उत्तमप्रसाद बाँसकोटा,
वर्षः ०२ | अङ्कः १० | असार २०७६
धर्म भनेको के हो ? यसको व्याख्या तथा परिभाषा विभिन्न विद्वान व्यक्तित्वले विभिन्न सयममा आफ्नो तरिकाबाट व्याख्या गरेका छन् ।
‘धर्म’ भनेको ‘विश्वास’ हो । विश्वास भएपछि मानिसले तदनुरुप अनुशरण गर्दछ । जुनसुकै धर्ममा पनि मानव जातिले आफ्नो शारीरिक तन्दुरुस्तीका साथै आत्मबल बढाउनको लागि अनुशरण गर्ने पद्धति बताइएको हुन्छ । सोही पद्धति मानिसले अनुशरण गरेमा उसको शारीरिक तन्दुरुस्तीका साथै आत्मबल वृद्धि हुन्छ । तसर्थ धर्मात्मा मानव स्वयम् अनुशासन पालनामा निरन्तर लागिरहेको हुन्छ । स्वयम् अनुशासन पद्धति अनुशरण गरेपछि उसले प्रकृतिसँग मेल खानेगरी आफ्नो जीवन पद्धतिलाई ढाल्न समर्थवान हुन्छ । प्रकृतिसँग जीवन पद्धतिलाई ढाल्न सकेमा निरोगी रहन्छ र कुनै डाक्टर वा औषधिको आवश्यकता पर्दैन । निरोगी हुन सकेमा मात्र उसले आफ्नो जीवन पद्धतिलाई अनुशासनमा राख्न समक्ष हुन्छ । प्रकृतिसँग जीवन पद्धतिलाई ढालेका जँगलमा बस्ने जँगली जनावर र चराचुरुङ्कीलाई औषधि र डाक्टरको कहिल्यै आवश्यकता पर्दैन । तर त्यही जँगली जनावर वा चरचुरुङ्कीलाई घरपालुवा बनाएमा उनीहरुलाई पनि औषधि र डाक्टरको आवश्यकता पर्दछ ।
अहिले विश्वमा अनेकौं धर्ममध्ये मुख्यतया ३ वटा हिन्दु, मुस्लिम र बौद्ध धर्म मान्ने मानिसहरु बढी छन् । ३ वटै धर्मको साराशं ‘देशको भौगोलिक परिस्थितिअनुसार मानव जीवनलाई स्वयम् अनुशासनमा राखी निरोगी भई आफ्नो शारीरिक तन्दुरुस्तीका साथै आत्मबल बृद्धि गरी नवीन विचार सोच्न सक्ने क्षमता वृद्धि गर्नका लागि अपनाएका व्यवस्थाको अनुशरण’ गर्ने कुरा बताइएको हुन्छ । जुन धर्मअनुसार अनुशरण गरेता पनि मानव कल्याण हुन्छ । तर यि धर्महरुको विभिन्न व्यक्तिहरुले आफ्नै किसिमले व्याख्या गरी धर्मको नाममा विभिन्न सम्प्रदायमा विभाजित भएका छन् । यसकारण एक सम्प्रदायले अर्को सम्प्रदायको बारेमा मिथ्या प्रचार प्रसार गरी आफ्नो सम्प्रदायको बाहुल्यता वृद्धि गर्न लागि परिरहेका छन् । त्यसैले धर्मको नाममा आपसमा लुटपाट आदि मच्याइरहेका छन् । वास्तवमा जुनसुकै धर्मको निश्कर्ष भनेको