शर्मिला बन्जारा,

वर्षः ०१ | अङ्क: ०७ | फाल्गुन – चैत्र २०७५

एउटा वाक्य काफी थियो; आमाको सास रोकिन अनि बुबा जिउँदो लाश हुनु । लेखिएको थियो म अब कहिले फर्कने छैन । कानमा धुन बज्छ एकहोरो शंख फुकेझै त्यो कहालीलाग्दो दृश्य दुःखद क्षण, भारी रोदन न आमाले सहन सक्छिन् न बुबाले बेहोर्न नै ।

अस्तव्यस्त कोठा, झुण्डिएको शरीर, गाँठो परेको डोरी, खुम्चिएको ओछ्यानमा लडिरहेको एक पाना कागजको टुक्रो (चिठ्ठी); एउटा वियोगान्त कथा र अमूर्त अवस्था । मेटिने त उसको नाम हो, अस्तित्व हो, तर यहाँ त उजाडिएको छ; उसकी आमाको काख अनी बुबाको संसार । बन्न नपाई भत्किएको संसार । अस्तव्यस्त कोठाको त्यो माहोल, कठैबरा ! कसैले नभनी । कोठा जस्तै उसको जिन्दगी !

उस्तै नहुँदो हो त ऊ ढल्ने थिएन, आमा लड्ने थिइनन् अनि बुबा ? उनले पुर्पुरोमा हात लगाउनु पर्ने थिएन ।

उदासी जिन्दगी, थकावट उस्तै । निरिह शरीर, कक्रिएको मन । जिन्दगीलाई कता डोराउने भन्ने विचार नहुनु अनि रोकिन्नु । आउँदा जाँदा भेटिने बटुवाहरूलाई टाउको मोडेर हिँडिदिनु; ऊ पनि हिँडिदियो विरानो बाटोमा, एक मुठ्ठी सास लुटाउन ।

लत्रिएको डोरी अनि झुण्डिएको शरीर । अड्किएको आवाज पनि शुसुप्त जिन्दगी । उसले सदाको लागि त्याग गर्यो; आफ्नो शरीर, उमेर, इच्छा, प्रेम, वासना, संसार, मोह सबै । केका लागि ?

एक पन्ना चिठ्ठीमा ऊ प्रतिबिम्वित हुँदैन । आवेगमा चालिएको कदम अनि क्षणभरमा कोरिएको चिठ्ठिले उसको जिन्दगी परिभाषित गर्दैन, उसको खुलासा गर्दैन, उसलाई बुझ्न सकिदैन; त्यो मात्र दुर्घटना हो, क्षणभरको वा सधैभरिको । खोक्रो लास माथि फोस्रा आँखा गाड्न हुल बाँधेर आइपुग्छन् वटुवाहरू । एकएक गरि ओकलिन्छ टिप्पणीहरू अनि टाँसिन्छ न्यायका खम्बाहरूमा ।

झुण्डिएर मर्नेलाई कठै चै भन्न सकिन्न, गाँठो परेर उभिएका महिलाहरू मध्येबाट आवाज उछिटिन्छ ।

बाबु ! आफू मरिस्, आमा बुबालाई पनि जिउँदै मारिस । छिमेकी काका भावुक हुन्छन् ।

अर्को हुल प्रकट गर्छ, “यो उमेरमा छोरोको शोक बोकेर बाच्नै पर्ने भो ! कठै ती आमा”

उसै गरी अर्को हुल एक वाक्यमा छिनोफानो गर्छ, “केटीको कारण हुन सक्छ ।”

न्यायालय! हरेकभित्र न्यायाधीश लुकेको छ ।

केही अलमलमा छन्, “आखिर झुण्डियो किन ?”

दोषी को हो ? थकावटले ग्रस्त स्वयं, टाउको वटार्ने समाज, मूकदर्शक, एकहोरो सरकार या सिङ्गो राष्ट्र ?

उदासीनताले शरीर मिच्दै छ, जिन्दगी थिच्दै छ । ऊ आशाहीन छ,आफैलाई मार्न तम्सिरहेछ ।

एकहोरो सडकमा हिँड्दै गर्दा ऊ बोल्न सक्दैन ! फोस्रा आँखाहरू यत्रतत्र लालायीत छन् ।

शायद ! फेरि उसको पनि कसैलाई ख्याल वा हेक्का भैदिए, उसले कुरा खोल्न सक्ने भैदिए, आफ्नो कुरा सुन्ने अनि सुनाउने भैदिए, ऊ झुण्डिने थिएन, आमा लड्ने थिइनन्, बुबाले चोट खप्ने थिएनन् अनि समाज ? समाजले एउटा पात्र गुमाउने थिएन ।

एक पङ्क्तिमा उसको जिन्दगी रित्तियो । सम्झिनेले उसको जिन्दगी उही पङ्क्तिलाई आधार बनाई व्याख्या गर्ने छ, बिर्सनेले अब फेरि कहिल्यै सम्झने छैन । जे थियो उसको जिन्दगी, ऊ आफैले बिदाई गर्यो, जे थिएन त्यो त हुने नै भएन ।

शायद ! शायद सबै सचेत भैदिएको भए, मानसिक स्वास्थ्यबारे जागरुकता छाइदिएको भए, फेरि कोही मर्ने थिएन, कठै विचराको पात्र हुने थिएन, दयाको आदरार्थी शब्द प्रयोग हुने थिएन, कसैको आमा लड्ने थिइनन्, आफन्तलाई चोट पुग्ने थिएन, माया गर्नेलाई पीर पर्ने थिएन, कोही मलामी कुद्ने थिएन । मित्रको वियोगमा फेरि फेरि आत्महत्याका अक्षरहरू एक टुक्रा कागजमा कोरिने थिएन ।