वर्षः ०१ | अङ्कः ०६ | माघ २०७५

सामाजिक र स्वास्थ क्षेत्रमा कार्य गर्दै आएको नेपाल क्यान्सर सहयोग समूहको ‘सुदिप्त’ इकाइद्वारा आयोजित सुदिप्त क्यान्सर सर्भाइभर र्याम्प शो पौष २७ गते पृथ्वी जयन्तीको अवसरमा ललितपुरमा सम्पन्न भयो । २५ जना फरक समूह र उमेरका क्यान्सर संघर्षरतद्वारा प्रस्तुत गरिएको उक्त शोमा विभिन्न जातीय समूह झल्किने विशेष पहिरणकासाथ र्याम्पमा हिडेका थिए ।

नेपालमा प्रथमपटक गरिएको यस्तो प्रदर्शनीले क्यान्सर संघर्षरत विरामीलाई आफूमा ऊर्जा र साहस थपिएको बताउँछन् । जीवनलाई सही र उंमगकासाथ बाँच्नु पर्दछ भन्ने संकेत गराउँदै “नेपालीको क्यान्सर नेपालमा नै सम्भव” छ भन्ने संकेततर्फ आयोजना समितिका अध्यक्ष डा. सुदिप श्रेष्ठले व्यक्त गरे । क्यान्सर संघर्षरतसँगै एनसीएचआरसीपीका प्रमुख डाक्टरहरू, सेलिब्रेटीहरू लगायत आगन्तुक भीआइपीले पनि र्याम्पमा हिँडेका थिए ।

क्यान्सरका विरामीहरू पनि आफूलाई सहज र सफलतापूर्वक आफ्नो जीवनशैलीमा हाँस्न, बाँच्न र नैतिक एवं पारिवारिक जिम्मेवारी बहन गर्न सक्दछ भन्ने अभिप्राय बोध गराउन यस्ता कार्यक्रमले मद्दत पुग्ने आयोजकको दावी रहेको छ । कार्यक्रमको उद्घाटन प्रसिद्ध हाँस्यव्य· जोडी मदनकृष्ण श्रेष्ठ र हरीवंश आचार्यले गरेका थिए । सयौँ दर्शक एवं अतिथीबीच सम्पन्न उक्त कार्यक्रममा कुटनीतिज्ञलगायत मिस नेपाल शृंखला खतिवडाको पनि उपस्थिति रहेको थियो ।