संजीव सिंह,
वर्षः ०२ | अङ्कः १० | असार २०७६
“ विगत १५ वर्षदेखि नेपालको हरेक भुभाग पुगेर लाखौँ फोटो लिन सफल मिसेल कुशल पर्वतारोही पनि हुन् । नेपालसँगको नातालाई आत्मीय र भावनात्मक संज्ञा दिने कुशल र शालिन व्यक्तित्वका धनी मिसेलको जन्म सन् १९५३ मा फ्रान्सको प्रोभन्समा भएको हो । ”
प्राकृतिक सौन्दर्य, भौगोलिक विविधता, मानवीय संस्कार, संस्कृति, परंपरा एवं शान्त र स्वतन्त्र देश नेपाललाई फोटोमार्फत विश्वसामु चिनाउन सफल फोटोग्राफर हुन् – डि मिसेल मि । ६६ वर्षीय मिसेल फ्रान्सका फ्रिलान्स फोटोग्राफर तथा ट्राभल्र्स हुन् । विश्व शक्ति साम्राज्यको सफल राष्ट्र फ्रान्स आफैमा अलौकिक सुन्दरता बोकेको छ । स्वर्गसँगै तुलना गरिंँदै आएको फ्रान्स वास्तवमै सौन्दर्य र क्रान्तिको संवाहक हो ।
विगत १५ वर्षदेखि नेपालको हरेक भूभाग पुगेर लाखौँ फोटो लिन सफल मिसेल कुशल पर्वतारोही पनि हुन् । नेपालसँगको नातालाई आत्मीय र भावनात्मक संज्ञा दिने कुशल र शालिन व्यक्तित्वका धनी मिसेलको जन्म सन् १९५३मा फ्रान्सको प्रोभन्समा भएको हो । उनी विगत १५ वर्षदेखि नेपालको विभिन्न ठाउँमा बसोवास गर्दै आएका छन् । १९ वर्षको उमेरदेखि नै हिमाल चढ्ने शौक जागेका उनी कुशल पर्वतारोही पनि हुन् ।
विश्वका ५० भन्दा बढी मुलुक भ्रमण गरेर झण्डै ५ लाखभन्दा बढी फोटो लिइसकेका मिसेलले फ्रान्समा मात्र २० भन्दा बढी फोटो प्रदर्शनी गरेका छन् । विशेषगरी हिमालको फोटोग्राफी गर्ने उनी त्यहाँको रहन सहन, संस्कार र जनजीवनको अध्ययन पनि गर्ने गरेका छन् ।
नेपाल बसाइको क्रममा उनले यस्ता अध्ययन गर्ने थुप्रै मौका पाएका छन् । उनी यो सबैखाले विषयवस्तुलाई समेटेर भविष्यमा पुस्तक संग्रह निकाल्ने तयारीमा समेत छन् । मिसेलले नेपाल झल्काउने फोटोहरुको संग्रह तयार पारी यही आउँदो असोज/कार्तिकमा फोटो प्रदर्शनी गर्दैछन् । पाटन म्युजियममा हुने उक्त प्रदर्शनीमा उनले नेपाल बसाइको अवधिमा लिएको सयौँ फोटो प्रदर्शन गर्दैछन् । “१५ वर्ष नेपालमा” भन्ने शीर्षकका साथ आफ्नो प्रदर्शनी गर्न लागेका उनी भने नेपालको कला, संस्कृति, भाषा, साहित्य र पहिचानको संरक्षण एवं सवर्धन सहि मात्रामा हुन नसकेकोमा भने चिन्तित छन् ।
नेपाल अपार संभावना बोकेको देश हो, यहाँ सुन्दर र विशाल हिमाल छ, मनोरम दृश्य छ, एडभेन्चरस ठाउँहरु छन्, मठ–मन्दिर लगायत अनेकौँ पहिचानका विश्वस्तरीय स्रोत साधन छ । जनस्तर र राजनीतिक स्तरबाट यसको सम्बोधन र संरक्षण हुन जरुरी रहेको उनको अध्ययनले बताउँछ । अनेकौँ जातजाति, भाषा, धर्म, रहन सहन र परिवेश नेपालको विविधता हो र यसैबीच नेपाली जनता मिलेर बस्नु एवं बाँच्नु अर्को विशिष्टता हो । यद्यपि राजनीतिक चेतना कम हुनु, भौतिक प्रगति एवं समयमा सही सम्बोधन नहुनु यहाँको राज्यसत्ताको कमजोरी रहेको समेत उनको ठहर छ।
विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत बुद्धको देश नेपाल एकचोटि आएर फर्केपछि फेरि फेरि आउन मन लागेरै १५ वर्षसम्म यहाँ विताउन सफल मिसेल मोरक्को र ग्रिसमा समेत वर्षौ रहेर त्यहाँको अध्ययन, अनुसन्धान एवं फोटोग्राफी गर्न भ्याए । कुनै किसिमको सरकारी सहयोग नपाएका उनी आफ्नो कार्य र कृतिले खुशी छन् । जीवन एकचोटिलाई हो बाँचुञ्जेल केही अमर कार्य गरेर जानुपर्दछ भन्ने अभिप्रायकासाथ फेरी नयाँ गन्तव्य, नयाँ खोजका साथ अगाडि बढ्ने लक्ष्य रहेको बताउँछन्: मिसेल मि ।