सुजितकुमार झा,

वर्षः ०२ | अङ्कः १४ | मंसिर-पौष २०७६

रैतहट बम विस्फोट काण्डमा मुख्य अभियुक्त मोहम्मद आफताब आलम हाल पुर्पक्षका लागि नख्खु कारागार चलान भएका छन् । नेपाली कांग्रेसका सांसद् र पूर्व मन्त्रीसमेत रहेका आलमलाई एकसाता पूर्व नख्खु कारागार चलान गरिएको थियो । उनलाई नख्खु कारागारको सीआरसी ब्लक–२ को दोस्रो तलामा राखिएको नख्खु कारागारका प्रमुख जेलर सुरेन्द्र पौडेलले बताए । आलमलाई जिल्ला अदालत रौतहटले शुक्रबार पुर्पक्षका लागि जेल चलान गर्ने आदेश गरेको थियो ।

रौतहट कारागारमा सुरक्षा चुनौतीका कारण उनलाई नख्खु कारागार स्थानान्तरण गरेको पौडेलको भनाइ छ । नख्खु कारागारभित्र भने उनको स्वभाव अरु कैदीको जस्तै रहेको पौडेलले बताए । ‘यो जेल हो, म तपाईंहरूको नियन्त्रणमा छु, सबै बुझेको छु, यसअघि समेत तीन पटक जेल बसेको अनुभव छ, सामान्य तरिकाले बस्छु, आलमको भनाइ उद्धृत गर्दै जेलर पौडेलले भने ।

आलमलाई भेट्न शुरुमा धेरै आए पनि अहिले उनलाई भेट्न आउनेको संख्या घटेको पौडेलले बताए । २०६४ को पहिलो संविधानसभा चुनावमा भएको बम विस्फोटमा परेकाहरूलाई आलमले जिउँदै इँटाभट्टामा हालेर जलाएर मारेको अभियोग छ । नख्खु कारागारमा हाल १ हजार ५ सय कैदी छन् ।

त्यसमध्ये आलमजस्तै अर्का बमकाण्डका अभियुक्त सञ्जयकुमार साह ‘टकलासमेत नख्खु कारागारमै राखिएको छ । टकलामाथि १८ वैशाख २०६९ मा ‘मिथिला राज्यको माग गर्दै मिथिला राज्य संघर्ष समितिले जनकपुरको रामानन्दचोकमा धर्ना बसेको बेला बम विस्फोट गराएको अभियोग थियो ।

उक्त बम विस्फोटमा पाँच जनाको ज्यान गएको थियो । सोही घटनामा दोषी ठहर गर्दै गत २४ चैतमा टकलालाई धनुषा जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो । उनी पहिलो संविधानसभा र दोस्रो संविधानसभा चुनावमा धनुषाबाट निवार्चित भएका थिए । पहिलो संविधानसभा चुनावमा फोरम नेपालबाट जितेका टकला दोस्रो संविधानसभा चुनावमा तत्कालीन राजेन्द्घ महतोको सद्भावना पार्टीबाट विजयी भएका थिए । हाल उनलाई नख्खु कारागारमै राखिएको छ ।

त्यस्तै, गत ११ फागुनमा नख्खुस्थित एनसेल कार्यालयको अगाडि भएको बम विस्फोटनमा दोषी रहेको भन्दै जिल्ला अदातल ललितपुरले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपत्यका ब्यूरो इञ्चार्ज नवीन विश्वकर्मालाई समेत जेल चलान गरेको थियो । पूर्व राज्यमन्त्री विश्वकर्मा पनि नख्खु कारागारमै छन् । उनलाई प्रहरीले ७ असोजमा काठमाडौंबाट पक्राउ गरेको थियो ।

यसरी तीन बमकाण्डका अभियुक्त एउटै कारागारमा राख्दा अन्य कैदीलाई भने मानसिक त्रासको खतरा हुने कतिपय सुरक्षाविद्को बुझाइ छ । तर, बाहिर जे अपराध गरेर आए पनि कारागारभित्र सबै कैदी समान हुनेहुँदा सुरक्षाको हिसाबले कुनै समस्या नआउने कारागार प्रमुख पौडेलको भनाइ छ । कारागारभित्र तीन पूर्वमन्त्रीको कुनै भेटघाट र सम्पर्कसमेत नहुने उनले बताए ।

यसरी तीन बमकाण्डका अभियुक्तलाई नख्खुकारागारमा राखिएको छ भने पूर्वसभामुखसहित दुई जना सांसद डिल्लीबजार कारागारमा राखिएको छ । उनीहरूलाई अरु कैदी बन्दीले पाउने दैनिक ६० रुपैयाँ भत्ता र ७ सय ग्राम चामल कारागार प्रशासनले उपलब्ध गराउँदै आएको छ ।