कृष्ण काश्यप,
वर्षः ०२ | अङ्क १० | असार २०७६
जेठ १२ गते राजधानीमा श्रृङ्खलावद्ध बम विस्फोट भएको छ । नेकपा माओवादी विप्लवको बन्द (१३ जेठमा नेपाल बन्दको आहव्न गरेको) पूर्वसन्ध्यामा राजधानीको सुकेधारा, घट्टेकुलो र थानकोटमा प्रतिबन्धित चन्द समूहले विस्फोट गराएका हुन् । उक्त विस्फोट परी ४ जनाको मृत्यु हुनुका साथै ७ जना घाइते भएका छन् । नेपाल बन्दको दिन बिहानै राजधानीमा विस्फोट गराई त्रास फैलाउने उद्देश्यले राजधानीमा विप्लवका १० समूह क्रियाशील रहेका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा लामो समयपछि बम बनाउन लाग्दा ज्ञानको अभावमा बम विस्फोट भई आफ्नै कार्यकर्ताहरुको ज्यान गएको हो । विप्लव समूहका एक नेताका अनुसार “कम्तीमा १८ स्थानमा प्रेसर कुकर बम राख्ने पार्टीको योजना थियो । मान्छे मार्ने उद्देश्यले थिएन । तर बनाउँदा बनाउँदै ज्ञान तथा अनुभवका कमीले हाम्रै साथीहरु परे । बम राख्ने टोलीमा नयाँ साथीहरु परिचालित भएका कारणले नै यो दुर्घटना हुन गयो ।” साथै सोही दिन (१२ गते आइतवार) कोटेश्वरबाट प्रेसर कुकर तथा विष्फोटक पदार्थ सहित पक्राउ विप्लव समूह ७ जना कार्यकर्ताबाट पनि सो कुरा पुष्टि हुन आएको प्रहरीको भनाइ रहेको छ ।
सरकारले २० फागुन २०७५ मा विप्लव समूहमाथि प्रतिवन्ध लगाएपछि हालसम्ममा ४२६ जना कार्यकर्ता पक्राउ परीसकेका छन् । ती मध्ये अधिकांश हातहतियार सम्बन्धि विज्ञ रहेको उनीहरुको दावी रहेको छ ।
प्रहरीको अमानवीय व्यवहार
सुकेधारा विस्फोटका घाइतेका आफन्तले प्रहरीको टर्चरले सीमा नाघेका जानकारी पत्रकार सम्मेलन मार्फत गराएका छन् । अस्पताल परिसरमा नै गरेको पत्रकार सम्मेलनमा उनीहरुले अस्पतालमा कुरुवा समेत बस्न सक्ने अवस्था नरहेको जानकारी गराएका छन् । उनीहरुले सरकारले उपचार समेत नगराएको र “तिमीह्रु विप्लवका कार्यकर्ता हौ, सरकारले किन उपचार गर्ने” भन्ने जस्ता कुरा गरेर सरकारले मानवीयता समेत देखाउन नसकेको जानकारी गराए । आफन्तहरुले सरकारले अनुसन्धान मात्र गरेको तर मानवीय धर्म समेत पूरा नगरेको बताए, उनीहरुको भनाइ छ “पहिला उपचार हुन दिनुहोस्, त्यसपछि अनुसन्धान गर्नुहोला ।”
प्रहरी राति १२–१ बजे आएर घाइतेलाई सोधपूछ गर्ने तथा अस्पतालमा कुरुवा बसेकाहरुलाई समेत अमानवीय व्यवहार गर्ने गरेको घाइतेका आफन्तहरुको आरोप रहेको छ । घाइते हरि खड्काका छोरा मिलनका अनुसार एकदिन प्रहरी आएर आफ्नो परिचय पत्र मागेको र आफूले सहजै रुपमा कलेजको परिचय पत्र दिएको बताउँछन् । उनी भन्छन् “त्यही परिचय पत्रको आधारमा प्रहरीले मलाई फसाउन खोज्यो ।” केही समयपछि प्रहरीले उनलाई विस्फोट भएको ठाउँमा तिम्रो परिचय पत्र फेला प¥यो भनी फसाउन खोजे, बुवा कुनै पार्टीको कार्यकर्ता नभएको र कपाल काट्न जाँदा घाइते भएको मिलनले बताए ।
एकातिर आफ्ना आफन्तजन घाइतेको भएको पीडा उनीहरुलाई छ भने अर्कोतर्फ प्रहरी तथा राज्यको तर्फबाट भएको अमानवीय र मानव अधिकार विरोधी क्रियाकलापबाट उनीहरुलाई अझ पीडा थप गरिदिएको छ । उनीहरुको यो पीडामा अब मलम कसले लगाउने ? यो गम्भीर प्रश्नको जवाफ हाललाई कहिँबाट आउने देखिदैन ।