उपेन्द्र खनाल,

वर्षः ०१ | अङ्कः ०७ | फाल्गुन / चैत्र २०७५,

चार वेद अठार पुराणका रचयिता महर्षि वेदव्यासको प्रचारप्रसारका लागि तनहुँका शैक्षिक संस्थामा पाठ्यक्रम लगाइएको छ । व्यास नगरपालिका– २ को सत्यवती माध्यामिक विद्यालयले वेदव्यासको पढाई सुरु गरी औपचारिक थालनी गरिसकेको छ भने नगरभित्र रहेका अन्य पन्ध्र सामुदायिक विद्यालयले पनि लगत्तै सुरु गर्ने तयारी गरेको छ ।

चार वेद अठार पुराणका रचयिता महर्षि वेदव्यासको जन्म स्थान तनहुँमा व्यासको औपचारिक रूपमा पढाइ सुरु गरिएसँगै धार्मिक पर्यटनमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ । २८ औं अवतारका रूपमा मादी र सेती नदीको सङ्कम स्थलमा जन्मिएका व्यासको सत्यवती माविबाट औपचारिक रूपमा पढाइ सुरु गरिएको व्यासका अध्येता काशीनाथ न्यौपानेले बताए । ‘व्यासका आमा पनि सत्यवती नै हुन्, झन् सत्यवतीबाट नै पढाइको सुरुवात भएको छ, यो खुशीको कुरा हो, उनले भने ‘बालबालिकालाई पाठ्यक्रमले व्यासको जीवनीको बारेमा जानकारी पाउन सहयोग मिल्नेछ ।’

विद्यालयका प्रधानाध्यापक इन्द्र प्रसाद पौडेलले हप्ताको तीन दिन व्यासको पठनपाठन गरिने बताए । नगरपालिकाले यसै क्षेत्रमा जन्मिएका हिन्दु धर्मका मुल ग्रन्थका सर्जक महर्षि वेदव्यासका बारेमा नयाँ पिढीलाई जानकारी दिने उद्देश्यका साथ पाठ्यक्रम लागू गरेसँगै विद्यालयले पढाइ सुरु गरेको हो ।

नगर क्षेत्रमा रहेका प्लस टु पढाइ हुने विद्यालयमा वेदव्यासको अध्यापन गराउन लागिएसँगै विद्यार्थीहरू उत्साहित हुनुका साथै स्थानीयमा समेत उत्साह थपिएको छ । गत साउनमा व्यास नगरपालिकाले बैठक गरी विद्यार्थीलाई व्यासको जानकारी गराउने उद्देश्यले पाठ्यक्रम लागू गर्ने निर्णय बमोजिम विद्यालयमा व्यासको पढाइ सञ्चालनमा ल्याइएको हो ।

व्यासका अध्येता न्यौपानेले तयार पारेको किताब अहिले नगरमा रहेका सामुदायिक र निजि प्लस टु कलेजमा पढाइने भएको छ । किताव पहिलो चरणमा कक्षा ११ मा लागू हुने गरी तयार पारिएको छ भने अर्को वर्षदेखि १२ कक्षामा सुरु गरिने बताइएको छ ।

हाल कक्षा ११ को अध्यापन हुने सामुदायिक विद्यालयमा व्यासको पढाई सुरु गर्नको लागि पुस्तक पठाइसकिएको नगरपालिकाले जनाएको छ । नीजि विद्यालयको लागि पनि तयारी भैरहेको छ । यस क्षेत्रको प्रचारप्रसारमा थप टेवा पु¥याउने उदेश्यका साथ विद्यालय तहमा नै पाठ्यक्रम लागू गराउन थालिएको हो ।

कक्षा ११ मा अध्ययनरत विद्यार्थी विकास रानाभाटले वेदव्यासको पढाइले उनको जीवनीको बारेमा बुझ्ने अवसर पाएको बताए । पाठ्यपुस्तकमा व्यास जन्मभूमिको महत्व, जन्म, सृजना गरेका ग्रन्थ, लगायत विभिन्न व्यासको बारेमा समेटिएका तथ्यहरू राखिएको छ । व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले विद्यालयमा व्यासको पढाइ सुरु गरिएपछि बालबालिकाले व्यासको बारेमा जान्ने र बुझ्ने अवसर पाएको बताए । ‘पाठ्यक्रमले व्यासलाई चिनाउन थप सहयोग पुग्नेछ, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *