आर. डी. श्रेष्ठ,
वर्षः ०१ | अङ्कः ०३ | कार्तिक २०७५
‘‘नेपाली हामी रहौंला कहाँ नेपालै न रहे’
राष्ट्र, राष्ट्रियताले ओतप्रति यी शब्दहरू जसरी जीवन्त छन् राष्ट्रकवि माधव घिमिरे र उनका भाव अभिव्यक्ति त्यत्तिकै भावनात्मक रूपमा बसेका छन्, प्रत्येक नेपाल प्रेमी नेपालीहरूका मन मस्तिष्कमा । उमेरसँग लुकामारी खेल्दै, यमराजलाई समेत चुनौती दिंदै कविवर माधव घिमिरे एक सय बर्षको गौरवमय शीखर चुमिरहेका छन् । उनमा रहेको शालिनता, हंसिलोपना र आत्मविश्वास जसले उनलाई अभैm ऊर्जामय बनाइरहेझझै देखिन्छ । ९९ यौँ बर्षलाई विदा गर्दै गौरवमय सय बर्ष प्रवेश गरेका राष्ट्रकवि माधव घिमिरे प्रति श्रद्धामय भावशक्तिका साथ शुभकामना र नमन ।
एक सय वर्षसम्म पनि जीवनलाई उर्जामय र उत्साहका साथ अगाडी बढाउनु सामान्य मानिसको सामथ्र्य भित्र पर्न सक्दैन । जीवनलाई निराशा र अँध्यारो संझने प्राय : मानिसको अनुभवका विपरीत उनी अर्थात् राष्ट्रकवि भने निराशा र कुण्ठामुक्त भएर जीवन जिउने कला बाँड्दै छन् । जीवनलाई चुनौतीका रूपमा मात्र नभएर उत्सवमय बनाउन सन्देश प्रबाह गर्दैछन् । सय बर्षमा टेक्दै गर्दा उनीमा देखिएको उर्जा, राष्ट्रप्रतिको चिन्ता र नयाँ सिर्जनाको अभिलाषाले लाग्छ उनी अझै उमेरसँग पैंठेजोरी खेल्दै काललाई चुनौती दिने आत्मविश्वास जागृत गर्ने क्रममा रहेका छन् ।
आफ्नो आयुमा शताब्दी शब्द जोडिनुलाई उनी जीवनको ठूलो प्राकृतिक उपहारको रूपमा लिन्छन् । भगवानको आशिर्वादका रूपमा लिन्छन् । जीवन आफ्नो मात्र नभएर अरुका लागि पनि उपयोगी हुनुपर्छ अनि मात्र जीवनले सार्थकता पाउँछ भन्ने उनको भनाइले आम मानिसका लागि जीवनलाई सकारात्मक र उर्जाशिल रूपमा हेर्ने सन्देश प्रवाह गर्छ । जीवनका प्रत्येक क्षणलाई सिर्जनशीलतासँग जोड्छन् र जीवनमा दर्शन खोज्न प्रेरित गरिरहन्छन् उनी आफ्ना सिर्जना र जीवनक्रमका माध्यमबाट ।
सय बर्षको जीवन ज्योति बल्दै गर्दा छरिएको उज्यालोले राष्ट्रकविका राष्ट्रप्रतिको राष्ट्रभाव, नेपालीपना, नेपाली स्वाभिमानको चमक उनको अनुहारमा चम्किरहेको देखिन्थ्यो । लाग्थ्यो उनी चुनौती दिंदैछन् निरन्तर जीवन यात्राका लागि र आत्मविश्वास जगाउँदैछन् सारा नेपालीमा कि आत्म विश्वास र सकारात्मक सोचले पटक पटक जीवन सँग मृत्यु हारखान पुग्छ, आत्म विश्वास जगाउ, सच्चा सोच राख ।
जीवनलाई वरदानको रूपमा लिने भएकाले होला सय वर्षको निरन्तर जीवन यात्रामा सिर्जना गरेका प्रत्येक सिर्जनालाई प्रसादका रूपमा बाँडेका छन् उनले साहित्यिक कृतिका रूपमा कालजयी र जीवन्तता बोकेका उनका सिर्जनामा नेपाली मन, नेपाली स्वभाव, स्वच्छन्दता, स्वाभिमान र नेपालआमा प्रतिको समर्पण प्रस्फुटन भइरहेका हुन्छन् । उनका कृति र सिर्जनालाई संख्या र थुप्रोमा सिमित राख्न सकिन्न । विद्वानवर्ग र साहित्यिक व्यक्तित्वहरूका कलमबाट प्रवाहित उनका कृति विवरण र विश्लेषणले उनका सिर्जनाहरू संख्यामा नभएर भाव र सन्देशको दृष्टिले लिनुपर्ने भन्ने बुझ्न सकिन्छ ।
जीवनलाई सधैं सकारात्मक रूपमा नै हेर्नुपर्छ भन्ने उनको बुझाइ । जीवनका उतार चढाव र संघर्षलाई सामान्य निरन्तरता हो भनेर लिनुपर्ने उनको बुझाई । जीवन प्रति गुनासो नराख्नु र जस्तो छ त्यसलाई आत्मसात गर्दै उर्जामय बनाउनु पर्छ जीवनलाई भन्ने उनको प्रयासले नै माधव घिमिरेलाई राष्ट्रकवि माधव घिमिरे बनाउन उत्प्रेरणा प्रदान गरेको भन्ने बुझ्दा अत्योक्ति नहोला भन्ने हाम्रो बुझाई हो । उज्यालो र हँसिलो मुहार, शान्तभाव अनि सधैं केही गर्न पाए हुन्थ्यो भन्ने अन्तर इच्छा उनको लामो र उर्जामय जीवनको सशक्त पाटो हो भन्ने बुझ्न सकिन्छ । सयौं, हजारौंको संख्यामा सिर्जना पस्की सकेका उनै शताब्दीमा जीवन पुग्दै गर्दा पनि नयाँ सिर्जनाका लागि संघर्षरत छन्, साहस र हौसलाका साथ । यसलाई कसरी बुझ्ने, कसरी लिने ?
