जयन्ती गौतम,

वर्षः ०१ | अङ्कः ०६ | माघ २०७५

योगको बारेमा आजभोलि निकै चर्चापरिचर्चा सुनिन्छ । विभिन्न पत्रपत्रिकामा योयसम्बन्धी लेखहरू निस्कने गरेका छन् । जुन २१ लाई हामीहरू अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउँछौ भने माघ १ लाई राष्ट्रिय योग दिवसका रूपमा मनाउँछौ । विभिन्न संघसंस्था, गुरुहरू, प्रशिक्षकहरू पनि योगमय जीवन अवलम्वनका लागि अभिप्रेरित गर्ने कार्यमा लागेको पाइन्छ । कतिपय ठाउँमा विहानविहान मानिसहरू जम्मा भएर योग अपरिहार्य छ भन्ने बोध भएको छ । यो अत्यन्तै सकारात्मक कुरा हो तापनि व्यायाम–योगासनलाई मात्र योग ठान्ने, समय अभावले योग आवश्यक छैन भन्ने जस्ता भ्रम पनि हामीमाझ नभएका होइनन् ।

योग के हो भन्ने विषयमा फरक–फरक मान्यताहरू पाइन्छन् । योगका बारेमा जे–जस्ता मान्यताहरू भए तापनि यो ऋषि परम्परा हो । योगबाट पूर्ण (शारीरिक, मानसिक र भावनात्मक) स्वास्थ्य जन्मन्छ । योगको परम् लक्ष्य भनेको आत्माको परात्मासँगको मिलन नै हो । तर पनि समय सापेक्ष रूपमा योग शब्दको परिभाषामा सार्थकता खोजिएको पाइन्छ । एउटा समय थियो योगलाई केवल आध्यात्मिक रूपमा मात्र परिभाषित गरिन्थ्यो । कहिले योगले धर्मको अङ्ग बनेर मानिसलाई संस्कारी बनायो त कहिले मनुष्यताको पाठ सिकाएर सामाजिक रूपमा कर्तव्यनिष्ठ बनायो । अहिले योगलाई आरोग्य प्रदायकका पद्धति  रूपमा लिइएको छ । यो औषधीका रूपमा स्थापित हुदैँछ । साँच्चै भन्नु पर्दा योग त समग्र जीवन शैलीका रूपमा स्थापित हुनुपर्छ, हुने पनि छ ।

योग भनेको जोड हो । वास्तवमा कर्ममा मनलाई जोड्नु, होसलाई जोड्नु वा आफ्नो सजगतालाई जोड्नुु नै योग हो । जे काम गरिदै छ त्यसप्रति सजग हुनु नै योग हो । हामी जे काम गछौँ त्यसैप्रति सजग भयौँ भने कर्मबाट आनन्द प्राप्त हुन्छ अर्थात् कर्म गरेपछिको उपलब्धीमा होइन काम गर्दागर्दै आनन्दित हुन्छौं । आनन्दका साथ गरेको कर्ममा सफलता र शान्ति मिल्छ आनन्दित हुन्छौं । आनन्दका साथ गरेको कर्ममा सफलता र शान्ति मिल्छ अनि समृद्धिको ढोका खुल्छ । जसका लागि आफ्नो कर्म नै योग बन्दछ । उसको जीवन नै बैकुण्ठ बनिदिन्छ । वैकुण्ठ भनेको कुण्ठ रहित स्थिति हो । जहाँ कुनै गुनासो रहँदैन । विचारको सङ्कुचन हुँदैन् । योगीका सामु गुनासा, आग्रहपूर्वाग्रह, स्वार्थ, अकर्मन्यता, वैचारिक दरिद्रता, असहजता, अव्यवस्थितता जस्ता नकारात्मक प्रवृतिहरू टिकिरहन सक्दैनन् । उसले शरीरका स्वास्थता–स्फूर्ति, मनका विशालता–निस्वार्थता, व्यवहारका शालीनता, व्यवस्थित भद्रता, वाणीका मधुरता शुद्धता आदि विभिन्न गुणहरूलाई आचरणगत रूपमा प्रस्तुत गरिरहेको हुन्छ । जसले योग गर्ने कला जान्यो, ऊ वर्तमान क्षणमा नै स्वर्गीय आनन्दमा बाँचिरहेको हुन्छ ।

हाम्रा स्वाभावजन्य कर्मसँग होस् जोडिदा कर्मयोग बन्दछ । होस, भोग वा स्वादसँग जोडिदा तन्त्रयोग भइदिन्छ । त्यसैले त वास्तविक तन्त्रयोगीहरू होसको अभ्यासका लागि नशाको प्रयोग गर्दछन् । होस श्वासमा जोड्दा हठयोग बन्दछ जसमा सत्य, निष्ठा र वीरताको जन्म हुन्छ । होस वा ध्यान प्रेममा लाग्दा भक्तियोग बनिदिन्छ । व्यक्ति श्रद्धा, सेवा र करुणाले भरिन्छ । थाहा पाउने क्षमता व्यक्ति आफै तर्फ फर्किदा विवेकको जन्म हुन्छ, ज्ञानयोग घटित हुन्छ । व्यक्ति दृढ संकल्पवान बने ध्यानयोग बढ्दछ भने जानेवालाप्रति सजग हुनु वा होसपूर्ण रहनु अर्थात् होसप्रति नै होस टिकाउनु शाङ्ख्य योग हो । यहाँ व्यक्तिले आफूलाई कर्ताका रूपमा होइन साक्षी चेतनाका रूपमा बोध गर्दछ । यसरी हाम्रो मन वा ध्यान वा होस वा सजगता वा थाहा पाउने क्षमता जेसँग जोडिन्छ त्यहीँ नै योग घटित भइदिन्छ । जेमा होस जोडियो त्यही सप्रिन्छ, त्यही बढ्छन् । त्यसैले हामीले हाम्रो थाहा पाउने क्षमता वा होसलाई कहाँ लगाउने भन्ने थाहा पाउने क्षमता वा होसलाई कहाँ लगाउने भन्ने आफै तय गर्नुपर्छ, जान्नु पर्छ ।

