मुलुक डेस्क,
वर्षः ०१ | अङ्कः ०२ | असोज २०७५
समय सिमारहित निरन्तर चलिरहने निश्चित प्रक्रिया हो । समय सबैका लागि उही हो तर हामीमध्ये समयमा समयकासाथ को कति अगाडि बढ्छौं, उल्लेख्य त्यो हुन आउँछ । परिवर्तन संसारको नियम हो तथापि परिवर्तित संसारमा पनि समय आफ्नो निरन्तरता र गतिलाई बिना अवरोध चलायमान अवस्थामा राख्दछ । समयको मापदण्डको लागि उपकरणहरूको आविष्कार गरियो तर तीमध्ये घडीले सर्वाधिक सार्थकता र सफलता पायो । संसारभरि अनेकौं किसिमको घडीहरूले मानव समाजको इतिहास र वर्तमानलाई हाम्रा सामु छर्लङ्ग पारेको छ ।
समयको सत्यता र घडीको सान्दर्भिकतालाई अनेकौं साँचामा मानव समुदायले ढालेको पाइन्छ । यिनैमध्ये संसारको लोकप्रियतामा पर्दछ – घण्टाघर । संसारको अनेकौं मुलुकमा प्रयोगमा आइसकेको घण्टाघर नेपालमा सर्वप्रथम राणाकालमा प्रारम्भ भयो । काठमाडौंको मध्यभागमा रानीपोखरी पछाडि अवस्थित घडी भएको भवन नै नेपालको पहिलो घण्टाघर हो ।
राणा शासकका ७ औं तथा नेपालका ११ औं प्रधानमन्त्री वीर शमशेरको (वि.स. १९०१–१९५७) कार्यकालमा निर्मित घण्टाघर लण्डनको बिग वेन शैलीमा निर्माण गरिएको छ । यस घण्टाघरको घन्टीले वि.सं. १९५१ देखि टिकटिक गर्न शुरु गरेको हो । झन्डै १०० फिट अग्लो भवनमा जडित घडी कहाँबाट ल्याएको यकिन नभए पनि यसलाई इंल्यान्डबाट ल्याएको बताइन्छ । घण्टाघरको निर्माण नेपाली इन्जिनियर दाजुभाइ कुमार नरसिंह र किशोर नरसिंह राणाले गरेका हुन् । जापानबाट विशेष तालिम लिएर फर्केपछि यी इन्जिनियरद्वयले घण्टाघरको डिजाइन ‘टावर’ शैलीमा निर्माण गराएका थिए ।
वि.सं. १९९० सालको महाभुकम्पले घण्टाघर आफैलाई सन्नाटाघरमा परिणत ग¥यो अर्थात् ध्वस्त र क्षतविक्षत भयो । यद्यपि महाराजा जुद्धशम्शेरले त्यही जगमा टेकेर अर्को घण्टाघर निर्माण गर्न लगाए जुन आज हाम्रो अगाडि छ । इतिहास साक्षी छ, घण्टाघर ९० सालको भुकम्प अगाडि र २०७२ सालको भुकम्प पछाडि पनि त्यही अवस्थित छ । स्वरूप फेरियो तर समय फेरिएन । काठमाडौंको लागि आज पनि गर्वकासाथ घण्टाघरले आफ्नो भव्यता र विशालताको उपस्थिती जनाउँदै आएको छ । तत्कालीन अवस्थामा नगरवासीलाई समयबोध गराएको घण्टाघरले आज पनि हामीलाई सचेत गराउँदै नगरको भव्यता र विकासलाई प्रतिबिम्बत गराइरहेको छ । प्रत्येक घण्टा ठूलो आवाजकासाथ टिकटिक गर्ने घण्टाघर काठमाडौंको धरोहर र शानको प्रतीक पनि हो ।