वीरेश राई । सङ्खुवासभा

विश्वको पाँचौ अग्लो मकालु हिमालको ताज पहिरिएकी सङ्खुवासभामा आसाम (भारत) का ४३ जना साहित्यकार, कलाकार, पत्रकार र संस्कृतिकर्मीहरु मकालु साहित्यिक समाज (मसास) को निम्तोमा आएका थिए । प्राकृतिक सौन्दर्य र धार्मिक महिमाले भरिपूणर् पूर्वको पहाडी जिल्ला सङ्खुवासभामा आयोजित नेपाल र भारतको साहित्यिक भेटघाट पर्यटकीय, मानविय एवं सद्भाव, सहयोग र मेलमिलापको अनुपम उदाहरण हो ।

सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा ‘कुर्फी आमाई’ आसामको पहल र मकालु साहित्यिक समाजको आयोजनामा ‘नेपाल भारत सद्भावना भ्रमण-२०२२’ को नारा दिइएको साहित्य चर्चा तथा साँस्कृतिक विनिमय कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपालका आदिवासी (नेवार, राई, लिम्बू, गुरुङ, तामाङ, कुमाल) र आसामका आदिवासी कार्बीहरुबीच आफ्ना मौलिक उत्पादित सामग्री विनिमय भएको थियो । नेपालका आदिवासीहरुले अल्लोबाट तयार पारिएको कपडा, पछ्यौरी, टोपी, झोला साथै करुवा, कठुवा, राढी, गलबन्दी उपहार दिए । आसामका आदिवासी कार्बीहरुले गलबन्दी, पछ्यौरी, आस्कोट आदि दिए ।

मकालु साहित्यिक समाजका अध्यक्ष ताराबहादुर बुढाथोकीको अध्यक्षतामा सञ्चालित कार्यक्रममा प्रमुख अतिथिको भूमिकामा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य र विशिष्ट अतिथिको भूमिकामा नगर प्रमुख महेश थपलिया उपस्थित थिए । आसामको तर्फबाट विशिष्ट अतिथि र अतिथिका रुपमा तन्सिङ बे, डा. महाविष्णु तोक्बी लगायत सार्थे रोङ्पी, बलेश्वर हान्से टुटु निगम र नेपालको तर्फबाट अतिथिको रुपमा कृष्णबहादुर अधिकारी, वीरबहादुर राई, डेगेश्वरी श्रेष्ठ, कल्पना कार्की अधिकारी सहित दर्जन बढी लब्धप्रतिष्ठित महानुभावहरु उपस्थित थिए ।

कार्बी कुर्फी आमाईका अध्यक्ष तन्सिङ बेले साहित्यकार ताराबहादुर बुढाथोकीलाई सम्मान गरेको कार्यक्रममा नेपाली मुलका आसामी कवि रण काफ्लेको ‘हिमाल बोक्ने रहर’ कविता सङ्ग्रह विष्णु निरौलाको कथा सङ्ग्रह ‘लीला’ साहित्यकार बुढाथोकीले लोकार्पण गरे ।

खाँदबारीबाट करिब दुई हजार दुई सय कि.मि. टाढाबाट आएका ४३ जना अतिथिहरु कार्यक्रममा कार्बी भेषभूषामा उपस्थित थिए । प्रकृति पूजक कार्बीहरुले खाँदबारी न.पा. १ को हिमालय मा.वि.को प्राङ्गणबाट ‘मकालु हिमाल’ को दर्शन र पूजा अर्चना गरेका थिए । केराको पात, घुङ्ग्रीङले थान सजाउने र चिन्डोबाट जल अर्पण गर्ने कार्बी जातिलाई किरातीकै वंश ठान्छन् साहित्यकार ताराबहादुर बुढाथोकी । साहित्यकार बुढाथोकीले लोहरुङ राईको संस्कृतिलाई नजिकबाट अध्ययन गरेका छन् । शारीरिक सुगठन र मुहार किरातीसँग दुरुस्तै मिलेपनि केही श्याम वणर्का देखिन्छन् कार्बीहरु । असमिया कन्याहरुको नेवार जातिमा जस्तै दुईपल्ट विवाह हुने गर्दछ । नेवार कन्याहरुको बेलसँग विवाह भएजस्तै असमिया कन्याहरुको विवाह केरासँग हुने परम्परा छ ।

यस कार्यक्रममा आसामबाट आएका पाहुनाहरु चारजना बाहेक अरुले नेपाली भाषा नबुझ्ने भएकाले चार वटा (नेपाली, अंग्रेजी, हिन्दी र कार्बी) भाषाको सहयोग लिएर कार्यक्रम सम्पन्न गरिएको थियो । ४३ जना आगन्तुकहरुलाई बुढाथोकी दम्पतिले सम्पूणर् व्यवस्थाका साथ आफ्नै घरमा राखी स्वागत गरेका थिए ।

कवि/गीतकार सनम थापाद्वारा सञ्चालित कार्यक्रममा गुरुङ जातिको घाटु र नेवार जातिको लाखे नृत्य प्रस्तुत गरिएको थियो । कार्बी गायकद्वय सार्थे रोङ्पी र टुटु निगमले नेपाली गीत गाएर मनोरञ्जन गराए । हिन्दी, नेपाली, बङ्गाली, कार्बी आदि भाषाका गीत गाइसकेको गायक सार्थे रोङ्पीले ॅडाँडा पाखा छहराले’ गाएर सबैलाई मन्त्रमुग्ध पारेका थिए । कार्यक्रम जिल्ला समन्वय समितिको हलमा सम्पन्न
भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *