प्रमोदकुमार साह,

वर्षः ०२ | अङ्कः ०९ | जेष्ठ २०७६

“ठेकेदारको रजाईको कारण सम्झौता समाप्त हुृँदा पनि प्रगति झण्डै एकतिहाई मात्र, सम्वन्धित निकाय मौन”

सडक सञ्जालको विस्तार एवं विकासको क्रममा राणाकालिन समयदेखिनै चिठ्ठी पत्र आदान प्रदान गर्न तराई मधेसको गाउँ–वस्ति हुँदै पूर्व मेचीदेखि पश्चिम महाकालिसम्मको हुलाकी (चिठीपत्र बोक्ने) हिँड्ने भनेर निर्माण गरिएको सडक हुलाकी राजमार्ग (लोकमार्ग)को रुपमा परिचित छ ।

नेपालको सबैभन्दा पुरानो राजमार्गको रूपमा चिनिने हुलाकी राजमार्गको सुरुवात जुद्धशम्शेर जबरा र पद्यमशम्शेर जबराले गरेका थिए । सन् १९३० देखिनै यसको अवतजावतको क्रम सुरुवात भएको पाइन्छ । पूर्वमा झापाको केचन कवलदेखि पश्चिम कञ्चनपुरको दोधारासम्म भारतीय सीमा क्षेत्रको नजिकबाट तराई मधेसका सबै जिल्ला भएर जाने सडक हुलाकी सडक हो ।

हुलाकी सडक संजालमा नेपाल सरकार (मन्त्रिस्तरीय)को मिति २०६९÷०२÷२४ को निर्णय अनुसार पूर्व पश्चिम हुलाकी राजमार्ग करिब ९७५ किमि र सहायक मार्ग करिब ८१७.४२ किमि गरि जम्मा १७९२.४२ किमि सडक र खण्डमा पर्ने २१९ वटा पुलहरु रहेका छन् । हुलाकी मार्ग मुख्यरूपमा सडक सञ्जालसँगै गरिबी निवारण र रोजगारीको स्तरउन्नतीका लागि बनाइएको सडक हो ।

हुलाकी राजमार्ग अन्तरगतका सडकहरु ठेक्का समाप्त हुन ४ महिना बाकि छँदा पनि अहिलेसम्म २४ प्रतिशत समेत काम नभएको देखिएको छ । हरेक राजनीतिक दलको एजेण्डा वन्दै आएको यी राजमार्गले विगतको केहि वर्षमा द्रुत रुपमा निमार्ण कार्य सुरु भएपनि तोकिएको समयसम्म विभिन्न समस्याका कारण एक तिहाई पनि काम हुन सकेको छैन ।

हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुरधाम अन्तरगत रहेको ४वटा जिल्लाको हुलाकी सडकको योजना समयमै पुरा हुने छाँटकाँट देखिएको छैन । योजना कार्यालय जनकपुरधाम अन्तरगत रहेको धनुषा, सिरहा, सर्लाही र महोत्तरी जिल्लाको हुलाकी सडकको जम्मा २२ वटा योजना मध्ये एउटाको काम पनि सन्तोषजनक नरहेको देखिएको छ । योजना कार्यालय जनकपुरधामको नेपाल सरकारको स्रोतबाट संचालित आयोजनाहरु मध्ये ८ वटा सडक र ९ वटा पुल निर्माणको काम रहेको छ । जसमध्ये आठवटा सडकमा १३वटा ठेक्का लागेको छ ।

आयोजना अन्तरगत जनकपुरधामको जिरोमाईलदेखि विगही ब्रिजसम्म ९ किलोमिटरको एउटा ठेक्का लागेको छ । प्रतिभा वाइपी जेभी ठेक्का कम्पनीले ४८ करोड ५१ लाख ५७ हजारमा लिएको ठेक्का २०७३ भदौ २३ गते ठेक्का सम्झौता गरिएको थियो भने २०७६ भदौ २२ गतेसम्म योजना सम्पन्न गर्ने सम्झौता गरिए पनि योजना सम्पन्न हुन ४ महिनामात्र बाकि रहेको अवस्थामा अहिलेसम्म ४३ प्रतिशत मात्र काम भएको देखिएको छ । जनकपुरधाम जलेश्वर भिठामोड अन्तरगतको दोस्रो योजना विगही पुलदेखि भिठामोडसम्म १८.५६४ किलोमिटर सडकको ठेक्का अशिष पप्पु रोशन जेभीलाई दिईएको छ । ४९ करोड ८९ लाख २० हजारमा गरिएको ठेक्का यसै वर्षको भदौ २३ गते सम्पन्न गर्नुपर्नेमा अहिलेसम्म ४ महिना मात्र काम बाँकि छदा २४ प्रतिशत मात्र काम भएको छ । त्यस्तै सर्लाही जिल्ला अन्तरगत नवलपुर मंलगवा सडक खण्डमा नवलपुरदेखि गौर सडक खण्डमा कुल १३ किलोमिटरका लागि हिमदुंग एण्ड ठोकर एण्ड नमिता जेभीलाई ठेक्का दिइएको छ ।

