वर्षः ०२ | अङ्कः १४ | मंसिर/पौष २०७६
नेपाल प्रज्ञा प्रतिष्ठानले यो वर्षको पृथ्वी प्रज्ञा पुरस्कार वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गर्यो । हरेक चार वर्षमा प्रदान गदैर् आएको यो पुरस्कार चार लाख राशीको हुन्छ । राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले जोशीलाई सम्मानीत गरेकी थिइन् । नेपाली कला, संस्कृति, पुरातत्व र साहित्यमा विगत सात दशकदेखि अन्वरत योगदान पुर्याएवापत स्रष्टा जोशी पुरस्कृत भएका हुन् ।
पुरस्कार ग्रहण पश्चात जोशीले भने “साहित्य, कला र संस्कृति देशको अभिन्न हिस्सा हुन् । भौतिक संरचनासँगै देशका लागि कला साहित्यको उत्तिकै खाँचो हुन्छ ।” समारोहमा प्रत्येक दुई वर्षमा प्रदान गरीने प्रज्ञा सामाजिकशास्त्र पुरस्कार प्रा.डा. त्रिरत्न मानन्धर तथा नेपाल प्रज्ञा भाषा पुरस्कार टंकप्रसाद न्यौपानेलाई प्रदान गरियो । यो दुवै पुरस्कारको राशी एक लाख रुपैयाँको रहेको छ ।
हरेक वर्ष प्रदान गरिने प्रज्ञा नेपाली साहित्य पुरस्कार २०७५बाट मदन रेग्मी र २०७६ बाट भागीरथी श्रेष्ठ पुरस्कृत भए । पहाडी र हिमाली क्षेत्रमा बोलिने मातृभाषा साहित्यका लागि अमर तुम्याहाङ (२०७५) र अमृत योञ्जन (२०७६)ले नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार प्राप्त गरे । त्यसैगरी तराई मधेशमा बोलिने मातृभाषा साहित्य पुरस्कार अयोध्यानाथ चौधरी (२०७५) र अशोक थारु (२०७६)लाई प्रदान गरियो ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले राष्ट्रिय कविता महोत्सव २०७६का विजयी धादिङका हेम प्रभासलाई (३५ हजार), दोस्रो हुने डोटीका सुभाषचन्द्र भण्डारी (२५ हजार), तेस्रो हुने लमजुङका प्रज्वल अधिकारी, सोलुखुम्बुकी शान्ति शर्मा र काठमाण्डौंका प्रकाश बस्नेतलाई जनही २० हजार रुपैयाँ सहित सम्मानपत्र प्रदान गरेकी थिईन् । कार्यक्रममा संस्कृति तथा पर्यटन मन्त्री, कुलपति गंगाप्रसाद उप्रेतिलगायत प्राज्ञहरुको उपस्थिति रहेको थियो ।