वर्षः ०१ | अङ्कः ०६ | माघ २०७५

नेपाली कलामा मिथिला कलाको विशिष्ट महत्व रहँदै आएको छ । मौलिक तथा सामाजिक विषयवस्तुले नै यसको ऐतिहासिकतालाई विश्वमाझ चिनाएको छ । यसै अन्तर्गत ‘मिथिला कस्मस सङ्गज् अफ इन्नोसेन्स एण्ड इक्सपेरिएन्स’ (Mithila Cosmos Songs of Innocence and Experience) शीर्षकमा कलाकार एससी सुमनको एकल प्रर्दशनी हुँदैछ । बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा हुन लागेको यो प्रर्दशनी कलाकार सुमनको १६औं एकल प्रदर्शनी हो । प्रदर्शनी  २३ जनवरी २०१९ देखि सुरु भई २० फेब्रुवरी २०१९ सम्म जारी रहने छ ।

नेपाली मिथिला कलामा नेपालका मौलिक विषयलाई समेटेर कलाकार सुमनले चित्र बनाउँदै आएका छन् । प्रर्दशनीका लागि तयार पारिएका कलाकृतिको विषयवस्तु नेपालको सामाजिक, सांस्कृतिक, धार्मिक, प्राकृतिक तथा ऐतिहासिक विषयमा बनाइएका मिथिला शैलीका कलाकृति रहनेछन् । चारदशकदेखि कलाकार सुमनले भोगेका विषयसमेत कलाका मुख्य थिमका रूपमा रहेका छन् । कलाकार सुमनले पहिलो पटक राजधानी प्रवेश (भ्रमण) तथा राजधानीमा बसोबास गरेदेखि हालसम्मको निरन्तर बसाइमा भोगेका विषयलाई आफ्नो चित्रको माध्यमबाट जनसमक्ष ल्याएका हुन् ।

यस प्रर्दशनीमार्फत कलाकार सुमनले उहिल्यैको पशुपति, कीर्तिपुर तथा आजको पशुपति, कीर्तिपुर, गुहेश्वरी, बिष्णुमति घाट, आर्यघाटको सेरोफेरो, स्वयम्भुको सेरोफेरो लगायतका कयानभासमा उधिनेका छन् । माधुर्यभाव, लटपटुवा सुगा, गौतम बुद्ध, सामूहिक बसोबास, निजगढको जड्डलमा हात्ती तथा हवाइजहाज जस्ता शीर्षकका चित्रहरू प्रदर्शनीमा राखिने छ । जसमा एक्रिलिक माध्यम, प्राकृतिक रड्ड, मिक्स मिडिया माध्यमबाट नेपाली लोक्ता कागज तथा आर्ट पेपर प्रयोग गरिएको छ ।