संजीव सिंह,
वर्ष १ । अङ्क ७ । चैत्र २०७५
स्वतन्त्र मधेस गठवन्धन नामक हवाइजहाज उडाउँदै मुलुकलाई दुर्घटना (टुक्रा)मा पार्ने रणनीतिका साथ उडान भरिरहेका पाइलट डा. चन्द्रकान्त (सी.के.) राउत अन्ततः मूलधारको राजनैतिक धावन मार्गमा सुरक्षीत अवतरण गरेका छन् । मुलुकबाट मधेसलाई अलगै राज्य बनाउने अभियानमा लागेका विद्वान डा. सीके आफ्नो आन्दोलनको ७ वर्षमै राष्ट्रिय अखण्डता, स्वाधीन र सार्वभौमसत्ता सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्र नेपालभित्र समाहित हुन पुगेका छन्।
गठवन्धनका नाइके सीके र सरकारबीच फाल्गुण २४, राष्ट्रिय सभा गृहमा ११ बुँदे सहमतिसँगै मधेस र मुलुकभित्र देखिएको उग्र अलगावबादको चर्चा शान्ति पूर्वक लोकतान्त्रिक धारमा मोडिएको छ । राज्य विरुद्धको गतिविधिको मुद्दामा विगत ५ महिनादेखि थुनामा रहेका सीके राउत सर्वोच्चको आदेशमा थुनामुक्त भएको २४ घण्टाभित्र राष्ट्रिय राजनीतिको मूलधारमा फर्किएका छन् ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री एवं नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल सहितको उपस्थितिमा आयोजित विशेष कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा र स्वतन्त्र मधेस गठवन्धनका संयोजक सीके राउतबीच ११ बुँदे सहमति भएको हो । सहमतिले सरकार र सीके दुबैलाई आ आफ्नो जीतको विगुल फुक्न मद्दत पुगेको छ ।
सीकेले सरकार स्वतन्त्र मधेसको विषयमा जनमत संग्रह गर्न सहमत भएको दावी गरेका छन् भने सरकारले विखण्डनवादी सोच रहेका क्याम्ब्रिजबाट पी.एच.डी. गरेका नासाको वैज्ञानिक राउतलाई मूलधारको राजनीतिमा ल्याएर मुलुकलाई भविष्यमा हुने दुर्घटनाबाट जोगाएको प्रष्ट पारेको छ ।
विशेषगरी सहमतिको दोस्रो बुँदामा तराई मधेसमा देखिएका असन्तुष्टिलाई “जन अभिमतमा आधारित लोकतान्त्रिक विधि” बाट समाधान गर्नेमा दुबै पक्ष लगायत अनेकौ राजनीतिक दल र नेताबाट यसको प्रष्ट जवाफको माग उठेको देखिन्छ । दुई अर्थी र आ आफ्नै किसिमले व्याख्या गरिएको यो बुँदाका कारण अहिले राष्ट्रिय राजनीति तरंगीत भएको छ भने मधेसमा तेस्रो र नयाँ शक्तिको रूपमा सीके राउतको उदय भएको छ ।
को हुन सिके ?

पृथकतावादी राजनीतिमा लागेका चन्द्रकान्त राउतले एक्कासी राजनीतिक धार परिवर्तन गरेका छन ।सप्तरीको महदेवा गाउँमा जन्मेका चन्द्रकान्तराउत अमेरिकाको रेथियन बीबीएन कम्पनीमा कार्यरत रहँदा सन् २०११ को अन्त्यतिर राजीनामा दिई नेपाल फर्किए ।
पुल्चोक क्याम्पसमा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक सकेपछि उनी एउटा इन्जिनियरिङ क्याम्पसमा विभागीय प्रमुखका रूपमा काम गरेका थिए । त्यसपछि उनी जापान सरकारको मोनबूशो स्कलरशिपमा अध्ययनका लागि जापान गए । जापानबाट फर्किएपछि सन् २००४ को अगस्तमा गेरू वस्त्र भिरेर भगवान् खोज्ने भन्दै उनी भारतको कलकत्ता, मद्रास, कन्याकुमारी, मदुरइ, बेंगलोर र रामेश्वरम् हुँदै साईबाबाको पुट्टपर्तीस्थित प्रशान्ति निलयमसम्म पुगेका थिए । जापानमा स्नातकोत्तर पूरा गरेपछि बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट उनले विद्यावारिधि पूरा गरे ।
पहिलो पटक इन्जिनियरिङ पढ्न काठमाडौँ आउँदा यहाँ ऋतिक रोशन काण्ड भएको थियो भने जापानबाट फर्कने क्रममा इराकको आतंकवादी संस्थाले नेपालीहरूको हत्या गरेपछि काठमाडौँमा दङ्का भड्किएको थियो । ती दुवै घटनामा मधेसी समुदायका केही व्यक्तिमाथि काठमाडौमा दूव्र्यवहार भएको थियो । त्यस पछि नै उनी मधेसीमाथि दमन गरिएको भन्दै मधेश आन्दोलनमा लागे ।सोही क्रममा उनीसहितको समूहले स्वतन्त्र मधेशको अर्को कुनै विकल्प नभएको निष्कर्ष निकाल्दै मधेश अधिकार एवं स्वतन्त्रता गठबन्धन स्थापना गरेका थिए । गठबन्धनको उद्देश्य नेपालबाट उपनिवेश र रंगभेदको अन्त्य, मधेशीको समुचित अधिकार, मधेशको स्वतन्त्रताको प्राप्ति र गणतान्त्रिक मधेशको स्थापना थियो ।
आफ्ना एजेण्डा स्थापित गर्नका लागि विवश्वान कुमार, आजाद र ईजोड आदि छद्म नामबाट उनले कैयौं लेख लेखेका छन् । विशेष गरी अमेरिकाबाट फर्किएपछि मधेशलाई नेपालबाट छुट्याएर अलग्गै देश बनाउन उनले अभियान शुरु गरे । उनका कतिपय विचार निकै उग्र थिए ।मधेश हाम्रो मातृभूमि हो, नेपाल होइन सम्मका विचार व्यक्त गर्न थालेपछि उनीमाथि पृथकतावादको आरोप समेत लगाइयो । मधेश स्वराज नामको पुस्तकमा उनले मधेशलाई नेपालबाट पूर्ण रूपमा अलग्याउनुपर्ने धारणा राखेका छन् । सोही पुस्तकमा उनले मधेशमा आÇनै सेना हुनुपर्ने तर्क पनि गरेका छन् ।