सुजीतकुमार झा,
वर्षः ०१ | अङ्कः ०५ | पौष २०७५
रेल कहिलेदेखि चल्ने असमञ्जसता कायमै
रामजानकी विवाहपञ्चमीदेखि नै जनकपुरधाम जयनगर रेल चलाउने तयारी गरिएपनि अहिलेसम्म नेपाल रेल्वेले तिथि तय नगरेपछि स्थानीयवासी निराश देखिएका छन् । विवाहपञ्चमीकै बेला सयो यात्री जनकपुरधाम र जयनगर रेल्वे स्टेशनमा पुगेर रेल कहिलेदेखि चल्छ सोधेका थिए । अहिलेपनि दिनहुँ दर्जनौ व्यक्ति रेल संचालनको सम्बन्धमा सोध्ने गरेको कर्मचारीहरू बताउँछन् ।
नेपाल रेल्वेले अहिलेसम्म कुन इन्जिनले रेल चलाउने र इन्जिन एवं बोगी कसरी ल्याउने त्यसको पनि निर्णय गर्न सकेको छैन। प्राविधिकहरूले दुईवटा इन्जिन र १२ वटा बोगी रेल चलाउन तत्काल आवश्यक रहेको सुझाव दिएपनि इन्जिन किन्ने वा भारत सरकारसंग सहयोग लिने त्यसको पनि नेपाल सरकारले निर्णय गर्न सकेको छैन ।
जयनगरदेखि बर्दिवाससम्म रेल चलाउन भारत सरकारले ५ सय ३८ करोड सहयोग गर्ने सम्झौता भएको छ । सो सम्झौतामा इन्जिन र बोगी सम्बन्धि कुनै निर्णय नरहेको नेपाल रेल्वेले जनाएको छ । सरकार स्वंय रेल चलाउन जती गम्भीर हुनुपर्ने त्यो नभएको कारण यस्तो अवस्था भएको समाजसेवी अमरचन्द्र अनिल बताउनुहुन्छ ।
प्रदेश सांसद रामअशिष यादवले रेल संचालनमा कहाँ रुकावट रहेको नेपाल रेल्वेले सार्वजनिक नगर्नु दुःखद रहेको बताउनुभयो । उहाँले रेल इन्जिन किनेर तत्काल रेल सेवा चालु गर्न माग गर्नु भएको छ ।
जनकपुरधाम रेल्वे स्टेशनमा पुगेर सांसद यादवले रेल लिक र स्टेशन निर्माणको सम्बन्धमा जानकारी लिएका छन् । कहिलेदेखि रेल संचालनमा आउने हो त्यसको निर्णय विभागले नै गर्ने भएकाले अहिले केही भन्न नसकिने नेपाल रेल्वेका साइट प्रमुख विनोद ओझाले बताएका छन् ।
भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३५ किलोमिटर रेल चलाउनका लागि लिक तथा स्टेशन निर्माणको कार्य एक साता भित्रै सकिने रेल्वेका कर्मचारीहरू बताउँछन् । पहिलो चरणमा जयनगर–जनकपुरधाम–कुर्था ३५ किलोमिटरको रेल सेवा सञ्चालन गर्ने तयारी दुवै देशका प्राविधिकले गरेका छन् । दोस्रो चरणमा कुर्था–भंगहा १७ किलोमिटर तथा तेस्रो चरणमा भंगहा–बर्दिबास १७ किलोमिटर गरी कुल ६९ किलोमिटर लामो रेल विस्तार आगामी ३ वर्ष भित्र पूरा गर्ने लक्ष्य लिइएको छ । नेपाल रेल्वेका साइट प्रमुख ओझाका अनुसार दोस्रो चरणका कुर्था भंगहा सडकको माटो पुर्ने कार्य सकि सकेको छ भने पुल र कल्भर्ट निर्माण कार्य युद्धस्तरमा भईरहेको छ ।
१९९४ सालमा तत्कालीन इष्ट इण्डिया कम्पनीले महोत्तरीको बिजलपुरा जंगलबाट साखुको गोलियाकाठ ओसार्न निर्माण गरेको जनकपुर रेल्वे महोत्तरीको बिजुलपुराबाट भारतको जयनगरसम्म (५२ किमि) सञ्चालनमा थियो । तर, २०५९ सालमा आएको बाढीबाट विग्ही पुल क्षतिग्रस्त भए यता रेल सेवा जनकपुरदेखि जयनगर (२९ किमि) मा सीमित हुन पुगेको थियो । आउने दिनमा प्रस्तावित रेल विस्तार तथा स्तरोन्नति परियोजना रेलसेवा पूर्व–पश्चिम राजमार्गको बर्दिबाससम्म विस्तार गर्ने योजना रहेको छ ।