मानिसले आफ्नो भौगोलिक अवस्थाअनुसार प्रकृतिसँग मेल खानेगरी अनुशासनमा बसी आफ्नो शारीरिक तन्दुरुस्ती सहित नवीन विचारको सोच गर्न सक्ने क्षमताका विस्तार गर्नु हो । यो निष्कर्षलाई बुझ्न नसके र बुझाउन नसकेमा धर्मको नाममा साम्प्रदायिकताको वृद्धि हुने र यसले समाज, देश र अन्त्यमा विश्वलाई नै संकट पैदा गर्दछ ।
अब त धर्म भन्ने शब्दपनि राजनीतिक उन्मुख हुन पुग्यो । राष्ट्र राष्ट्रहरु बीच कुनै मुस्लिम राष्ट्र, कुनै हिन्दु राष्ट्र त कुनै इसाई राष्ट्रमा घोषित वा अघोषित रुपमा रहेका छन् । कुनै राष्ट्रहरु धर्म निरपेक्ष भनि घोषित भएता पनि आफ्नो दलको स्वार्थअनुसार कुनै धर्मालबम्बीहरुलाई बढि सहुलियत दिने र अर्को धर्मालबम्बीहरुलाई कम सहुलियत दिन गरी आफ्नो दलको स्वार्थ वा भोट बैंकका लागि उपयोग गरिरहेका छन् । जसले गर्दा विश्वमा नै विभिन्न वहानामा अशान्ति मच्चिरहेको छ । वास्तवमा सबै राष्ट्रले धर्म निरपेक्षताको उद्घोषगरी आफ्नो राष्ट्रमा बस्ने जनताले स्वईच्छाअनुसार अन्य धर्माबलम्बीलाई प्रतिकूल नहुने गरी आफुलाई उपयुक्त हुने धर्मको अवलम्बन गर्ने नीति लागू हुन सकेमा मात्र विश्वमा केही मात्रामा शान्ति हुने अपेक्षा गर्न सकिन्छ ।
मन्दिर निर्माण गर्ने, तीर्थ यात्रा गर्ने, १८ पुराण सुन्ने वा नित्य मन्दिर गई पूजाआजा गर्ने व्यक्ति मात्र धर्मात्मा हुन सक्दैन । मन्दिर निर्माण गर्नु भनेको राष्ट्रको कला संस्कृति देखाउने काममा सहयोग पुर्याउनु हो । तीर्थ यात्रा गर्नु र विभिन्न ठाउँको भ्रमण गर्नु भनेको विभिन्न ठाउँका भेषभूषा, तौर तरिका आदिको जानकारि लिनु हो । १८ पुराण सुन्ने भनेको पुराणमा उल्लेखित कुराहरुको आफुले मनन गरी उपयुक्त लागेमा तद्नुरुप कार्यान्वयन गर्नु हो । नित्य मन्दिर गई पूजाआजा गर्नु भनेको आफ्नो शारीरिक तन्दुरुस्तीका लागि अनुशासनको पालना गर्नु हो । तसर्थ चाहे १८ पुराण सुनौँ, चाहे कुरान वा वाइवल सुनौ वा मस्जिद वा चर्च जाउँ फरक केही पर्दैन । आफुले अनुशासनको अनुशरण गर्नु पर्यो, फल त्यहि मिल्छ भने धर्मको बारेमा विवाद किन ? के त हिन्दु बाहेक अन्य धर्माबलम्बी स्वर्ग जाँदैनन् त ?
