संजीव सिंह,

वर्षः ०१  | अङ्कः ०७ | फाल्गुन – चैत्र २०७५

नेवा कला र संंस्कृतिलाई चित्रकलामार्फत संरक्षण गर्दै

अजय देसार

मानवीय सोच सधै सकारात्मक हुनुपर्दछ र त्यसै अनुरूप आफ्नो संस्कार, संस्कृति र परंपरालाई जर्गेना गर्दै आधुनिकताको भीडमा आफूलाई र आफ्नोपनलाई जोडाउँदै प्रस्तुत हुनु पर्ने मान्यताका साथ चित्रकार अजय देसारको आठौँ एकल चित्रकला प्रदर्शनी सकिएको छ । पाटन संग्रहालयमा एल्युरिङ डिभाइन शिर्षकमा प्रदर्शित देसारका प्रदर्शनीमा नेवा कला र संस्कृतिको गहन र लोप हुन लागगेको पाटोहरूलाई रंगको मार्फत क्यानभासमा प्रभावकारी तवरले गाढा र कडा रूपमा प्रस्तुत गरिएको देखिन्छ ।

योंग पिकासोको पहलमा १५ दिनसम्म प्रदर्शित उक्त प्रदर्शनीमा हाम्रै छेउछाउ रहेको महत्वपूर्ण पात्र तथा पहिरन लगायत, वे वास्ता वा लोप हुन लागेको विषय र वस्तुलाई प्राथमिकताको साथ प्रस्तुत गरिएको थियो । एउटा सानो खुशीको क्षणले पनि अनेकौँ दुःख र पिडालाई बिर्साउन मद्दत पु¥याउँछ भन्ने सन्देश दिन खोजेका चीत्रकार देसारको वीस थान सिर्जनाहरू प्रदर्शनमा राखिएका थिए । रंगले मानवको रोम रोम तरंगित बनाउँदछ, अझ त्यही विविध रंग मार्फत प्रस्तुत गरिएको सन्देशले त झनै मार्मीक तुल्याउँछ । आफ्नो प्रत्येक पेन्टिङ्कमा कला संस्कृति, पात्र र तन्त्रको बेजोड नमुना रहेको दावी गर्छन कलाकार देसार । ललितपुरको चापागाँउ निवासी देसार लण्डनबाट फाइन आर्टस्मा विशेषज्ञता हासिल गरेका हुन् । उपत्यकामा हुने जात्राको अनेकौ रंग रूपलाई आफ्नो कलाकृतिमार्फत सन्देशमूलक संवाहक बनेका छन् । उपत्यकामा हुने यस्तै जात्राको अनेकौँ दृश्यलाई गहिरो रंगमा कैद गर्दै क्यानभासमा उत्कृष्टता पोख्न सफल भएका छन् ।

हिरो बिहाइण्ड द सिन र हिरो अफ द जात्रा मार्फत चीलाग (चिराग वा आगो) बोक्ने व्यक्तिको कथा होस् वा भैरवको जात्रामा घ्याम्पो जाँड राख्ने चलनको सुन्दर तस्वीर – सबैमा रंगको उत्कृष्ट समायोजन, सन्देश र समाजको सजीव चित्रण एवं संगम रहेको देखिन्छ । कपडा र ढुंगाको स्लेटमा अंकित उनको चित्रकलाले भूकम्प पछिका विनाश भएका तोरण र टुँडाल समेतको आकृतिलाई हुबहु उतारेको देख्न सकिन्छ ।

आफ्नो चित्रकलामार्फत मुलुकको गुम्न लागेको पहिचान, सभ्यता र संपदा जोगाउन जीवनभर लागि रहने अठोटका साथ युवा चित्रकार देसार राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायसम्म पुग्ने लक्ष्य एवं अठोट राखेका छन् । तन्त्र, संस्कार र सत्यलाई विभिन्न रंगहरूको समायोजनका साथ बहुआयामिक प्रस्तुति दिन सफल देसारका कला वास्तवमै मन छुने खालका छन् । उनको कलामा हरिसिद्धि जात्रा, दशैमा मन्दिर अगाडि बालिने बति, तिहारमा देउसी भैलोको प्रस्तुति आदि लगायत कुष्ठरोग लागेको व्यक्तिको उपचार पनि घरमै आम व्यक्ति सरह राखेर गरौँ जस्ता सामाजिक सन्देशमूलक अभिव्यक्ति रहेको पाइन्छ । सालभाञ्जिका, एनसियन्ट डिभाइन लगायत थुप्रै पेन्टिंग प्रदर्शनीमा रहेको देसारको प्रदर्शनीमा देशभन्दा बढी विदेशी दर्शकको ओइरो लागेको देखिन्थ्यो ।