एस. राजपुत,
वर्षः ०१ | अङ्कः ०४ | मंसिर २०७५
सुन्दर, सफा र जंगल सफारीका लागि नेपालमा मात्र नभई विश्वसामु प्रसिद्ध ठाउँ हो – सौराहा, चितवन । तराईको विशाल एवं हरिया फाँटमा अवस्थित सौराहा काठमाण्डौ र पोखरापछि नेपालमा सबैभन्दा बढी महत्त्वपूर्ण पर्यटकीय स्थल हो । हाल प्रदेश नं. ३ अन्तर्गत चितवन जिल्लाको रत्ननगरमा पर्ने आकर्षक पर्यटकीय स्थल हो – सौराहा । राप्ती नदी र चितवन राष्ट्रिय निकुञ्जको नजिक रहेको सौराहा नजिकको प्रसिद्ध शहरहरू टाँडी र नारायणगढ हो ।
जंगलको मनोरम र हराभरा दृश्यावलोकनका लागि प्रसिद्ध सौराहा हात्तीको लागि पनि प्रसिद्ध छ । नेपालको पहिलो राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज यहाँको प्रमुख गन्तव्यस्थल हो । प्राकृतिक सौन्दर्यले भरिएको यस ठाउँमा जैविक विविधता, अनेकौँ प्रजातिका चराचुरुङ्गी एवं वन्यजन्तुहरूको अपार सँगम रहेको पाइन्छ । काठमाडौँ देखि १६० किमिको दुरीमा अवस्थित सौराहा मोटरमा पुग्न झण्डै ३-४ घण्टाको यात्रा हुन आउँछ ।
गर्मी प्रदेश भएकोले सौराहाको भ्रमण नोभेम्बरदेखि अप्रिलसम्म उत्कृष्ट मानिन्छ । प्रकृतिको सौन्दर्य र अद्भूत जीवजन्तुहरूको अवलोकनका लागि आनन्दायक ठाउँ हो – सौराहा । जीप सफारी, बोटिङ, हात्तीको सवारी, जंगलको सयर–सपाटा, उँटको सवारी, हात्तीको स्नान, थारु साँस्कृतिक नाँच, वन्यजन्तुको अवलोकन र घुमफिर तथा सूर्योदय र सूर्यास्त यहाँका अनेकौँ विशेषतामध्ये प्रमुख आकर्षणहरू हुन् ।
युनेस्कोद्वारा विश्व सम्पदा सूचीमा सुचिकृत चितवन राष्ट्रिय निकुञ्जले झण्डै १००० वर्ग किमि क्षेत्रफल ओगटेको छ । ‘जंगलको मुटु’ भनेर चिनिने यो निकुञ्ज आफ्नो विविधताले गर्दा विश्वसामु लोकप्रिय–प्रख्यात छ । अध्ययन र अनुसन्धान एवं मनोरम दृश्यको लागि मानव ह्दयमा बसेको यो निकुञ्ज आज पनि पर्यटकलाई आफूतिर आकर्षित गरेको पाइन्छ । यसका बाबजुद यहाँ प्रसिद्ध आकर्षणका केन्द्रहरू रहेका छन् । जसमध्ये –
- थारु सङ्ग्राहलय
- देवघाट (हिन्दु आराध्य स्थल)
- अन्तर्राष्ट्रिय हात्ती पोलो खेल
- हात्ती प्रजनन् केन्द्र
- नाइट टावर
- जंगल सफारी
- थारु संस्कृति/नाँच
- बीस हजारी ताल