वर्षः ०२  | अङ्कः १५  | माघ २०७६

भिडियो कन्फरेन्स मार्फत संयुक्त रुपमा दुई देशका प्रधानमन्त्रीले एकैपटक स्वीच थिचेर विराटनगरस्थित एकीकृत जाँच चौकी (आईसीपी) को उद्घाटन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ स्थित सिंहदरवार र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित हैदरावाद हाउसबाट स्विच थिचेर परियोजना उद्घाटन गरेका हुन् ।

भारतीय सहयोगमा निर्मित आईसीपीमा भन्सार अध्यागमत, भण्डारण, बैठक, पार्किङ लगायत सुविधा छन् । करिब २ अर्ब रुपैयाँको लागतमा निर्मित तथा १ सय ७० बिगाहा क्षेत्रफलमा फैलिएको आईसीपिमा कोल्ड स्टोर, इन्टरनेट सहितको सुविधा रहेको छ । करिब ३ वर्षको अवधिमा सम्पन्न यस परियोजनाको जिम्मा भारतीय कम्पनी दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकन प्रा.लि. अहमदावादले लिएको थियो ।

आईसीपी संचालनमा आएपछि विराटनगर भन्सारबाट भारत लगायत तेस्रो मुलुकमा मालसामान र वस्तुको आयात–निर्यात सहज हुने भएको छ । सन् २००२मा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा दुई मुलुकबीचको व्यापारलाई सहज बनाउन प्रमुख नाकाहरुमा आईसीपी बनाउने समझदारी पहिलो पटक भएको थियो । सोही अनुरुप नै वीरगंज स्थित आइसीपी यस अघि नै संचालनमा आइसकेको छ भने भैरहवा र नेपालगञ्जमा कार्य अघि बढेको छ।