नेपाली साहित्यिक नक्षत्र भएर अमूल्य बिधिका रूपमा रहेक राष्ट्रकविले नेपालका लागि गौरवमय सिर्जना उपहार दिएका छन् । साहित्यलाई भावनासँग मात्र नभएर विज्ञान र प्रविधिसँग जोडेर त्यसलाई व्यवहारिक दृष्टिकोण दिने कला समेत प्रस्तुत गर्छन् उनी । उनको चेतनाको स्तरका बारेमा विद्धानहरू समेत अचम्मित हुने गरेका छन् । स्मरण शक्ति अझै सशक्त ।
माधव घिमिरे अर्थात राष्ट्रकवि प्रकृतिका पुजारी । उनका गीत, कविता, नाटक आदिमा मानव, प्रवृत्ति, भावनाको अन्योन्याश्रित सम्बन्ध छल्किन्छ । प्रकृति र जीवनबीचको सम्बन्ध साहित्यमार्फत भावमय तवरले प्रस्फुटन गर्नु उनको विशेष कोशलता प्रकृतिमा हरेक परिवर्तन र उपहारलाई आफ्नो मनको ढुकढुकीसम्म ल्याएर त्यसलाई लयमय र भावमय बनाएर सललल खोलाझभैंm बहन दिनु उनको कौशलताको अर्को सशक्त पाटो । उनी प्रकृत्तिलाई गीतका माध्यमबाट संगीतमय बनाउने एक प्रकृति कवि पनि ।
कवि कस्ता, माधव घिमिरे जस्ता । जो केही समय अघिसम्म मृत्युसँग पैंठे जोरी खेलिरहेका थिए । जसलाई पनि त्यतिबेला लागिसकेको थियो कि ‘अब चाहिं जीवन हार्ने हो कि मृत्युसँग भन्ने । नयाँ महाकाव्य ऋतुम्भरामा जीवन पोख्दै गरेका उनी ‘ऋतम्भरा जन्माइ मृत्युसँग हार्ने पक्षमा थिएनन् । उनले जीवन जिते र मृत्युलाई स्थगन गरे । ‘ऋतुम्भराको आगमनका लागि यही अर्को नयाँ सिर्जना प्रतिको उनको आशक्तता र समर्पणले उनलाई सय बर्षको शिखर चुम्ने गौरवमय अवसर प्राप्त भयो यस्तै लाग्छ । सय बर्ष पुग्दै गर्दा पनि भरखरका युवामा जस्तै उर्जा महसुुस गर्न सकिन्छ उनमा । तर्क दिन र स्मरण शक्तिमा उनी देखेर अचम्मित नहुने नहोला कोही । फुलका गुच्छाबीच अर्को एउटा सुन्दर फूल फुलिरहेझझै उनी देखिएका थिए उनको जन्मदिनका दिन भएको उनको उपस्थितिमा । माधव घिमिरेको जीवन मात्र एक राष्ट्रकविको जीवन नभएर लामो जीवन जीउने कलाको सशक्त सन्देश पनि बनेको छ । बाँच्नु नै मात्र उनको जीवनको लक्ष्य थिएन । बनेन पनि । जीवनका हरेक पललाई सिर्जना र उर्जासँग जोडिरहन्छन् उनी । जीवन के हो, कस्तो हुनुपर्दछ भन्ने प्रश्नको जवाफ उनका सिर्जनाले दिइरहेका हुन्छन् । उनी आफ्नो लागि मात्र नभएर सिर्जनाका लागि गौरवमय लामो जीवन बाँची रहेका छन् । १०० बर्षको गौरवमय जीवन यात्रालाई ‘ऋतम्भराले जीवन्तता दिंदै अझै लामो यात्राका लागि बाटो बन्दै जाने छ–बन्दै जाने छ ।
२०७५ सालको असोज ७ गते कविवर माधव घिमिरेका लागि मात्र नभएर सम्पूर्ण नेपालीका लागि खुशी र उर्जाको दिन हो भन्न सकिन्छ । १०० वर्षमा राष्ट्रकवि पाइरहनु नेपाली मात्रको लागि गौरव हो भन्न सकिन्छ । सगरमाथा झै उच्च सोच, आत्मविश्वासका धनी राष्ट्रकवि माधव घिमिरेलाई राष्ट्रकविका रूपमा र शताब्दी दिनलाई सम्मान गर्न पाउँदा हिमालले आफ्नो अग्लाई विश्व सामु अझ उच्च बनाए झै लाग्छ । प्रकृति मुस्कुराए झै लाग्छ । फूल मग्मगाए झै लाग्छ । कहिं कतै टाढा बसेर यमराज पनि नतमस्तक भए झै लाग्छ अनि जीवन सुस्त सुस्त, सुन्दर सुन्दर मुस्कुराए झै लाग्छ । यस्तै लागिरहन पाइयोस् । यस्तै देखिरहन पाइयोस् । फेरि पनि नमन …………… ।