२०७३ भदौ ३१ गते भएको सम्झौता २०७५ कार्तिक ३० गते योजनाको समय सीमा सम्पन्न भइसकेको अवस्था छ तर ३० करोड १६ लाख १७ हजारमा लागेको ठेक्काको समय सीमा समाप्त भएपनि सडकको काम चाहि ८१ प्रतिशत मात्र भएको छ । नवलपुर मलंगवा सडक अन्तरगत रहेको २६.५९४ किलोमिटरको अर्को ठेक्का सम्झौता रमन आशराय जेभीसंग गरिएको छ । २०७३ असोज १० गते गरिएको सम्झौता यस वर्षको जेष्ठ २४ गते सम्पन्न हुँदैछ । २८ करोड ६३ लाख ६५ हजारमा गरिएको सम्झौताको योजना सम्पन्न हुन १ महिनामात्र बाँकि छँदा ६५ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

सर्लाही जिल्लाकै नयाँरोड बरहथवा मधुवनी सडक खण्डको नयाँ रोडदेखि हिरापुर वजार सम्मको २१ किलोमिटर सडकको काम पनि योजना सम्पन्न भइसकेको लगभग डेढ महिना वितिसक्दा पनि काम चाँहि ७० प्रतिसत मात्र भएको छ । श्रेष्ठ एपेक्स जेभीले ४३ करोड ७२ लाख ३६ हजारमा लिएको ठेक्का २०७५ चैत १ गते सम्पन्न गर्नुपर्ने रहेको थियो । सोहि ठेक्का कम्पनीले सोहि सडक खण्ड अन्तरगतको हरिहरपुर वजारदेखि मधुवनीसम्म करिव ४०.५८० किलोमिटरको सडक खण्डमा ४१ करोड ४२ लाख ८६ हजारमा लिएको ठेक्का २०७६ साउन १ गते सम्पन्न गर्नुपर्ने सम्झौता रहेको छ । तर ठेक्का सम्पन्न हुन करिव २ महिना मात्र बाँकि रहँदा अहिलेसम्म ५० प्रतिशत मात्र काम भएको तथ्यांक योजना कार्यालयसंग रहेको छ ।

त्यसैगरि धनुषा जनकपुरधामको कदमचौक कपटौल तिनकोरिया सडकमा  १२ किलोमिटरको ठेक्का लामा रमन जेभीलाई दिइएको छ । २७ करोड ९५ लाख ४२ हजारमा गरिएको ठेक्का समय थप सहित यसै वर्षको आषाढ २४ गते सम्पन्न गर्नुपर्ने रहेको छ  तर योजना सम्पन्न हुन १ महिना मात्र बाकि छँदा अहिलेसम्म ३७ प्रतिसतमात्र काम सम्पन्न भएको छ । सोहि ठेक्का कम्पनीकै सोहि सडक खण्डको २५ किलोमिटरको अर्को ठेक्का सम्झौता २२ करोड ९७ लाख ४५ हजारमा भएको देखिएको छ । २०७३ आषाढ ३१ गते गरिएको सम्झौता म्याद थप सहित २०७६ अषाढ २४ गते सम्पन्न हुन गइरहेपनि अहिलेसम्म ५४ प्रतिशतमात्र काम भएको देखिएको छ ।

धनुषाकै तिनकोरिया लगमा सघरा कमला पुल सेक्सन सडक अन्तरगत ३० किलोमिटरको सडक खण्डमा ढुकुचु कन्स्ट्रक्स कोम्पा पिभीटी लिमिटेडसंग ठेक्का सम्झौता गरिएको छ । १९ करोड १४ लाख ३७ हजार रुपैयामा गरिएको सम्झौताको योजना सम्पन्न भएको ५ महिना वितिसकेको छ । अर्थात् योजना सम्पन्न गर्नुपर्ने मिति २०७५ पुस २९ गते रहेकोमा अहिलेसम्म ५२ प्रतिशत मात्र काम भएको छ । यता सिरहा जिल्ला अन्तरगत रहेको बलान कमल सडक खण्डको २९.८८० किलोमिटरको निमार्णका लागि स्वछन्द रोशन महादेव खिमती जेभीसंग ठेक्का सम्झौता गरिएको छ । १ अर्व ३५ करोड ९२ लाख ३२ हजार भएको सम्झौता २०७७ आषाढ ८ गते सम्पन्न गर्नुपर्ने रहेको छ । योजना सम्पन्न हुन एक वर्ष बाकि रहेको समयमा काम चाँहि २२ प्रतिसत मात्र भएको देखिएको छ ।

