मुलुक डेस्क,
वर्षः ०१ | अङ्कः ०८ | बैशाख २०७६
कलर्स अफ चेञ्ज शीर्षकमा प्रस्तुत गरिएको चित्रकलाले वास्तविक जनजीवन र त्यसको प्रभावको सटीक चित्रण गरेको छ । कलाकार रञ्जु यादवद्वारा गरिएको यस एकल चित्रकला प्रदर्शनीले मैथिली जनजीवन, संस्कार, रीतिरिवाज र त्यससँग जोडिएको घरेलु एवं महिला सबलीकरणको यथार्थ तथा सजीव चित्रण गरिएको देखिन्छ । रंगहरुको उचित समायोजन, गहन र सूक्ष्म विश्लेषणका साथ उठान गरिएको व्यावहारिक विषय–वस्तुका कारण कलाकार यादवका चित्रकला वास्तवमै स्तरीय एवं सन्देशमूलक थिए ।
नेपाल कला परिषद्, बबरमहलमा चैत्र १६–२०सम्म प्रदर्शित उक्त चित्रकला हेर्न पूर्व प्रधानमन्त्रीदेखि कलापारखी लगायत सर्वसाधरणको उत्तिकै भीड लागेको देखिन्थ्यो । समाजको दैनिकी झल्कने यस्ता कलाले साँचो अर्थमा आगन्तुकहरुलाई आफू तर्फ आकर्षित गरिरहेको हुन्छ । समाजको कुरीति र कुसंगति, गलत परम्परा एवं विभेदको पाटोलाई जसरी कलाकार यादवले आफ्नो रंग र ढंग मार्फत प्रस्तुती दिईन् यथार्थमा सन्देशमूलक छ । भनिन्छ ‘कलालाई कलाकारले जन्म दिन्छ र दर्शक/समाजले हुर्काउँछ’ ठीक यस्तै किसिमको प्रस्तुति देख्न पाइयो यादवका “कलर्स अफ चेञ्ज” मार्फत । एकातिर विभेदको रंग पोतिएको थियो भने अर्कोतिर समाजको सत्यता जसमा परम्परागत संस्कार, रहन सहन र माधुर्यभावको मनछुने रंगहरु पोतिएको थियो ।