सुजितकुमार झा,
वर्षः ०२ | अङ्कः ११ | श्रावण २०७६
प्रकृतिक प्रकोपमाथि कसैको नियन्त्रण हुँदैन तर सक्षम र जोखिम समाजले आधुनिक प्रविधि र सहासको नमुना दिँदै यस्ताखाले आपतविपत हुने दुर्घटना र क्षतिलाई न्यूनीकरण भने अवश्य गर्न सक्छ । तर देशलाई समृद्धितर्फ़ बढाउने सपना वोक्ने सरकासंग यस्ता विपत्तिलाई न्यूनीकरण न त कुनै उपाय देखियो न त प्रयास नै । फलस्वरुप वर्षेनी वाढीको वहावले तराई–मधेश डुवानमा पर्ने गरेको छ भने पहाड पहिरोको चपेटामा ।

निरन्रत असरो वर्षातले जलमग्न तराईको जनजीवन दयनीय र कष्टकर वनेको छ तथा पहिरोको कारण पहाडमा वाटोघाटो अवरुद्ध भई घरपरिवार नै नासिएको छ । यस बाढी पहिरोमा परेर झन्डै १ सय जनाले ज्यान गुमाइ सकेको, कयौ बेपत्ता रहेको र हजारौ बेघर भएको छ । जनताकै सरकार तर जनताप्रति नै उदासिन भई काम गर्ने रवैयाले समाज र देशको भविष्य कता जाने हो यकिन गर्न गाह्रो छ । राज्यको संयन्त्र सक्षम नहुनु, सम्बन्धित निकाय बीचको समन्वय नहुनु, चुरेको दोहन हुनु, खोला नियन्त्रणको नाममा कटान गरी साँघुरो पार्दै जानु समस्याको जड हो । सीमापारी ठाउँठाउँमा वाँघको निर्माण हुनु, कोशी ब्यारेजको मर्मत सम्भार तथा ५६ ढोका माथि राज्यको पूर्ण नियन्त्रण नहुनु आदि समस्याले जनता र देशमा निरन्तर दुःख, पिडा, विनाश र क्षतिको भेल उर्लदै आएको देखिन्छ ।

सर्लाहीको धनकौल गाउँपालिका–३ टावटोलमा पानी पसेपछि स्थानीयवासी नदी किनारको बाँधमा केही दिनदेखि बस्दै आएका छन् । पूर्वमा मनुष्मारा र पश्चिममा बागमती नदी बीचको बाँधमा ७६ परिवार जोखिम मोलेर बसिरहेका छन् । असार २७ गते मनुष्मारा खोलाको पानी गाउँमा पसेपछि उनीहरु गाउँबाट विस्थापित भए । दुबै खोलामा बाढी आएपछि ज्यान जोगाउन उनीहरु बाँधमा आश्रय लिन पुगेका हुन् ।

खोला अहिले सामान्य अवस्थामा रहे पनि कुन बेला बाढी आउँछ र बगाएर लान्छ भन्ने त्रासले बाँधबाट घरमा फर्कन कसैले आँट गरेका छैनन् । विपन्न परिवार रहेको बस्तीका अधिकांश घर बाढीका कारण हालसम्म हिलाम्य छन् । रातिको बेला मनुष्मारा खोलाको बाढी गाउँमा पसेपछि बाँधमा भागेर ज्यान जोगाएको स्थानीय जदु महतोले बताए ।
बाँध अग्लो भएका कारण ज्यान जोगियो । बाँध नभएको भए बागमतीको बाढी पनि बस्तीमा पस्थ्यो । दुबै खोलाको पानी बस्तीमा पसेको भए कोही पनि बाँच्दैन्थ्यो उनले भने, ‘गाउँको पश्चिममा बाँध भएकोले बागमतीको पानी गाउँ पसेन । गाउँ अहिले दुबै नदीको चेपुवामा छ । आकाशबाट पानी पर्न सुरु हुनेबित्तिकै गाउँलेहरु चिन्तित हुन्छन् ।

सिरहाको कर्जन्हा नगरपालिका ३ सुन्दरपुर टोलकी २३ वर्षीया मन्जु सदाय ६ महिने गर्भवती छिन् । उनको घर कमला नदीको बाढीले डुबाएपछि उनको बिजोग भएको छ । अघिल्लो दिनसम्म थोरै पानी हुँदा उनी घरमै बसेकी थिइन् । तर, असार २८ गते आएको ठूलो बाढीले उनको घर पुरै डुबाएको छ । अहिले उनी सडक छेउमा बाँसको पाटामा प्लास्टिकको त्रिपाल झुन्डाएर बस्न बाध्य भएकी छिन् ।

प्लास्टिक त्रिपालमा उनको जिउँ ढाक्न पनि समस्या छ । पानीसँगै हावा बहदा चारैतिरबाट पानी छिर्ने गरेको छ । त्यहीभित्र केही खानेकुरा पनि छैन् र परिवारका अन्य सदस्य बसेका छन् । गाईवस्तु पनि राखेका छन् । अचानक बाढी आएकाले घरमा भएको अन्न जोगाउन नसक्दा उनलाई खानेकुराको पनि समस्या छ ।
सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बाढीबाट प्रभावित ठाउँहरुबाट २१ सय ९२ जनालाई सुरक्षित एरियामा उद्धार गरी ल्याइएको छ । उद्धार गरिएकोलाई विद्यालय, अग्लो घरमा राखिएको उनले बताए । उनीहरुलाई विपद् व्यवस्थापन समितिबाट राहत स्वरुप खाद्यन्न सामग्री उपलब्ध गराइएको जानकारी दिनुभयो ।

यसपालीको वाढीले तराई–मधेसका अधिकांश जिल्लालाई प्रभावित पारेको छ । राजपाका महासचिव राजीव झाले यसलाई देशकै ठूलो विपदाको संज्ञा दिँदै यसबाट जनतालाई यथास्थितिमा ल्याउन वर्षौ लाग्ने बताए ।
निरन्तरको वर्षापछि विभिन्न नदी खोलाको बाढीका कारण सप्तरी र सिरहामा ९२ करोड ५३ लाख रुपैयाँ बराबरको पशुपक्षी र त्यससँग सम्बन्धित क्षति भएको छ । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र सिरहाका कार्यालय प्रमुख फुलगेन यादवले सप्तरी र सिरहा जिल्लामा गरी बाढीका ५ करोड २५ लाख रुपैयाँ बराबरका १ लाख ५० हजार कुखुरा बगेका छन् ।
यस्तै दुवै जिल्लामा गरी १ करोड ५ लाख रुपैयाँ बराबरको १५ हजार हाँस, १ करोड ३५ लाख रुपैयाँ बराबरको २ सय २५ वटा गाई तथा ८८ लाख रुपैयाँ बराबरको १ सय १० वटा भैंसी समेत बाढीमा बगेको प्रारम्भिक जानकारी प्राप्त भएको विज्ञ केन्द्र प्रमुख यादवले जानकारी दिए । ६ करोड रुपैयाँ बराबरको १२ हजारवटा बाख्रा र खसी बाढीमा बग्नुका साथै ५० लाख रुपैयाँ बराबरको पराल र भुस कुहिएर नष्ट भएको यादवले जानकारी दिए ।
यसै गरी माछा पालनका लागि निर्माण गरिएका पोखरी जलासय क्षेत्रमा सबभन्दा बढी क्षति भएको छ । विज्ञ केन्द्र प्रमुख यादवका अनुसार जलासय क्षेत्रमा भएको क्षति १४ करोड रुपैयाँ बराबरको रहेको प्रारम्भिक तथ्यांक छ । ३ करोड रुपैयाँ बराबरको माछाका भुरा बग्नुका साथै ६० करोड रुपैयाँ बराबरको तयारी माछा समेत बाढीले बगाएको यादवले जानकारी दिए ।

महोत्तरी, रौतहट, वारा र पर्सा जिल्लाको पनि हालवेहाल
हेलिकोप्टरबाट हेर्दा चुरे क्षेत्रका खोला सुक्खा छन् । मधेसमा बाढीको उफान छ । बाढीप्रभावित प्रदेश २ का जिल्लाको हवाई अवलोकनपछि जनकपुधाममा उपप्रधानमन्त्री उपेन्द्र यादवले प्राविधिक टोलीसमक्ष सो विषयमा जिज्ञासा राखे । जलवायु परिवर्तनको प्रभावले छोटो समयमा अत्यधिक वर्षा हुनु र वर्षाको पानी छोटो समयमै बगेर चुरेबाट नदी हुँदै मधेस झर्नुु यसको कारण हो भन्दै कमला नदी नियन्त्रण आयोजना जनकपुरका प्रमुख मनोहरकुमार साहले प्रस्ट्याए। उनले भने, ‘चुरेतर्फ सुक्खा तथा मधेसमा डुबानको मूल कारण चुरेको अनियन्त्रित दोहन हो ।