वर्षः ०२ | अङ्कः १४ | मंसिर/पौष २०७६

२०७२ सालको विनाशकारी महाभूकम्पबाट क्षति भएकामध्ये ११ सांस्कृतिक सम्पदाको पुनर्निर्माण भारतले गर्ने भएको छ । भूकम्प गएको चारवर्षपछि इन्डियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेज (इन्टेक)ले पुनर्निर्माणको लागि काठमाडौँस्थित भारतीय राजदुतावास नियोग उपप्रमुख डा. अजय कुमार र इन्टेकका सदस्यसचिव डा. सिटी मिश्राले सरकारका उच्च पदस्थ अधिकारी सामु हस्ताक्षर गरेका हुन् । डा. अजय भूकम्पपछि पुनर्निर्माणको लागि विज्ञको रुपमा नेपाल आएका थिए तत्पश्चात उनी सार्कको निर्देशक र पछि नियोग उपप्रमुखको जिम्मेवारीमा बस्दै काम गर्दै आएका छन् । नुवाकोट र गोर्खामा ५० हजार घर डा. अजयकै संयोजनमा निर्माण भइसकेको छ ।

भारतभर १ सय ९० भन्दा बढी शाखा रहेको इन्टेक विश्वकै सबैभन्दा ठूलो सांस्कृतिक संगठनमध्ये एक हो । दूतावासका अनुसार काठमाडौँ, ललितपुर, भक्तपुर र सोलुखुम्बु गरी चार जिल्लाका ११ पुराना एवं गर्विलो सांस्कृतिक धरोहरको पुनर्निर्माणको जिम्मेवारी भारतले लिएको छ । पाटनको गोल्डेन मन्दिर, सेतो मछिन्द्रनाथ लगायतका धरोहरहरुको पूर्वाधार निर्माणमा भारतले सहकार्य गर्ने भएको हो ।