वीरेश राई,
वर्षः ०२ | अङ्कः ११ | श्रावण २०७६
प्रदेश नम्बर एकको पहाडी जिल्ला सङ्खुवासभाको खाँदबारी नपा ३, मानेभञ्ज्याङ् स्थित महेन्द्र माबिमा ‘संगीत कला केन्द्र’ उद्घाटन गरिएको छ । महेन्द्र मा.वि. ले सङ्खुवासभामा आफ्नो पृथक पहिचान स्थापित गरेको छ । जिल्लाका अन्य विद्यालयमाभन्दा यहाँ थप अरु विषयमा पनि अध्यापन गराइन्छ । १०+२ मा शिक्षा, मानविकी र व्यवस्थापनका अतिरिक्त कृषि JT/JTA १८ महिने र तीन वर्षे कृषि डिप्लोमा साथै सुस्त श्रवण एवम् वहिरा श्रोत कक्षा पनि संचालित छ । संगीत कला केन्द्र यसको निरन्तरता हो ।
‘मानिसको सोचाईले उसको भाग्यको निर्धारण गर्दछ’ यो भनाई हेनरी डेभिड थोरोको हो । महेन्द्र माबिको भाग्य चम्कदै जानुको रहस्य यही नै हो कि यहाँका नागरिक समाज, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुको अग्रगामी सोच । भर्खरै सम्पन्न संगीत कला केन्द्र उद्घाटन समारोहमा जिल्लाका राजनीतिकर्मी, समाजसेवी, शिक्षाविद् एवम् सर्वसाधारणको उत्साहजनक उपस्थिति रहेको थियो ।
समाजसेवा नेत्रप्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा प्रमुख अतिथिको भूमिका निर्वाह गर्न जितबहादुर घिमिरे उपस्थित हुनुभएको थियो । अतिथिका रुपमा हिमालय माबि खाँदबारीका प्रअ वीरबहादुर राई, कालिका माविका प्रअ रामप्रसाद लम्साल, समाजसेवी सुमन श्रेष्ठ, अधिवक्ता भविश्वर गुरुङ, राजनीतिकर्मी खड्ग राई र यसै विद्यालयका पूर्व प्रअहरु शेरबहादुर पुरी, गणेश निरौला र हेमराज खड्का उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा हेमराज खड्का, यसप्रसाद राई, माया गुरुङ, केशु कार्की, नरेन्द्र भट्टराई, रमिला गजमेर र सरण थापाले अग्रज गायक गायिकाका गीत गाउनुभएको थियो । उहाँहरुलाई यसप्रसाद राई, मेदिनी घिमिरे, हेमराज खड्का, विनोद चापागाईँ र वीरेश राईले बाध्यवादनमा सहयोग पु¥याउनुभएको थियो ।