सुजितकुमार झा ,

वर्षः ०२  | अङ्कः १०  | असार २०७६

महोत्तरीको मनरा सिस्वा नगरपालिकामा सडक, स्वास्थ्य र शिक्षामा विशेष जोड दिनुका साथै मैथिली संस्कृति र संस्कारलाई अगाडि बढाइएको छ । मुलुकको प्रमुख निकायमा समेत पहिचान बनाउन सफल मनरा शिक्षा र रोजगारीमा समेत अगाडि रहेको छ । हुलाकी राजमार्ग मनरा बजार हुँदै गएकोले यहाँ विकासको सम्भावना अपार रहेको छ । विसं २००२ सालमा स्थापित यहाँको विद्यालय नेपालकै पुरानो विद्यालयमध्ये एक हो ।

मनराका ५० वर्षीय मेयर मानविकी शास्त्रमा स्नातकोत्तर गरेका छन् । विगत २५ वर्षको लामो राजनीतिक अनुभव संगालेका मेयर सिंह विकासको योजना र कार्यन्वयनप्रति ढुक्क छन् । मनरा सिस्वा नगरपालिकामा यसका अतिरिक्त कुन कुन कार्यहरुलाई प्राथमिकतामा राखेर योजनाहरु अगाडि बढाइएको छ यस विषयमा सो नगरपालिकाका प्रमुख संजयकुमार सिंहसंग मुलुक टाइम्सका लागि सुजितकुमार झाले गरेको संक्षिप्त कुराकानी ।

नगरको विकास कुन रुपमा अगाडि बढ्दै छ ?

शिक्षा, स्वास्थ्य र सडकमा हामी बढी चासो देखाई रहेका छौँ । हुनत नगरपालिकाको समग्र विकासलाई प्राथमिकतामा राखेर कार्य अगाडि बढाइएको छ । विद्यालयहरुमा सौचालय निर्माण, वडाहरुमा स्वास्थ्य चौकी निर्माण लगायतका कार्यहरु अगाडि बढाइएको छ । केही महत्वपूर्ण सडकहरुमा पनि कार्य अगाडि बढाइएको छ ।

सडकमा कुन स्तरको कार्ययोजना अगाडि सरेको छ ?

जबसम्म सडकको विकास हुँदैन नगरपालिकाको विकास हुँदैन । एक वडाबाट अर्को वडामा कसरी सहजै जान सकिन्छ त्यस दिशामा कार्यहरु अगाडि बढाइएको छ । केही नयाँ सडक निर्माण गरिएको छ भने केहीमा माटो, ग्राभेल लगायतका कार्यहरु तिव्रताका साथ बढिरहेको छ । अण्डरग्राउण्ड ढल निर्माणका लागि पनि केही गाउँमा कार्य अगाडि बढाइएको छ ।

ग्रामीण क्षेत्रमा अण्डर ग्राउण्ड ढलको कति प्रभावकारिता देख्नुहुन्छ ?

अब आधुनिकतातर्फ जानैपर्छ । अण्डर ग्राउण्ड ढलले सडक तथा गाउँ सुन्दर देखिन्छ । हामीले बथनाहामा यसै प्रकारको कार्य अगाडि बढाएका छौँ । त्यहाँ गाउँको मुहार नै फेरिएको जस्तो देख्न सकिन्छ । हामीले आफ्नो नगरपालिकाका बजेटका अतिरिक्त प्रदेशको बजेट र संघीय सरकारको बजेटलाई स्मार्ट शहर बनाउनमै बढी खर्चि रहेका छौँ ।

प्रदेश र संघले पनि नगरपालिकालाई सहयोग गरिरहेको छ ?

हो, कट्टी बाट ईटहर्वा प्रदेश सरकारकै सहयोगमा तीन किलोमिटर सडक बनाएका छौँ । स्वास्थ्य चौकी बनाउन संघीय सरकारले सहयोग गरिरहेको छ । हाम्रो नगरपालिका भौगोलिक दृष्टिले लामो नगरपालिका रहेकाले विकास गर्न समस्या भईरहेको छ । तर यो कार्यकालमै हामीले विकासको एउटा खाका बनाएर धेरै अगाडि बढ्नेछौं ।

जाउख–साँढादेखि मनरा–कटैयासम्म सडक ढिलो बनिरहेकोमा तपाईले कयौं पटक बिरोध जनाई सक्नुभएको छ, अहिले त्यस सडकको अवस्था कस्तो रहेको छ ?

त्यो सडक हाम्रो अथक प्रयासका बाबजुद पनि गति लिन सकेको छैन । सडक डिभिजन कार्यालय जनकपुरधामद्वारा निर्माण भईरहेको छ । ठेक्केदार संजय साह कामै गरिरहेका छैनन् । यसको लागि जिल्ला प्रशासन कार्यालय महोत्तरी र सडक डिभिजन कार्यालयमा डेलगेशन पनि गएका छौँ तर ठेक्केदारले मनोमानी ढंगले ढिलो गरिरहेका छन् ।

सडक निर्माणहरुमा तपाई के समस्या देखि रह्नुभएको छ ?

सडक बन्दा जसको जग्गा त्यसमा पर्छ उसले बिरोध गर्न शुरु गर्दछन् । सबैले सडक विकास हुनुपर्छ जस्ता कुरा गर्छन् तर आफ्नो जग्गा पर्दा बिरोध गर्न थाल्छन् । तर विकासको मामिलामा म कसैसंग सम्झौता गर्दिन । बरु अधिकांश शक्ति जनताहरुलाई सम्झाउनमा र यथार्थवादी हुनमा लागि रहन्छु ।

अरु विकास र सुधारका के के काम भईरहेको छ ?