स्वर्ग र नरक कहाँ छ ? कोही पुगेर फर्केको छ ? यो सिर्फ आफ्नो धर्मप्रति विश्वास बढाउनका लागि फैलाएको एक अफवाह मात्र हो । स्वर्ग र नरक यही पृथ्वीमा नै छ । अन्यत्र कतै पनि छैन । ८४ लाख योनीमा चक्कर लगाउनुपर्छ भनेको पनि अफवाह नै हो । के आँपको बोट रोपेर सुन्तला कहिल्यै फल्छ । त्यसै गरी कुकुरले धर्म गरेमा मानिस बन्दछ वा मानिसहरु अधर्मी भयो भने कुकुर बन्छ त । यो जीवात्माले आफ्नो धर्मअनुसार अनुशासनमा रही जीविकोपार्जन गर्दछ, उसले पृथ्वीमा स्वर्गको अनुभव गर्दछ । जो जीवात्मा अनुशासनमा रहँदैन त्यसले शारीरिक कठिनाई सहित नरकको अनुभव पृथ्वीमै गर्दछ । तसर्थ स्वर्ग र नरक भन्ने कुरा आपूmले अनुभव र महसुस गरी जीवन निर्वाह गर्ने मात्र हो । जीवात्माको मृत्युपछि शरीरलाई चाहे जलाएर वा गाडेर वा पानीमा फालेता पनि शरीरका विभिन्न अंगहरु पानी, हावा, माटो र आकाशमा विलिन हुन्छन् । आत्मा भने या त आफ्नै ठाउँ (परमात्मा)मा मिल्छ वा अन्य जीवको शरीरमा गएर बस्छ ।
किंवदन्तीअनुसार एक पटक शंकराचार्य आफ्ना केही शिष्यहरुको साथ हिमालयमा गएछन् । त्यहाँ खानको लागि केही थिएन । थकित शिष्यहरु जाडोले गर्दा थुरुथुरु काँप्दै भोको पेटमा हिँडिरहेका थिए । शंकराचार्यलाई दया लाग्यो तर खुवाउने कुरा केही थिएन । शिष्यहरुको पेट त भरिदिनु पर्यो नत्र यि त सबै मर्ने भए भन्दै सोचेका थिए । भर्खरै कुनै चितुवाले मारेको मृग देखे । गुरुले त्यही मृगलाई पोलेर आफ्नो भोक शान्त गर भनि अह्राए । आफुले पनि केही खाए । तत्पश्चात उनीहरु घुम्दैफिर्दै भारतको दक्षिण प्रान्तमा आईपुगे । त्यहाँ केही शिष्यहरुले मादक पदार्थ सहित मासु खाएको गुरुले देखे । शंकराचार्यले शिष्यहरुलाई सोध्दा हिमालमा जाँदा गुरु र हामीले मृगको मासु खाई भोक शान्त गरेका थियौँ भने हामीले यहाँ किन खान नहुने भनी जिज्ञासा राखे । तब शंकराचार्यले तिनै शिष्यहरुलाई एउटा ठूलो कराईमा फलामका टुक्रा राख्न लगाई त्यसलाई फलामको झोल बनाई आफूले त्यो तातो फलामको झोल एक गिलास पिए र अन्य शिष्यलाई पनि एक एक गिलासको दरले पिउन आग्रह गरे । तर कसैको पनि हिम्मत भएन तब शंकराचार्यले शिष्यहरुलाई भने “शरीर नभै धर्म हुँदैन, तसर्थ शरीरलाई बचाई राख्नको लागि समय परिस्थितिअनुसार जे पनि गर्नुपर्छ” हिमालमा शरीरलाई बचाउन मृगको मासु वाहेक अन्य विकल्प थिएन । तर यहाँ अन्य विकल्प छ भनि सम्झाएपछि शिष्यहरुको चित्त बुझ्यो र अन्य चीज खाएर प्राण रक्षा गरे ।
धर्म मान्नुपर्छ, भन्ने मेरो पनि मान्यता छ । तर त्यस्तो धर्म मान्नुपर्छ, जुन धर्ममा सरलता होस्, व्यवहारिकता होस्, स्वास्थमा हानी नपुगोस्, समाजमा विकृति नआओस्, धनि र गरिवले समान रुपबाट गर्न सकुन् जसले गर्दा प्रत्येकको शारीरिक तन्दुरुस्ती नै आत्मबलको वृद्धि होस् र साथै नवीन विचार सोच्न सकोस् । यस्तो धर्मको आज आवश्यकता परेको छ । तसर्थ मेरो विचारमा सनातन धर्मलाई अझै केही परिष्कृत गरी समय सुहाउँदो बनाउन सकेमा, नयाँ पुस्तालाई मान्य हुनुको साथै उनीहरुको पनि यस प्रति अभिरुची बढ्न जाने र धर्मको पनि पालन हुनेछ भन्ने मेरो विश्वास छ ।