मुलुक डेस्क,
वर्षः ०१ | अङ्कः ०४ | मंसिर २०७५
नेपालीहरूका लागि एउटा खुसीको खबर के छ भने भलै काठमाण्डौ प्रदूषण मुक्त हुन नसके पनि संसारका पर्यटकहरूका लागि भने यो शहर घुम्न लायकको शहरमध्येमा परेको छ । विश्व प्रसिद्ध ट्राभल गाइड बुक र वेव साइट कम्पनी ‘लोन्ली प्लानेन्ट’ले काठमाण्डौ शहरलाई पर्यटकीय रूपमा घुम्न लायक शहरको रूपमा सुचीकृत गरेको छ । हरेक वर्ष प्रकाशन गरिने उक्त सूचीमा सन् २०१९ का लागि उत्कृष्ट १० घुम्न लायक शहरमा काठमाण्डौलाई पाँचौ स्थानमा सूचीकृत गरेको हो । सूचीकृत हुन उपयुक्त कारणहरूमा प्रस्तुत विवरण अनुसार महाभूकम्प पश्चात् सम्पदाहरू पुनर्निमाण जारी रहेको, हर्न निषेध, विद्युत आपूर्ति सहजता र वाइफाइ कनेक्शन सहज रहेको जनाइएको छ ।
घुम्न लायक अन्य शहरहरूमा पहिलो डेनमार्कको कोपनहेगन, दोस्रो चीनको सेनजेन, तेश्रो सर्भियाको वोभिसाद, चौथोमा अमेरिकाको मियामी, पाँचौं नेपालको काठमाण्डौ, छैठौंमा मेक्सिको सिटी, सातौँ सेनेगलको डकार, आठौँमा अमेरिकाको सियाटल, नवौँमा क्रोएसियाको जदा र दशौँमा मोरक्कोको मेकनेस शहर रहेका छन् ।