आफूले चाहेको ठाउँमा होस लगाउने अभ्यास पनि गर्नपर्छ । योग कुनै वौद्धिक विलासको विषय नभएकाले यसका बारेमा हामीहरू जे–जति सूचना प्राप्त गरे पनि यसबाट प्राप्त गर्न खोजेको उपलब्धी हासिल गर्न सक्दैनौँ । यो त साधना वा अभ्यासका माध्यमबाट व्यक्ति स्वयम्मा घटित हुनु ज्ञान हो । गन्तव्य जति टाढा भए पनि जसले पाइला चाल्दछ, ऊ त्यहाँसम्म पुग्ने सम्भावना रहन्छ तर एक पाइलै नचाली बाटोको बारेमा मात्र चर्चा गर्नेले जति दौड लगाउन सक्ने भए पनि गन्तव्य भेट्दै भेट्दैन । यसैले हामी योगका बारेमा अध्ययन गरेर मात्र पुग्दैन । आजैबाट योगको  अभ्यास गर्न थाल्नु पर्दछ । 

निष्कर्ष

पहिलो सिढीँबाट नै नियाल्दा कर्म र होसको जोड नै योग रहेछ भन्ने ज्ञान हामीलाई भयो । हामीले चाहेको ठाँउमा ध्यानलाई टिकाउन सक्यौँ भने हामी स्वस्थ र शान्त जीवन व्यतित गर्न सक्ने रहेछौं । तर हामी कर्म वर्तमान क्षणमा गर्दछौं भने मन (होस) भूत वा भविष्यतर्फ दौडिरहेको हुन्छ, हामीलाई पतै हुँदैन । त्यसैल  प्रत्येक  कर्मलाई  सजगतापूर्वक गर्न गाह्रो पर्दछ किनभने बेहोसीमा कर्म गर्ने बानी हामीलाई परेको छ । त्यसैले योगको अभ्यासका लागि विधिलाई र मार्गदर्शको आवश्यकता हामीलाई पर्दछ ताकि विधिलाई सही तरिकाले प्रयोग गर्न सकियोस् र चाहेजति उपलब्धि हाँसिल पनि होस् । यस विषयका ज्ञाता वा गुरुहरूका साथ सामूहिक रूपमा योग अभ्यास गर्न नसकिने वा नहुने चाहीँ होइन । योग गर्न उमेर र समयको पनि सीमा छैन् । जुन उमेर समूहको व्यक्तिले पनि घरमा एक्लै बसेर उपयुक्त समय मिलाई योगको अभ्यास गर्ने र लाभ उठाउन सक्छ ।

मनलाई टिकाउने छोटो अभ्यासः

मेरुदण्ड सिधा गरेर सजिलोसँग पलेटी कसेर बसौँ । दुवै हातका चोरी औँला र बुढी औँलाका टुप्पालाई एकआपसमा जोडौँ अनि काखमा राखौँ । अब आफ्ना दुवै आँखालाई विस्तारै बन्द गरौँ  अनि सङ्कल्प गरौँ कि अब १५ मिनेटसम्म म मेरो शरीरलाई कुनै हालतमा चलाउने छैन्, हल्लाउने छैन् र आँखा पनि खोल्ने छैन । सजग बनौँ पूरै ध्यान आफूतिर दिऔँ । आफू बसेको आसनमा ध्यान दिऔँ । जमिनले आफूलाई आधार दिएको छ थाहा पाऔँ । धर्तिको स्पर्श थाहा पाऔँ । मूर्तिजस्तै स्थीर रहेको आफ्नो शरीरमा ध्यान दिऔँ । आइरहेको गइरहेको श्वासमा ध्यान दिऔँ । श्वास आफै आएको छ गएको छ थाहा पाऔँ । अब आफ्नो श्वासलाई लामो र गहिरो बनाऔँ । बाहिर फैलिरहेको फूलको सुगन्धलाई आफूभित्र पसाए जस्तै अत्यन्तै विस्तारै पुरै श्वास भरौँ र पुरै श्वास छोड्दौँ । यो क्रियालाई २१ पटकसम्म दोहोर्याऔं । यसो गरिरहँदा मन भाग्यो भागेन थाहा पाऔँ । थाहा पाउनसाथ मन श्वासमा जोडिइहाल्छ ।  अब श्वासलाई सामान्य हुन दिऔँ । आफ्नो शरीरमा ध्यान दिऔँ, धर्तिको स्पर्श थाहा पाऔँ । अब आफ्ना हातका हत्केलालाई आपसमा घोटौँ, तातो हातले आँखालाई सेकौँ । विस्तारै हत्केलालाई हेर्दाहेर्दै आँखा खोलौँ ।योगका लागि अनुुशासन, संकल्प र निरन्तरको अभ्यास अपरिहार्य छ । २१ दिनसम्म यस क्रियालाई निरन्तर अभ्यास गर्यौ भने आउने परिणाम आफै महसुस गर्ने छौँ ।