ऋतिक यादव,
वर्षः ०२ | अङ्कः १५ | माघ २०७६
भाजपाको विद्यार्थी संगठन अखिल भारित विद्यार्थी परिषद्बाट राजनीति जीवन शुरु गरेका ५९ वर्षिय वरिष्ठ नेता जगतप्रकाश नड्डा भारतीय जनता पार्टीको ११औँ अध्यक्ष चुनिएका छन् । भाजपाको राष्ट्रिय अध्यक्ष पदकालागि भएको चुनावमा एक्लो उम्मेदवार बनेका नड्डा निर्विरोध निर्वाचित भएका हुन् ।
सन् २०१९ को लोकसभा निर्वाचनपछि गठित नरेन्द्र मोदी नेतृत्वको सरकारमा तत्कालिन अध्यक्ष अमित शाह गृहमन्त्री बनेयता नड्डा सात महिनादेखि कार्यवाहक अध्यक्षको भूमिकामा रहँदै आएका हुन् । नड्डालाई प्रधानमन्त्री मोदी र निवर्तमान अध्यक्ष अमित शाहका विश्वासपात्रको रुपमा लिइन्छ ।
पार्टीभित्र कुशल संगठनकर्ताका रुपमा चिनिने उनी १९९३मा पहिलोपटक हिमालञ्चल विद्यानसभामा निर्वाचित भएका थिए । प्रान्तिय सरकारमा मन्त्रीसमेत रहेका नड्डा सन् १९९८ र २००७को चुनावमा पनि निर्वाचित भएका थिए । सन् २०१२ मा राज्यसभा सदस्य बनेका उनी मोदीको पहिलो कार्यकाल (२०१४–२०१९)सम्म स्वास्थ्यमन्त्री समेत बनेका थिए ।
नेपाल भारत सम्बन्धका जानकारी मानिने जेपी नड्डाको जन्म सन् १९६० डिसेम्बर ०२मा पटनामा भएको थियो । सेन्ट जेभियर स्कूल पटनाबाट विद्यालय अध्ययन पुरा गरेका उनले पटना विश्वविद्यालयबाट स्नातक तथा हिमाञ्चल विश्वविद्यालयबाट कानूनको उपाधि प्राप्त गरेका छन् ।
नड्डका पिता नारायणलाल पटना विश्वविद्यालयको प्राध्यापक र पछि सिनेट सदस्य भएका थिए । उक्त समयमा नेपालका कलेज परिक्षा पटना विश्वविद्यालयद्वारा संचालन गरिन्थ्यो । त्यही क्रममा उनी पितासँग काठमाडौँ आवतजावत गर्ने गर्थे । कालान्तरमा पनि जेपी नड्डा काठमाडौँ आएको भाजपाको दाबी छ । यसै सम्बन्धको आधारमा भविष्यमा पनि नेपाल–भारत सम्बन्ध नड्डाको अध्यक्षतामा राम्रो हुने दावी गरिएको छ ।