एस. राजपुत

वर्षः ०१ | अङ्कः ०८ | बैशाख २०७६

लुम्बिनी–गौतम बुद्धको जन्मस्थल । लुम्बिनीको सालोद्यानमा सिद्धार्थ गौतम बुद्धको जन्म भएको थियो । भगवान बुद्धको पवित्र जन्मस्थल भएकै कारण लुम्बिनी विश्वभरकता यात्रु एवं पर्यटकका लागि ठूलो एवं पवित्र धार्मिक तीर्थस्थल मानिएको छ । करिब २५ सय वर्ष अगाडि अर्थात इसापूर्व ६२३ वैशाख पूर्णिमामा कपिलवस्तुको शाक्य वंशका राजा शुद्धोदन र रानी मायादेवीको पहिलो सन्तानको रुपमा राजकुमार सिद्धार्थ (बुद्ध) को जन्म भएको थियो । तिलौराकोट दरबारबाट देवदह (माइती) जाँदै गर्दा मायादेवीले पुष्करिणी पोखरी छेउमा बालक सिद्धार्थलाई जन्म दिएकी थिइन् ।

नेपालको तराई क्षेत्र प्रदेश नं. ५ रुपन्देहीमा लुम्बिनी अवस्थित छ । यहाँ विविधताले भरिएको गजब कलाकृति, संस्कृति सहित परम्पराको धरोहर रहेको छ । सन् १९९७ मा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)द्वारा विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी शान्तिको लागि प्रसिद्ध स्थल समेत हो । लुम्बिनी गुरुयोजना अन्तर्गत ११ सय ५५ विगाहा अर्थात २.५६ वर्गकिमी क्षेत्रफलमा फैलिएको यस क्षेत्रमा अनेकौँ ऐतिहासिक धरोहर एवं मठ–मन्दिर, विहार, चैत्य, गुम्बा रहेका छन् । लुम्बिनीको पहिचान प्रथमपटक चर्चामा ल्याउने व्यक्ति सम्राट अशोक हुन् ।

इसापूर्व २४९ मा मौर्य सम्राट अशोकले लुम्बिनीमा बुद्ध जन्मस्थल भएको किटानसाथ अशोक स्तम्भ राखेका थिए । सन् १८९६ मा जंगल कटान गर्न पुगेका पाल्पाली जर्नेल खड्क शम्शेरका कामदारले अशोक स्तम्भ भेट्टाएका थिए । त्यसैगरी सन् १८९८ ताका जर्मन विद्वान तत्वान्वेषक डा. फुरर्रले लुम्बिनीमा अनुसन्धान गर्दा पाँच हरफमा लेखिएका ब्राम्ही लिपि, पाली भाषाका शिलालेखहरु फेला पारे । जसबाट अशोक राजा भएको २० वर्षपछि यस ठाउँमा धर्मयात्रामा आएको पुष्टि हुन्छ ।

आफ्नो सम्पूर्ण सुख, सयल र मोह त्यागेर शान्तिको खोजमा हिँडेका सिद्धार्थ अन्ततः बुद्ध भए । जसको अर्थ चेतनशील हुनु, ज्ञानी हुनु । आफैमा ब्युझिनु वा जाग्नु । सारा संसारलाई यही मूल मन्त्र बाँडेका बुद्धका कारण आज लुम्बिनी पवित्र स्थल बनेको छ । आन्तरिक र वाह्य पर्यटक समेतको आकर्षणको थलो लुम्बिनी घुम्न वा अवलोकन गर्नलाई अनगिन्ती ठाउँ छन् ।