१८ वर्ष स्थानीय तहमा जनप्रतिनिधि नभएका कारणले पूरै अस्तव्यस्त भएको थियो । त्यो अस्तव्यस्तताबाट निकाल्नमै एक वर्ष लाग्यो । सेवाग्राहीहरुलाई वडामै सबै काम होस त्यसमा हामी लगेका छौँ । जितेको १८ महिनामै विकासको अनुभूति दिलाउन शुरु गरिसकेका छौँ । पहिला नगरपालिकामा रहेका विद्यालयहरुमा जुन बेला पनि शिक्षक आउँदा हुन्थ्यो अहिले समयको एकदमै खयाल गरिरहेका छन् । केही दिन भित्रै ई हाजिरीको व्यवस्था सबै ठाउँमा शुरु गर्नेछौँ ।

एउटा नगरपालिकादेखि अर्को नगरपालिका जोड्ने सडकको योजना तपाईहरुले ल्याउनुभएको छ कि छैन ?

हो, ल्याएका छौँ । एउटा नगरपालिकादेखि अर्को नगरपालिका मात्रै नभई जिल्लाको सदरमुकाम जलेश्वर र प्रदेशको राजधानीसम्म कसरी विभिन्न गाउँबाट सडक जुडोस् त्यस दिशामा हामी काम गरिरहेका छौँ । एकडारा गाउँपालिकाको हलखोरीदेखि सकरीसम्म एउटा सडक बनाएका छौँ । अरु सडकहरु पनि छलफलको क्रममै रहेको छ । प्रदेश २ को सरकार र संघीय सरकारसंग पनि यस्ता सडक निर्माणका लागि हामी पहल गरिरहेका छौँ ।

अधिकांश नगरपालिकामा प्रमुख र उपप्रमुखबीच विवाद देखिएको छ, वडाध्यक्षहरु प्रमुखसंग असन्तुष्ट हुन्छन्, तपाईको नगरपालिकाको अवस्था कस्तो छ ?

हाम्रो नगरपालिकामा त्यस्तो केही छैन । विकासको सवालमा यहाँ सबै एक भएर लाग्नुपर्ने हाम्रो सोच रहेको छ । हामी मिलेर जानेमा विश्वास गर्छौँ । एक अर्काको अस्तित्वलाई स्वीकार गर्छौँ त्यस कारण हाम्रो नगरपालिकामा विवाद छैन । विपक्षी दल पनि सहयोगी रुपमा देखिएका छन् ।

विकास कार्यलाई अगाडि बढाउनुभयो तर राजपाले ल्याएको अधिकारको कुरा ओझेलमा परेको जस्तो देखिन्छ नि ?

ओझेलमा पर्ने कुरै छैन । हामीले आन्दोलनकै योजना बनाई रहेका छौँ । राज्यले हामीसंग प्रतिबद्धता जनाएर पनि अधिकारको सवालमा गैर जिम्मेवारिता देखाई रहेको छ । राजपाका अध्यक्ष मण्डल र बरिष्ठ नेताहरु आन्दोलनका खाकाहरुलाई साकार गर्ने योजना बनाईरहेका छन् । अधिकारको सवालमा कुनै सम्झौता हामी गर्दैनौँ ।

अलि प्रसंग बदलौँ तपाई राजनीतिमा कसरी आउनुभयो ?

मधेशीहरुलाई दोस्रो दर्जाको नागरिकको रुपमा नेपालमा व्यवहार गरिन्थ्यो । यो व्यवहारले मधेशीलाई अपमान हुने गथ्र्यो । गजेन्द्रनारायण सिंह मधेशी अधिकारका लागि अगाडि बढ्नुभयो र उहाँकै पछाडि पछाडि हामी लाग्यौँ । शुरुमा आन्दोलन गर्दा धेरै व्यक्ति हामीमाथि हास्ने गर्र्थे । तर आज त्यो अवस्था रहेन । तीन चार पटक ठूलै मधेश आन्दोलन भई सक्यो ।

पहिला राम्रो थियो कि अहिलेको अवस्था राम्रो छ ?

पहिलाभन्दा अवस्था अलि राम्रो भएको छ । पहिला एउटा गजेन्द्रनारायण सिंह थिए अहिले दर्जनौँ गजेन्द्रनारायण सिंह भई सकेका छन् । अधिकारको सवालमा मधेशीहरु जागरुक भई सकेका छन् । हामीसंग भेदभाव भईरहेको पूरै संसारले बुझि सकेको छ । नेपाली सत्ता पनि हाम्रो शक्तिलाई बुझि सकेका छन् । अधिकार दिनमा कन्जुस्याई भईरहेको छ । तर अधिकार दिनैपर्छ मधेशी चुपचाप बस्दैनन् नेपाली सत्ताले यो कुरो बुझि सकेको छ ।

राजनीतिमा तपाईको लक्ष्य के रहेको छ ?

बिना लक्ष्य लिएर हामी अगाडि बढेका छौँ । अधिकार नै पहिलो लक्ष्य हो । अन्तिम लक्ष्य पनि अधिकार नै रहेको स्पष्ट पार्न चाहन्छु । मधेशी जनता अधिकार सम्पन्न भएपछि आफूलाई केही चाहिदैन ।