई झापड हानेको छ भने विर्सदै गएका पूर्विय दर्शन, ज्ञान र व्यवहारलाई कोरोनाले पुनर्जीवन दिएको छ । त्यती मात्रैनभएको पूर्विय दर्शनको वैज्ञानिकता माथि आज देश विदेशमा बहस शुरु भएको छ।
अन्त्यतमा मानव सभ्यतामाथि आएको यो संकटका बेला आरोप–प्रत्यारोप भन्दा पनि हातेमालो गर्न आवस्यक रहेको छ । दक्षिण एसियाली राष्ट्रहरुले हातेमालो गरे झैं विश्व समुदायले पनि आपसी सद्भाव र सोचका साथ एक भएर अघि बढने हो भने यो संकटबाट हामी अवश्य बाहिरिनेछौं।