एम आर एम बाँके संग्रामपुर सडक अन्तरगत २२.४८० किलोमिटर सडकको काम अहिले २० प्रतिशतमात्र भएको देखिएको छ । जवकि ८३ करोड ८९ लाख १३ हजारमा लामा डाफे गोल्डेन जेभीलाई  दिइएको ठेक्का २०७७ अषाढ ७ गते सम्पन्न गर्नुपर्ने सम्झौता गरिएको छ । जनकपुरधाम बसविटी बलवा हार्दि पोखरभिण्डा संग्रामपुर सडक खण्डको १ अर्व ७० करोड ४६ लाख ६ हजारमा कालिका रमन जेभीसंग ठेक्का सम्झौता गरिएको छ । २०७७ आषाढ १० गते योजना सम्पन्न गर्नुपर्नेमा अहिले सम्म २० प्रतिशत मात्र काम भएको छ । त्यस्तै एमआरएम फुलजोर त्रिभुवन सडकका लागि ठुन्डी आशिष सन्तोष जेभी संग ८६ करोड १ लाख ६६ हजारमा ठेक्का सम्झौता गरिएको छ । २०७७ आषाढ ५ गतेसम्म योजना सम्पन्न गर्नुपर्ने समय सीमा रहेपनि अहिलेसम्म २३ प्रतिसत मात्र काम भएको छ ।

पुलको पनि उस्तै रामकहानी

२४ करोड ९० लाख ९७ हजारमा कन्चनपुर कमला सेक्टरको कमला पुलका लागि पप्पु लुम्विनी जेभीसंग गरिएको ठेक्का सम्झौतामा अहिलेसम्म ५६ प्रतिशत मात्र काम भएको देखिएको छ । जवकि समय थप सहित रहेको अन्तिम मिति २०७५ अगहन ३० गते रहेको छ अर्थात् तोकिएको समयमा पनि पुल निमार्ण सम्पन्न हुन सकेको छैन । राजविराज कमला सेक्टरको बलान पुलको लागि शर्मा पप्पु जेभीसंग गरिएको ठेक्का सम्झौता पनि सकिएको ९ महिना भईसकेको छ तरपनि पुल निर्माणको काम ६९ प्रतिशत मात्र भएको छ ।

२४ करोड ६२ लाख ८३ हजारमा भएको ठेक्का सम्झौता २०७५ भदौ १५ गते सम्पन्न गर्नुपर्ने रहेको थियो । नयाँरोड मधुवनी रोड सर्लाही अन्तरगतको गदहिया लच्का पुलको निमार्ण पनि अधरमा झुण्डिएको देखिएको छ । ३ करोड २६ लाख ८५ हजारमा देव एण्ड सायर कन्सट्रक्सनसंग ठेक्का सम्झौता गरिएको छ जुन २०७५ आसाढ ४ गते सम्पन्न गर्नुपर्ने रहेको थियो । सपहा खोला पुल ठेक्का सम्झौता समाप्त भइसक्दा पनि ६३ प्रतिशत मात्र काम सम्पन्न हुन सकेको छ ।

५ करोड ८४ लाख ४० हजारमा हरि जोशी रवि जेभीसंग गरिएको ठेक्का सम्झौता २०७५ पुस २४ गते सम्पन्न गर्नुपर्ने रहेको थियो । सोहि ठेक्का कम्पनीको बाँके पुलको काम पनि ठेक्का सम्झौता समाप्त भइसक्दा पनि प्रगति ६० प्रतिशत मात्र भएको देखिएको छ । ६ करोड ५४ लाख २८ हजारमा भएको सम्झौता २०७५ पुस २४ गते सम्पन्न गर्नुपर्ने रहेको थियो । धनकौल पुल र हर्कथवा पुलको ठेक्का सम्झौता समाप्त भएको वर्षौ वितिसक्दा पनि १ प्रतिशत समेत काम हुन सकेको छैन । दुवै पुलको ठेक्काको सम्झौता भैरव कन्स्ट्रक्सनको जिम्मामा रहेको छ ।

१ करोड १० लाख ३ हजारमा धनकौल पुल र १ करोड ९१ लाख ११ हजारमा हर्कथवा पुल निमार्ण गर्ने सम्झौता गरिएकोमा धनकौल पुलको निमार्ण सम्पन्न गर्नुपर्ने समय सीमा समाप्त भएको ३ वर्ष वितिसकेको छ भने हर्कथवा पुलको निमार्ण सम्पन्नको समयसीमा २ वर्ष वितिसकेको छ । त्यसैगरि गोफूधार खोला पुलको निमार्ण कार्य अहिलेसम्म ४ प्रतिशत मात्र भएको छ ।

