वर्षः ०१ | अङ्गः ०८ | बैशाख २०७६
वर्ष २०७५ अनेकौँ उतार चढावकाबीच समापन हुँदै नयाँ वर्ष २०७६को शुभकामना । मुलुक र जनताका लागि पुनः केही नबीन र आशालाग्दो वर्ष । तर विगत वर्षलाई एकचोटि चियाएर हेर्दा लगभग निराशा एवं निरिहताको अवस्था । जनता मुलुक र सरकारबाट सकारात्मक एवं विकासको गतिको अपेक्षा गरेको वर्ष तर ठीक उल्टो परिणाम । वर्षभरि कुराको जालो फिजाएर प्रधानमन्त्रीले अल्झाउनसम्म अल्झाए भने सुन (३३ किलो) तस्करी, सिन्डिकेट अन्त्यको नाटक, मेलम्चीको पानी कहानी, इसाइ धर्म काण्ड, विप्लवको बम काण्ड, सडक दुर्घटना र मृत्यु तथा निर्मला हत्याकाण्ड जस्ता अनेकौँ घटनाका कारण शान्ति, सुरक्षा र समाजवादको घाटी नै रेटिएको देखिन्छ ।
संघ र प्रदेशबीचको बढ्दो दुरीसँगै केही मात्रामा केही सकारात्मक, सुधारात्मक कार्य पनि भएको हो । तथापि शक्तिशाली दुई तिहाई सहितको मजबुत सरकारको निकम्मापनका कारण मुलुकभित्र र बाहिर अनेकौँ सवाल नउब्जिएको होइन । शक्ति पृथकीकरण एवं सत्तालोभले राजनैतिक चेतनामा कमी आउनु स्वाभाविक हो भने जापान, कोरिया लगायतको रोजगारीको निहुँमा आफ्नै सक्षम र पौरखी हात विदेशिनुले कतै मानव तस्करको हामी ठूलै व्यापारी बन्ने त होइन ? राज्यको सामाजिक सद्भाव र रोजगारीको दूरदर्शी नीति नहुँदा आम मानिसले भोग्ने तनाव पनि बढ्दै गएको छ । यसै सन्दर्भमा भर्खरै वारा–पर्सामा आएको प्राकृतिक प्रकोपले पनि मुलुकलाई अर्को भूँमरीमा धकेलेको छ । नेपालको इतिहासमा पहिलो पटक ‘टोर्नाडो’ भुमरी सहितको हावाहुरी आएर सयौँ घर, व्यक्ति, जनावर, गाडी लगायत गाउँहरु ध्वस्त भए ।
यस्ता यस्ता अनेकौँ घटना, काण्ड र दुर्घटनामा बितेको वर्ष २०७५ भन्दा आउने वर्ष २०७६ साल सुखद, समृद्ध एवं आशलाग्दो होस् भन्ने शुभेच्छासहित जनता, सरकार र मुलुकको प्रगतिको शुभकामना ।