वर्षः ०२ | अङ्कः १५ | माघ २०७६
नेपालको पहिलो शहीद महिला पत्रकार उमा सिँहको नाममा जनकपुरधाम उपमहानगरपालिका प्रमुख लालकिशोर साहले ५ लाख रकमको अक्षय कोषको स्थापना गर्ने घोषणा गरेको छ । भिजिट नेपाल २०२० को अवसरमा जनकपुरधाममा भिजिट मधेशद्वारा आयोजित तराई मधेश पर्यटन प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै प्रमुख शाहले शहीद पत्रकार उमा सिँहको नाममा ५ लाख रकमको अक्षय कोष स्थापना गर्ने घोषणा गरेका हुन् । पत्रकारिता क्षेत्रमा न्याय र समानताका लागि स्वतन्त्र तथा निष्पक्ष रुपमा कलम चलाउनेलाई वर्षेनी सम्मान गर्ने लक्ष्यका साथ अक्षय कोषको स्थापना गर्ने बताए ।
‘कर्मवीर योद्धा’ उमा सिँह साहसिक, प्रखर एवं सरल व्यक्तित्वका धनी थिइन् । राष्ट्रिय पत्रकार शहीद घोषित उमा सिँहको नाममा अनेकौँ सञ्चारमाध्यमले विभिन्न किसिमका पुरस्कार घोषणा गरेपनि उनको वास्तविकता मर्म र कर्मलाई अझसम्म पनि आमजनमानस समक्ष सावित गर्न सकेका छैनन् । आम पिडितको न्यायको लागि लड्ने सहि र सटिक समाचार आम स्रोतामाझ पुर्याउने भावनाले ओतप्रोत उमाको अभियान प्रमाणित गर्नुपर्ने छ ।
जनकपुर टुडेमा कार्यरत उमा स्वतन्त्र र निष्पक्ष पत्रकारिता गर्दै थिइन् र अन्तिम प्रहरसम्म निरन्तरता दिँदै यस धर्तिलाई सदा सदाका लागि त्यागे । २०६५ पौष २७ गते साँझ समाचार वाचन गरेर सदा झै डेरा फर्कने वित्तिकै अपराधी समुहले धारिलो हतियार प्रहार गरी निर्मम, वर्वर र क्रुरतापूर्वक उमाको हत्या गरेको थियो । सिरहहा महेशपुर पिपराकी उमाको जन्म २०४१ सालमा भएको थियो । समाचार वाचन र लेखनकै लागि पूर्वाग्रही राख्ने समूह तथा धनको र डरको लोभमा आफनै भाउजु ललिता सिँहले अपराधिक समुहबाट हत्या गराएको थियो । हाल हत्यामा संलग्न व्यक्तिहरु सजायमुक्त भैसकेका छन् । उमा सिँहको वुवा र दाजुलाई तत्कालिन माओवादीले अपहरण गरी वेपत्ता बनाएको थियो । जुन अझसम्म अज्ञात नै छ ।
राज्य द्वन्द्वबाट रुपान्तरित भएपनि अझैसम्म उमाँसँगै उनका परिवारले न्याय पाउन सकेका छैनन्। आज तिनै माओवादी सत्ता र सरकारमा छन् तर न्यायका लागि कुनै आवाज उठाउन सकेका छैनन्। उल्टै भय, त्रास र डरको भुँमरीमा समाजलाई आक्रान्त पारेको छ । नतिजा उमा सिँहकी आमा सुशिला सिँह असुरक्षाका कारण विगत ११ वर्षदेखि आफन्तकोमा भारत निर्वासित जीवन विताउन वाध्य छिन् ।