वर्षः ०१ | अङ्कः ०३ | कार्तिक २०७५

महान चाड दशैंले घरको ढोका ढक्ढक्याई सकेको छ । उल्लास, उमङ्क र उत्साहका साथ मनाइने दशैं स्वदेशमा बस्ने मात्र नभएर विदेशमा रहेका नेपालीका लागि पनि उत्तिकै पूज्य र सद्भावपूर्ण हुने गर्दछ । धनी गरिव जो सुकैले पनि दशैं आ–आफ्नो गक्ष अनुसार मनाउने गरिन्छ । दशैं धर्म, परम्परा र चाड मात्र नभएर परिवार, सद्भाव र अनुशासनलाई मर्यादित बनाइराख्ने एउटा महत्वपूर्ण धार्मिक निरन्तरता पनि हो र हुनुपर्छ ।

असत्य माथि सत्यको विजयको प्रतिक दशैं । गलत काम माथि सही कामको विजय दशैं । सारा नेपाली गलत र असत्यको अन्त्य चाहन्छन् । शान्ति, सौहार्द र समृद्धि चाहन्छन् । तर देश कता जादै छ ?

नागरिक अधिकार र शान्ति सुरक्षा किन व्यवस्थित हुन सकिरहेको छैन ? अपहरण, बलात्कार र हत्या हिंसा जस्ता घटना भइरहँदा सरकारको जिम्मेवारी कहाँ पुगिरहेको छ ? आपराधिक घटना बढ्दै जाँदा, न्यायको पहुँचबाट नागरिक टाढिंदै जाँदा, भ्रष्टाचार र महंगाइले जनता थिचिदै जाँदा सरकार किन मौन र मुकदर्शक बनिरहेको छ ? स्वास्थ्य, शिक्षा र विकास किन ठेक्का, कमिशन र भ्रष्टाचारमा लिप्त भइरहेको छ ? नेपाली जनता प्रश्न गर्दैछन् सरकार किन निरुत्तर छ ? जिम्मेवारी पूर्वकको जवाफ र कार्य आवश्यक छ ।

जे होस्, सुखी नेपाली र समृद्ध नेपालको सपना नेपालीका लागि सपना नबनोस् । शान्त, सुन्दर र स्वस्थ नेपालको चाहना चाहना मै सिमित नहोस् । गर्व साथ नेपालीले भन्न सकुन् हामी नेपाली हुनुमा गर्व छ, देश नेपाल हुनुमा गर्व छ । यो कुरा बुझ्न सबै जिम्मेवार नेतालाई अन्तरदृष्टि प्रदान गरुन्, माता दूर्गाले सबैको कल्याण गरुन् ।