२०७७ आषाढ २८ गतेसम्म सम्पन्न गर्नुपर्ने समय सीमा रहेको सो पुलको ठेक्का रोशन कन्स्ट्रक्सनले लिएको छ जसको ४ करोड ९४ लाख ८ हजारमा ठेक्का सम्झौता भएको थियो । त्यस्तै कल्यानदह खोला पुलको प्रगति पनि उस्तै रहेको छ । अहिले सम्म सो पुलको निमार्ण १६ प्रतिशत मात्र भएको छ । सूर्या विकास जेभीसंग ४ करोड ६४ लाख १० हजारमा गरिएको ठेक्का सम्झौता २०७६ फाल्गुन  २४ गते सम्पन्न गर्नुपर्ने रहेको छ ।

भारतीय सरकारको स्रोतबाट संचालित आयोजना पनि उस्तै

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका भारतीय सरकारको स्रोतबाट संचालित आयोजना अन्तरगत वीरेन्द्रवजार यदुकोहा महिनाथपुर सडकको सम्झौता रमन कन्स्ट्रक्सनसंग भएको छ । ३३ करोड ७५ लाख ७९ हजारमा भएको सम्झौता सम्पन्न भइसकेको अवस्था छ ।

यसै वर्षको वैशाख १ गते सम्पन्न गर्नुपर्नेमा अहिलेसम्म ८३ प्रतिशत मात्र काम सम्पन्न भएको छ । वीरेन्द्रवजार यदुकोहा महिनाथपुर सडकको पप्पु रोशन जेभीसंग ठेक्का सम्झौता भएको छ । ४२ करोड ६१ लाख ६१ हजारमा गरिएको सम्झौताको पनि समय सीमा समाप्त भइसकेको छ तर पनि काम अहिले पनि ३३.६९ प्रतिशत मात्र भएको छ । माइस्थान गौशालावजार सम्सी सडकको सम्झौता लामा डाफे गोल्डेन गुड्स जेभीसंग सम्झौता गरिएकोमा समयसीमा समाप्त भइसक्दा पनि ८३.५० प्रतिशत मात्र काम भएको छ । ६४ करोड ६१ लाख ८५ हजारमा गरिएको सम्झौता २०७५ फाल्गुन १ गते सम्पन्न गर्नुपर्ने सम्झौता गरिएको थियो । ७९ करोड ९५ लाख ९१ हजारमा शर्मा पप्पु रोशन जेभीसंग गरिएको जलेश्वर हर्दि सडक निमार्णको सम्झौता सम्पन्न भइसक्दा पनि २७.५० प्रतिशत मात्र काम भएको देखिएको छ । जनकपुरधाम यदुकोहा सडकको ३० करोड ३९ लाख १४ हजारमा दिवा निमार्ण सेवासंग ठेक्का सम्झौता गरिएको छ तर ठेक्काको समय सिमा सम्पन्न भइसकदा पनि काम ८० प्रतिशत मात्र भएको छ ।

हुलाकी राजमार्ग योजना कार्यालय जनकपुरधामका कार्यालय प्रमुख राजेन्द्रप्रसाद दासका अनुसार तोकिएको समय सीमाभित्र सडक तथा पुल निर्माण हुन नसक्नु अवरोध प्रमुख तत्व रहेको वताउँछन् । खास गरि ग्रामीण क्षेत्रमा निर्माण गरिएका घरहरु स्थानीयहरुले हटाउन नखोज्दा सडक निर्माणमा अवरोध हुन पुगेको र तोकिएको समयसीमा भित्र सडक निर्माण गर्न नसकिएको वताए ।

कार्यालय प्रमुखले जेजस्तो स्प्ष्टीकरण दिएपनि ठेकेदारको लापरवाही र देशभरि विभिन्न ठेक्का सम्झौतागर्ने र समयभित्र जनशक्ति उपलव्ध गराउन नसक्दा तोकिएको समयभित्र निमार्ण गर्न नसकिएको स्थानीयहरुको भनाई रहेको छ । सरकारले तोकिएको समयभित्र निर्माण सम्पन्न गर्न नसक्ने ठेकेदार कम्पनीसंग ठेक्का सम्झौता रद्ध गरि कारवाही गर्ने भनि भन्दै आएपनि हुलाकी राजमार्गको चार जिल्लाको यस किसिमको विवरण सरकारसंग उपलव्ध रहँदा पनि कारवाही गर्न नसक्नु दुखद रहेको अधिकांशको कथन रहेको छ ।