उपेन्द्र खनाल,

वर्षः ०२ | अङ्कः ०९ | जेष्ठ २०७६,

पछिल्लो समय मौलिकता हराउँदै गएपछि तनहुँका जेष्ठ नागरिकमा चिन्ता बढ्दै गएको छ । आफ्ना छोरा नातिले प्रयोगमा ल्याएको पश्चिमेली शब्दको परिवर्तनका कारण संस्कार र संस्कृतिनै गुम्ने खतरामा पुगेको भन्दै तनहुँका जेष्ठ नागरिकमा चिन्ता थपिएको हो । व्यास– १ का जेष्ठ नागरिक नारायणदत्त भटराईले आजकल छोरानातिले बुवाआमा जस्ता चलनचल्तीका मौलिक शब्द प्रयोग गर्न छाडेको बताए । ‘नातिले हजुरबुवा भन्न छाडेर बुवा भन्ने गरेको छ, त्यस्तै आफ्नो बुवालाई ड्याडी भनेर बोलाउँछ, उनले भने ‘यस्तै हो भने केही समयपछि मौलिक शब्दहरु नै लोप हुने अवस्थामा पुग्छ ।

पहिले पहिले हजुरबुवाहजुरामा, बुवाआमा, काकाकाकी, सानोबासानिमा जस्ता मौलिकता भएको शव्दको प्रयोग गरेर बोलाउने गरिएपनि पछिल्लो समय भने प्रचलन हराउँदै गएको छ । हिजोआज हजुरबुबा भन्नुपर्नेमा बा, बुवा भन्नुपर्ने ठाउँमा ड्याडी र आमा भन्नु पर्नेमा ममि भन्ने प्रचलन बढ्दै जाँदा पछिका पुस्तालाई समेत इतिहास पढाउनुपर्ने अवस्था आउन सक्ने जेष्ठ नागरिक टीकानिधि पौडेलले बताए । ‘छोरा नातिले बिदेशी संस्कृतिको सिको गर्न थालेपछि मौलिकता गुम्ने होकि भन्ने खतरा बढेकाले यसको जगेर्ना कसरी गर्न सकिन्छ भन्ने चिन्ताले जेष्ठ नागरिकलाई सताउने गरेको छ, उनले भने ।

पछिल्लो समय अधिकांश जेष्ठ नागरिकमा मौलिक शब्दहरु लोप हुन थालेपनि यसको संरक्षण कसरी गर्न सकिन्छ उनीहरु अनविज्ञ छन् । यसरी नयाँ पुस्ताले बिदेशी संस्कृतिको सिको गरेका कारण यी शब्द लोप हुने अवस्थामा पुगेको हो ।
जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष सालिकराम गिरिले तीनसयभन्दा बढी जेस्ठ नागरिक आस्रममा सहभागी रहेको बताए ।

यसरी दिनानुदिन मौलिक शब्द हराउँदै गएको र पश्चिमेली शब्द भित्रिएको प्रति जेष्ठ नागरिकमा निराशा छाएको छ । जेष्ठ नागरिक मिलन केन्द्रमा करिब तीनसय सदस्य रहेको र उनीहरु दैनिक केन्द्रमा आएर भजन कीर्तन, नाचगान गर्नुका साथै प्रबचन समेत दिने गरेका छन्, ‘तर उनीहरु आफ्ना सन्ततिले प्रयोग गर्दै आएको भाषाप्रति भने सन्तुष्ट छैनन् ।

शव्द संरक्षणको लागि अभिभावक नै जुटेदेखि पश्चिमेली संस्कार हराउँदै जाने अपेक्षा छ । त्यसका लागि अभिभावकको नै मुख्य जिम्मेवारी भएकाले उनीहरुको सक्रियता आवश्यक छ । अर्का जेस्ठ नागरिक सूर्यप्रसाद ढकालले नातिनातिनाले बुवा भन्न थालेपछि आफुले बुवा होइन हजुरबुबा भन भनेर सिकाउने गरेको बताए । ‘नातिले बुवा भनेर बोलाउँछ, मैले बुवा होइन हजुरबुबा भन भन्छु तर मान्दैन, उनले भने ‘युवापिँढिले सस्कृतिको संरक्षण गर्न नसक्दा यस्ता शब्द लोप हुने अवस्थामा छ ।
व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले अभिभावकले नै आफ्ना सन्ततिलाई संस्कृति र संस्कार सिकाउनुपर्ने बताए ।‘आजकल सबैका छोराछोरीले चलनचल्तीको भाषा प्रयोग गर्न छाडिसकेका छन, त्यसैले परिवारले नै आफ्ना सन्ततिलाई रहनसहन र भेषभूषाको बारेमा सिकाउनुपर्छ, उनले भने । यसरी मौलिकता शव्द लोप हुदै गएपछि जिल्लाका जेस्ठ नागरिकमा निरासा पैदा भएको छ । समयमा नै आफ्ना सन्तति र नातिनातिनालाई संस्कारको बारेमा बुझाउन नसक्दा शव्द लोप हुने खतरा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *