अनुसा थापा, भक्तपुर । २०७९ पौष ०३, आइतवार

औद्योगिक क्षेत्रमा उजाड देखिन्छ । बैंकको महँगो ब्याजदरका कारण उद्योग व्यवसायीहरु आन्दोलित भएका छन् । हाल उनीहरु कर्जा तिर्नका लागि थप समयको माग गर्दै अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक गुहारिरहेका छन् ।

उद्योग व्यवसायीहरुले बैंकको राखेको धितोको मूल्य स्वातै घटेको छ । तर, कर्जा दिनहुँ बढेको बढ्यै छ । कर्जा लिँदा राखेको धितो निरन्तर ओरोलो लाग्दा कर्जा भने उकालो लागिरहेको छ । उद्योग व्यवसायीहरुले विगत ६ महिनादेखि बैंकबाट लिएको कर्जाको साँवा र ब्याज तिरेका छैनन् । उनीहरुले सो अवधिको किस्ता साँवामा जोडेर कर्जाको नयाँ नवीकरण गरिदिनुपर्ने माग राख्दै आएका छन् ।

उद्योग व्यवसायीहरुले बैंकबाट पैसा लिने र साँवाब्याज नतिर्ने हो भने मुलुकको बैंकको हालत के होला ? उनीहरु किस्ता जोडेर कर्जा नवीकरण गर्न जोडबल गरिरहेका छन् । यो गरियो भने बैंक चुर्लुम्मै डुब्छ । हिजो एक करोडको धितो राखेर ८० लाख ऋण लिएकाहरुको धितोको मूल्य घटेर ५० लाखमा झरेको छ । तर, ऋण बढेर डेढ करोडमा पुगेको छ ।

लामो समयदेखि नतिरेको किस्तालाई जोडेर कर्जा नवीकरण गरिदिने भने बैंकहरु थप मर्कामा पर्छन् । यतिखेर उद्योग व्यवसायीहरुको नियतमा खोट देखिएको छ । उनीहरुले बैंकलाई डुबाउने यस्तो योजना बनाएको देखिन्छ । अर्थ मन्त्रालय र राष्ट्र बैंकलाई दबाबमा पारेर यिनीहरुले यो कार्य गर्न आँटेका छन् ।

आन्दोलन गरेर हुन्छ कि विभिन्न बहानाबाजी गरेर उद्योग व्यवसायीहरु अगाडि बढिसकेका छन् । तर, उद्योग व्यवसायी आफू डुबेका होइनन्, बैंक डुबाउन खोजेका हुन् । उनीहरुले पहिले नै धितो राखेर पैसा लिइसकेका छन् । अनि उनीहरु कसरी डुबे ? बैंकको उद्योग व्यवसायीलाई दिएको रकम जनताको हो । तर, उद्योग व्यवसायीहरुले कर्जा नतिर्नेबित्तिकै सर्वसाधारण डुब्छन् । अब जसले बैंकमा पैसा राखेका छन्, ऊ डुब्छ । यहाँ पनि राजनीतिक चलखेल देखिन्छ। यता, उद्योग व्यवसायीले कर्जा तिर्दैनन् उता सर्वसाधारणले आफ्नो बचत फिर्ता पाँउदैनन् । एकातिर धितो लिलाम गर्न गाह्रो, अर्कोतिर लिलाम भएपनि कर्जा जति रकम आँउदैन् ।

कर्जा उठाउन बसेका कर्मचारीहरु भकाभक बाँहिरिदैछन् । भोलि आफू पनि अप्ठ्यारोमा पर्ने भएपछि उनीहरु जिम्मेवारीमुक्त भएका छन् । हिजो कर्जा लिने बेला उद्योग व्यवसायीहरुले हाँसीहाँसी लिए । बैंकबाट लिएको कर्जाको साँवा पनि नतिर्ने, अनि आन्दोलन गर्ने । कालो झण्डा बोक्ने, कालो ब्यानर बोक्ने, अनि विभिन्न निकाय चहार्दै हिँड्ने । यस्तो पनि भइरहेको छ ? अर्थमन्त्री जनार्दन शर्मा र गर्भनर महाप्रसाद अधिकारीलाई ज्ञापनपत्र बुझाए कर्जा तिर्नपर्दैन् ?
उद्योग व्यवसायीहरु आफ्नो विभिन्न माग राख्दै राजनीतिक दलको घरदैलो गरिरहेका छन् । तर, हिजो जसरी कर्जा लिएका थिए आज त्यसरी नै फिर्ता गर्नुपर्यो ।

उद्योग व्यवसायीहरुले किस्ता नतिरेपछि सर्वसाधारणहरुले बैंकमा लगेर पैसा राख्न छोडे । उता, धमाधम पैसा निकाल्न थालेका छन् । उद्योग व्यवसायीहरुको आन्दोलनका कारण बैंकमा लाइन देखिन थालेको छ । आफ्नो जिन्दगीभरको मेहिनेत डुब्ने भएपछि उनीहरु जसरी हुन्छ पैसा निकाल्नतर्फ लागेका छन् ।सर्वसाधारणले पैसा नराख्दा बैंकहरु रित्तो भएका छन् । उनीहरुसंग कर्जा दिने पैसा छैनन् । बैंकहरुले लामो समयदेखि कर्जा ठप्प पारेका छन् । बैंकले कर्जा दिन छाडेपछि घरजग्गा, गाडी र सेयरको खरिदबिक्रीमा पुरै मन्दी छाएको छ । त्यस्तै, यी क्षेत्रको मूल्य पनि स्वातै ओरालो लागेको छ । व्यक्तिहरुले पैसा निकालेर घरमा लगेर लुकाइसकेका छन् ।

उद्योग व्यवसायीले खुरुखुरु कर्जा तिरेको भए बैंक र सर्वसाधारण मर्कामा पर्दैनथे । व्यवसायीहरु बैंकलाई तिर्नुपर्ने कर्जा नतिर्ने दाउमा छन् । बरु, राजनीतिक दलको ढोका ढक्ढक्याउने, सरकारलाई ज्ञापनपत्र बुझाउने अनि कर्जा नतिर्ने । व्यवसायीहरुले मुलुकको अर्थतन्त्र श्रीलंका बनाउन खोजिरहेका छन् । उद्योगीहरु व्यवसाय छोडेर राजनीति गर्न खोजिरहेका छन् । उद्योग व्यवसायी र राजनीतिक दलले गर्दा मुलुक नाजुक अवस्थामा आउने देखिएको छ ।

बैंकबाट लिएको कर्जाबाट नाफा कमाउँदा उद्योगीहरुले सरकारसंग बाँडफाँड गरेका थिए भन्ने निकै चर्चा छ ? बैंकलाई नाफाको केही हिस्सा दिएका थिए ? नाफा हुञ्जेल आफू मोजमस्ती गरिरहे । अनि आज नाफा नभएपछि विभिन्न बहानाबाजी गर्न मिल्छ ?

बैंक डुब्नु भनेको जनताको पैसा डुब्नु हो । एकातिर बैंक डुबाउने अर्कोतिर नेपालको अर्थतन्त्र श्रीलंका बनाइदिने ।
बैंकबाट लिएको कर्जा नेपालमा नभईकन यिनीहरुले विदेशमा लगानी गरेका छन् । यहाँ डुब्यो भन्ने विदेशमा लगानी गर्ने । नौटंकी गर्ने पनि हद हुन्छ । यस्तालाई कसले बिचरा भन्छन् ? बैंकहरु कर्जा उठाउन नसकेर धरासायी अवस्थामा पुगिसकेका छन् । तीन वर्ष अगाडिसम्म आफ्नो पैसा सुरक्षित हुन्छ भनेर सर्वसाधारणले बैंकमा लगेर पैसा राख्थे । थोरै भएपनि ब्याज आइरहन्छ भन्ने सर्वसाधारणमा थियो । बैंकले हामी यति प्रतिशत ब्याज दिन्छु भन्नै पदैनथ्यो । बैंकमाथि जनताको विश्वास धेरै थियो । थोरै ब्याज भएपनि जनताले आफ्नो चित्त बुझाइरहेका थिए । बैंकमा यत्तिकै भीड हुन्थ्यो । अहिले बैंकहरुले १३ प्रतिशतदेखि माथिसम्म ब्याज दिन्छौं भनेर जनता लोभ्याइरहेका छन् । बैंकले पटकपटक सूचना जारी गरिरहेका छन् ।

सहकारीजस्तै बैंकका कर्मचारी आफ्नो बैंकमा खाता खोलिदिन भन्दै पसलपसलर घरघर पुगेका छन् । अहिले बैंकले कर्जा नतिर्नेको फोटो पत्रपत्रिकामा छापेको छाप्यै छ । बैंकहरुले धितो लिलाम गर्छु भन्छ तर किन्ने कोही छैनन् । जुन धितो राखेर बैंकले कर्जा दिएको थियो त्यसको मूल्याकंन नै हुन छाडेको छ । खाद्यान्नको मूल्य हप्तैपिच्छे घटबढ हुने गर्दछ । तर, घरजग्गा, सेयर र गाडीको मूल्य बढ्ने होइन्, प्रत्येक दिन घटेको घट्यै छ ।

उद्योग व्यवसायीहरुले पनि हामीले बैंकको कर्जा तिर्न सक्दैनौ भन्ने थाहा पाइसकेका छन् । हामीले राखेको धितोको मूल्यभन्दा पनि बैंकको कर्जाको साँवाब्याज बढी भइसकेकाे छ । आफू कालोसूचीमा जानबाट बच्नका लागि उनीहरु सडकमा आएका छन् । पत्रपत्रिकामा फोटो छापिनुबाट बच्नका लाग उनीहरु राजनीति दलकोमा धाएका छन् । बैंकले हिजो कर्जा दिने बेलामा आँखा चिम्लेर कर्जा दियो । अहिले कर्जा उठाउन नसकेर सर्वसाधारणको पैसा डुबाउने भो ।

बैंकलाई डुबाउनमा राजनीतिक दलहरुको पनि साथ छ । पर्दाभित्र बसेर उनीहरुले चलखेल गरेका छन् । सर्वसाधारणले उद्योग व्यवसायी महासंघका अध्यक्ष शेखर गोल्छालाई सोध्छन्, ‘बैंकबाट कर्जा लिने, अनि नतिरेर बैंक र सर्वसाधारण डुबाउने । यही हो तपाईहरुको व्यवसायी ?’ आफूले राखेको पैसा निकाल्न जाँदा बैंकले एक लाख रुपैयाँ पनि फिर्ता गर्न सक्दैन् । यो स्थिति कसले बनायो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *