संजीव सिंह, काठमाडौं । २०७८ माघ

प्रकृति र संस्कृतीको संगमस्थल हो – पनौती । प्रकृतिमा सुन्दरता, संस्कृतिमा विविधता, धर्ममा सहिष्णुता, इतिहासमा प्राचीनता पनौतीको पहिचान हो । पुण्यमाता खोला र रोसी खोलाको बीचमा एउटै ढुङ्गामा अवस्थित रहेको सहर हो – पनौती । यो एक पवित्र तीर्थस्थल र देवभुमि हो । पनौतीलाई शचीतीर्थ, त्रिवेणीक्षेत्र वा उत्तरप्रयाग पनि भन्ने गरिन्छ ।


धार्मिकता
धार्मिक आस्थाको केन्द्रविन्दु प्राचीन नगरी पनौती इतिहास पुरुषदेखि देवताहरुसम्मको प्रिय र रमणिय तीर्थस्थल हो । भगवाण इन्द्र, महादेव, विष्णु, अहिल्या, शची, पार्वती, गोरखनाथ, पाण्डव लगायतका देवीदेवता र महापुरुष यस तपोभुमिमा तप र विचरण गरेको जनश्रुति रहदैं आएको छ । जगतगुरु शंकरार्चाय, राजा मानदेव, हरिसिंह देव, नरेन्द्र देव, वडा महाराज पृथ्वीनारायण शाह, युवराज्ञी डायना सहित पनौतीमा पदापणर् गरेर यहाँको महिमा र गरिमामा थप प्रयास गरेको इतिहास साक्षी छ ।
लिच्छविकालमै विकसित पनौती नगरेको ऐतिहासिकताको पुष्टि अंशुवर्मा तथा शिवदेवको समयको अभिलेखाबाट गर्न सकिन्छ । यसको प्रमाणिकता पनौतीको खोपासीमा भेटिएबाट हुन्छ । मध्यकालिन समयमा प्रचलनमा रहेको सबै धर्मका मूर्ति तथा मन्दिरहरु पनि पनौतीमा रहेको छ । मध्यकालीन राजा रामवद्र्धनको मूल घर रहेको पनौतीको निर्माण गर्दा तान्त्रिक अष्टमातृकाका पीठहरु (काठकुमारी, महालक्ष्मी, इन्द्रायणी, मानेश्वरी, भद्रकाली, ब्रह्मायणी, महेश्वरी र संकटा) स्थापना गरेको पाइन्छ । शहरको मध्यमा त्रिपुरासुन्दरी (भद्रकाली) को स्थापना गरिएको छ । गारेखनाथ डाँडाको तल नगरको पूर्वतिर पुण्यमाता खोलापारी ब्रह्मायणीको पीठ अवस्थित छ । इन्द्रेश्वर हाताभित्र इन्द्रेश्वर महादेव लगायत विश्वेश्वरको पीठ रहेको छ ।


“जेष्ठमासे पौणर्मास्या स्नानं कृत्वा तु सङ्गमे
इन्द्रेश्वर च द्रक्ष्यान्ति तेक्षं स्वर्गो न संशय ।।’’


नेपाल महात्मय
किंवदन्ती अनुसार कहिल्यै भूकप्म नजाने (भूकम्पले असर नगर्ने) शहरको रुपमा पनौतीलाई चिनिन्छ एवं भन्ने गरिन्छ । त्यस्तै, एउटै शिला (ढुङ्गा) मा अवस्थित पनौती (पञ्चाल देश) मा ढिकी चलाउन र पानीघट्टा राख्न नहुने जनविश्वास पनि रहेको छ । देवराज इन्द्रले ऋषि गौतमकी पत्नी अहल्यासंग छल गरेर अनुचित यौनसम्बन्ध कायम गरेपछि ऋषिको श्रापबाट मुक्त हुन पनौतीमा आएर तपस्या गरेका थिए र पापबाट मुक्त भएका थिए । अर्को एक किंनदन्तीका अनुसार मातासंगको झगडामा घर बाहिरिएका पुत्र विरुपाक्षको खोजीमा निस्कदा रातको समयमा माता र पुत्रको भेट पश्चात दुवैको राजीखुसीमा अन्जानमा यौन संसर्ग भएको थियो । तत्-उपरान्त मातापुत्र भन्ने थाहा भएपछि विरुपाक्षलाई पश्चाताप भयो । पापकर्मबाट भुक्ति पाउन विरुपाक्षलाई ‘ने’ मुनिले पनौतीमा स्नान गर्न जानु भनेका थिए । यसरी अहिल्या जस्तै विरुपाक्ष पनि पनौतीमा स्नान् पश्चात मोक्ष प्राप्त गरेका थिए ।

नमोबुद्धको जन्मथलो पनौती मोक्ष प्राप्त गर्ने पवित्र तिर्थस्थल हो । पापमोचन र मेलापर्वको यहाँ संगम नै मानिन्छ । भक्तपुरको प्रसिद्ध नवदुर्गा तथा साँखु र भक्तपुरबाट बर्षेणी माधवनारायणको आगमन हुने र जात्रा चलाउने चलन हालसम्म यथावत छ । नेपाल खाल्डो लगायत आसपासका क्षेत्रहरुमध्ये शुरु र अन्तिमको जात्रा पनौतीमा हुने गर्दछ । त्रिवेणीघाट स्नान पापमोचन र चित्त शुद्धिकरण गर्ने ठाउँ हो । त्रिवेणीघाट नागहरुको राजा वासुकी नागको बासस्थान हो । भष्मासुरलाई दिएको वरदानबाट आफै भष्म हुनलाग्दा महादेव भागेर त्रिवेणीघाटको जलमा स्नान गरेको जनश्रुती छ । पनौतीकै खोपासीमा द्रोपदीको मन्दिर रहेको छ । बाह्र वर्षे मकर मेला, देवीनाथ, योमरी पुणी, जात्रासंगै बुद्ध धर्मको चाडपर्व, उत्सव र परम्परा आदि पनौतीको विषेश आकर्षण एवं धरोहर रहेको छ । स्थानीय नेपाल भाषामा पनौतीलाई ‘पलाती’ पनि भनिन्छ ।


भौगोलिकता :
महाभारत पर्वतको काखमा अवस्थित रमणीय स्थल पनौती काठमाडौं उपत्यकाबाट ३२ कि.मी. टाढा दक्षिण-पूर्वमा रहेको छ । समुद्री सतहबाट १४०२ मिटरको उचाइमा एउटै शिलामा अवस्थित शंख आकारको रुपमा पनौती रहेको छ । १२-१३औं शताब्दीको प्राचीन नगरी पनौतीलाई ४० मन्दिर, २८ चाडपर्व र अनेकौं जात्राको शहर पनि भन्ने गरिन्छ । १४० हेक्टर कृषि योग्य र १०५ हेक्टर वनजंगलले ओगटेको पनौतीको जनसंख्या २७३५८ रहेको छ । करिब ९३% जनता कृषि र ५ % व्यावसायमा संलग्न पनौतीको क्षेत्रफल ११८ वर्ग कि.मि. रहेको छ । वि.सं. १८२० कार्तिक ११ गते पृथ्वीनारायण शाहले पनौतीमाथि विजय प्राप्त गरेपछि आधुनिक नेपालको भु-भागमा मिल्न पुगेको हो ।


बाह्रवर्षे मकर मेला:
बाह्र वर्षको एकपल्ट माघ महिनामा लाग्ने मेलालाई मकर मेला भन्निछ । मकर मेला पनौतीको त्रिवेणीघाटमा लाग्दछ । त्रिवेणी क्षेत्रलाई उत्तरप्रयाग पनि भन्ने गरिन्छ । यसलाई शचीतिर्थ, पावनधाम पनि भन्दछन्् । मकर मेला लागेको बेलामा यहाँ आई मेला भरेमा र त्रिवेणीघाट (पद्मावती, लीलावती र रुद्रावती) मा नुहाई देवीदेवताको पूजा गरेमा सम्पूणर् पापबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहेको छ ।

देवारज इन्द्र १२ सय वर्ष पनौतीको त्रिवेणीघाट तपस्या गरी ऋषि गौतमको श्रापबाट मुक्त भएका थिए । तत्पश्चात इन्द्रद्वारा स्थापित शिवलिङ्ग इन्द्रेश्वर महादेवका नामले प्राख्यात भयो । र यहाँ भक्तजनको घुँइचो मकरमेलामा लाग्न थालेको हो ।
पनौतीका राजा दीर्घरथले आफ्नो राज्यको जनताको लागि कृषि योग्य जमिनमा सिंचाई हेतु पानीको सुविधार्थ फूलचोकी डाँडामा फूलचोकी माईको तपस्या गरे र माताको आराधनाका लागि सुनरुपी तोरीको फूल र चाँदीरुपी मूलाको फूल श्रद्धापूर्वक अर्पण गरे । तत्पश्चात माताले वरदानस्वरुप पवित्र नदी लिलावती र मकरमेला दानमा दिए ।

ऐतिहासिक, धार्मिक-सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीमा हरेक बाह्र वर्षमा लाग्ने ‘मकर मेला’ को यस वर्षको तयारीस्वरूप धमाधम भौतिक पूर्वाधार निर्माणका काम भइरहेका छन् । नगरले वर्ष दिनअघिदेखि नै मेलाको तयारीस्वरूप पनौतीस्थित शचीतीर्थ-त्रिवेणीघाट लगायत नगरका विभिन्न क्षेत्रभित्र भौतिक पूर्वाधारको काम थालेको हो । मकर मेला यसै वर्षको माघ महिनाभर सञ्चालन हुनेछ । मेलामा नेपालमा मात्र नभई उत्तर भारत प्रयागबाट समेत तीर्थालु आउने गरेका छन् । मेला लाग्ने प्रमुख स्थान पनौतीस्थित त्रिवेणीघाट हो । तीन नदीको संगम स्थलनै त्रिवेणीघाट हो । उक्त स्थानमा थप भौतिक संरचनासहित मेला व्यवस्थित बनाउन नगरले थुप्रै योजनाअघि सारेको छ । उक्त स्थानमा नुहाई त्यहाँको जल उत्तरतर्फ कुञ्जगिरिमा अवस्थित गोरखनाथलाई अर्पण गर्नाले ठूलो पुण्य मिल्ने धार्मिक आस्था छ ।


कथा किंवदन्ती
राजा प्रताप मल्लले रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख गरिएको इतिहासविद्ले जनाएका छन् । तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पुण्यमाता र रोशी खोलाबाहेक पद्मावती नदी गुप्तरूपमा बगिरहेको मान्यता रहेको छ । भारतको प्रयागमा गङ्गा र यमुना नदीको सङ्गममा गुप्तरूपले सरस्वती मिसन नदी बहेझैं पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पूण्यणमाता नदीलाई लिलावती र गुप्तरूपले बहेकी ब्रह्मायणी मन्दिरमुनिबाट दूध बग्ने नदी पद्यमावती मानिँदै आइएको छ ।

स्कन्दपुराणअन्तर्गत हिमवत् खण्ड (नेपाल महात्म्य) मा वणर्न गरिएअनुसार परापूर्वकालमा सृष्टिकर्ता परब्रह्माले ‘अहिल्या’ सुन्दरी सिर्जना गरी दश इन्द्रिया वशमा राख्न सक्ने गौतम ऋषिलाई नासोका रूपमा सुम्पिएपछि यो कुरा थाहा पाएका देवराज इन्द्र अहिल्याको रूपबाट कामातुर भई ऋषिको भेषमा अहिल्याको सतित्वहरण गरेका थिए । स्नान गरी फर्कदा इन्द्रबाट अहिल्याको सतित्वहरण भएको थाहा पाएपछि रिसले चुर भएका ऋषिले उनलाई जुन वस्तुमा बढी लालसा राख्यो, त्यही वस्तु शरीरमा उत्पन्न होस् भनी श्राप दिएपछि इन्द्रको शरीरमा हजारौं योनी पाप चिह्नका रूपमा देखिएको थियो ।

सतित्वहरणपछि पत्थरझैँ विवेकहीन अवस्थामा रहेपछि ऋषिले अहिल्यालाई शिला हुने श्राप दिएका र त्रेतायुगमा मर्यादा पुरूष रामचन्द्रको जन्म हुने र उनकै पाउ स्पर्शपछि अहिल्याको श्राप मोचन हुने भनिएको छ । पनौतीस्थित इन्द्रेश्वर महादेव मन्दिरको उत्तरपूर्व कुनामा अवस्थित अहिल्या (शिला) लाई काठमाडौंको काष्ठमण्डपपछि पुरानो कलाकौशलयुक्त मन्दिरको रूपमा गन्निछ । शरीरभरि योनी भएका देवराज इन्द्र पनौतीमा आई १२ वर्षसम्म ‘श्री महादेव’को तपस्या र भक्ति गर्दा पापमुक्त भएपछि सोही बेलादेखि मकर मेला निरन्तररूपमा चल्दै आएको जनविश्वास रहेको छ ।

अर्को किंवदन्तीअनुसार पाटन र पनौतीमा ठूलो खडेरीपछि अनिकाल हुँदा दुवै ठाउँका तान्त्रिक फुल्चोकी माईकहाँ पूजापाठ गरी पानी माग्न पुगे । दुई क्षेत्रबीच पानी लैजाने होडबाजी चलिरहे पछि फुल्चोकी माताले जसले पहिलो चाँदी र सुनको फूल चढाउँछ उसलाई वरदान दिने भनेकी थिइन्। यसपछि सुन र चाँदीवाला पाटनका तान्त्रिकले ती फूल बनाउन दिए, यता पनौतीका तान्त्रिकले आफूसँग जान्ने कालीगढ नभएको जनाउँदै तोरी र मूलाको फूल (सुन र चाँदीजस्तो देखिने) चढाएपछि सुन-चाँदीका निम्ति प्रख्यात पाटनलाई भन्दा मूला, तोरी र साग खेती गर्नेलाई पानीको अभाव छ भन्दै खुसी हुँदै फुल्चोकी माताले पनौतीतर्फ पानी पठाइदिएकी थिइन् ।


६ वर्षपछि सुन र चाँदीको फूल बनाएर फुल्चोकी मातालाई चढाएर आफूहरूलाई पनि वरदान पाउनुपर्ने बताएपछि माताले उक्त पानी आधा गोदावरी पठाएकी थिइन् । यसपछि १२ वर्षको अन्तरमा गोदावरी मेला र १२/१२ वर्षमा मकर मेला लाग्ने गरेको जनविश्वास छ । जन्मदेखि मृत्युसम्मका धार्मिक क्रियाकलाप हुने पनौतीको उक्त त्रिवेणी सङ्गममा हरेक वर्षको माघ महिनामा साँखु र भक्तपुरमा माधवनारायण देवतालाई यहाँ ल्याएर दुई दिनसम्म राखिने पनि गरिन्छ ।

सूर्य धनु राशिलाई छोडेर मकर राशिमा प्रवेश गरेको पहिलो दिन माघदेखि एक महिनासम्म १२ वर्षमा एक पटक मेला लाग्ने भएकोले यसलाई मकर मेला भनिएको हो । सूर्य मकर राशिमा रहेका बखत अर्थात् प्रत्येक १२ वर्षमा पनौती (काठमाडौंबाट करिब ३२ कि.मि. पर पर्ने बनेपा सहरको दक्षिणतिर रहेको शहर) मा मकर मेला लाग्छ । लिच्छवि कालीन राजा मानदेवको पालादेखि नै सुरु भएको अनुमान रहेको यो मेलामा असङ्ख्य भक्तजनको जमघट रहँदै आएको ऐतिहासिक प्रमाण छ तर पनौती मेलाको चर्चा स्कन्द पुराणमै पनि भेटिनु र लक्ष्मणलाई बचाउन हनुमानले ल्याएको बुटी यहीँ खसेको थियो भन्ने चर्चा पाइनुले त्योभन्दा पनि अघिदेखि चल्दै आएको अनुमान गर्न सकिन्छ । विश्व सम्पदा सूचीमा रहेको पनौती क्षेत्र आफैमा प्रसिद्ध तीर्थ क्षेत्र हो ।

रोशी नदीको जल हत्केलामा राखी गुरू गोरखनाथमा अर्पण गरे मानिसको इच्छासिद्धि हुने विश्वास रहेको छ । नजीकै रहेकी पुण्यमती नदीमा प्रदूषण रहेकाले मेला भरि रोशीबाट विशेष जल प्रवाह गराइने कुरा मेला आयोजक समितिबाट थाहा भएको छ । मकर मेला, त्रिवेणीस्नानले शरीर र मन दुवैको रोग नाश हुन्छ भन्ने पौराणिक कथनअनुसार सत्ययुगमा देवताका राजाले आफ्नो शरीरमा लागेको श्राप जन्य रोग पनौती उपासनाबाटै निको पारेका थिए भन्ने भनाई रहेको छ ।

गुरू वृहस्पतिको उपदेशले पनौतीको गोरखनाथ पर्वत नजीकै पुण्यवती (पद्मावती) र लीलावती खोलाको सङ्गममा इन्द्रले शिवको र शचीले पार्वतीको १२ वर्षसम्म तप गरे। तपका प्रभावले पार्वती पुण्यवती रूपमा प्रस्तुत भई रोशी खोलाको सङ्गममा झरेपछि स्वयं शिवजी प्रकट भइ शिवलिङ्गको उत्पत्ति भयो । त्यही शिवलिङ्गबाट महादेव प्रकट भै इन्द्रलाई भने – यहाँ इन्द्राणीले तपस्या गरी रुद्रावती नदीको उत्पत्ति भएकाले यो ठाउँको नाम शची तीर्थ रहन गएको हो । यो शची तीर्थमा नुहाएपछि निधारमा रहेको योनिबाहेक अरू सबै योनि तिम्रो शरीरबाट लुप्त हुनेछन् । यो शिवलिङ्ग नामले इन्द्रेश्वर भनी प्रसिद्ध हुनेछ र यसले मानिसहरूलाई इच्छानुसार फल दिनेछ । त्यसपछि महादेवले भनेअनुसार इन्द्रले इन्द्रेश्वर महादेवको बारम्बार परिक्रमा गरी ज्येष्ठ शुक्ल पूणिर्माका दिन शची तीर्थमा नुहाए । यसरी इन्द्रको शरीरबाट श्राप चिन्हहरू हटे । हिजोआज पनि इन्द्रेश्वर शिवको दर्शन गर्नाले कामुकताको दोष हट्ने विश्वास छ । १२/१२ वर्षमा मेला लाग्ने कारण पनि यही हो ।

इन्द्राणीको तपस्याबाट प्रसन्न भएर माघ महिनाको पुण्य घडीमा रुद्रावती नदीको रूप लिई पार्वती त्यहाँ गुप्तरूपले बग्न थालिन्। दिव्यचक्षुले इन्द्राणीले रुद्रावती नदी बगेको देखिन्छ । पनौतीका बासिन्दाहरू प्रयागमा गङ्गा र यमुनाको सङ्गममा गुप्त रूपले सरस्वती मिसिन आएझैं यहाँ पनि पुण्यमाता र रोशीको सङ्गममा गुप्त रूपले रुद्रावती मिसिन आएकी छिन् भन्ने विश्वास गर्छन् । त्यसैले पनौती घाटलाई उत्तरप्रयाग नामले पनि चिनिन्छ ।
नब्बे सालको महाभूकम्पबाट पनि कुनै क्षति नभएको पनौतीलाई बासुकी नागले सुरक्षित गराएका छन् भन्ने विश्वास छ । पाँच दर्जनभन्दा बढी मठ, मन्दिरहरू रहेको ऐतिहािसक पनौती क्षेत्रमा ढिकी कुट्ने चलन पहिलेदेखि नै छैन । भक्तहरूले पनौतीघाटमा स्नान गरेपछि वासुकी, ब्रहृमायणी, घनञ्जय र इन्द्रेश्वर शिवको पूजा गर्ने गर्छन् । यसो गर्दा ठूलो पुण्य मिल्ने शास्त्रकारहरूको कथन छ ।


मेला व्यस्थापनः
एक महिनासम्म लाग्ने उक्त मेलालाई थप व्यवस्थित बनाउन ढाँडाचौर-सूर्यविनायक-मानेदोभान तथा रानीकोट-सूर्यविनायक-जाकीडोल र पनौतीबाट बिपी राजमार्ग जोड्ने सडक पूणर्रूपले सञ्चालनमा ल्याउन निर्माण एवं स्तरोन्नति भइरहेको छ । अघिल्लोपटक (बि.सं. २०५४) करिब ५० लाखले सहभागिता जनाएको यस मेलामा (बि.सं.२०६६) एक करोडको सहभागिता रहेको अनुमान गरिएको छ । नौती संघीय राजधानी काठमाडौँबाट पूर्वतर्फ २५ किलोमिटरको बनेपाबाट ६ किलोमिटर दक्षिणमा पर्दछ । नगरले निर्माणाधीन पनौती-बाँसडोल, पनौती-खोपासी, पनौती-कुशादेवी, पनौती-बनेपा र पनौती आशापुरी सडकलाई स्तरोन्नति (पक्की) गरी यथाशक्य सञ्चालनमा ल्याइने नगरप्रमुख भीम न्यौपानेले बताए ।


सात डवलीको नगर पनौती संस्कृति र कलाको प्राचीन नगरी हो । मनोरञ्जन, चाडपर्व, भोजभतेर र भलाकुसारीकोलागि यहाँ लायकु, नवदुर्गा, हरिसिद्धि, महादेव (इन्द्रेश्वर), जलाँ, नास र कालीका डवली प्रसिद्ध रहेको थियो । पनौतीमा मकरमेला भौतिक निर्माणका लागि चालू आर्थिक वर्षदेखि नै नगरले रु ३ करोडभन्दा माथि बजेट छुट्याइएको नगरप्रमुख न्यौपानेले बताए । कोरोना संक्रमणको जोखिमका कारण स्वास्थ मापदण्ड अपनाएर सामाजिक दूरी कायम गरी एक स्थानमा २५ जना गरी १ पटकमा करिब ४ सय जनाले नुहाउने व्यवस्था मिलाएको पनौती नगरप्रमुख भीम न्यौपानेले दाबी गरे । मेलाको रुपमा सञ्चालन नगर्ने निणर्य जिल्ला कोभिड संकट व्यवस्थापन समिति र पनौती नगरपालिकाले गरेको छ । दुवै संस्थाले जारी गरेको सूचनामा २५ जना भन्दा कम तथा भीडभाड नहुने गरी स्वास्थ्यसम्बन्धी सम्पूणर् सुरक्षा मापदण्ड अपनाएर मकर स्नान गर्न भनिएको छ ।


पच्चीस वर्षपछि
‘विश्व सम्पदा’ मा सूचीकृत हुँदै पनौती ऐतिहासिक, धार्मिक-सांस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुने भएको छ । संयुक्त राष्ट्र सङ्घीय निकाय (युनेस्को)द्वारा २५ वर्षअघि प्रस्तावित काभ्रेपलाञ्चोकको पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्ने कामले यो वर्ष तीव्रता पाएको समेत नगरले जनाएको छ । सूचीकृतको अन्तिम प्रक्रियाका लागि मन्त्रिपरिषद् बैठकको निणर्यको पर्खाइमा छ । पनौती नगरलाई विश्व सम्पदामा सूचीकृत गर्ने कार्य गत साल नै अघि बढाइएपछि युनेस्कोको नेपाल प्रमुख क्रिष्टियन मनहर्टले हालै पनौतीका ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाको अवलोकन गरेका थिए । अवलोकनका क्रममा मनहर्टले विशेष रुचिपूर्वक मठमन्दिर तथा पुराना नेपाली मौलिकता बोकेका घरलाई विश्व सम्पदामा सूचीकृत गर्न युनेस्को तयार भएको बताए ।


विश्व सम्पदा र पनौती
“हामी बाह्रवर्षे मकर मेला (२०७८ माघ) अगावै विश्व सम्पदा सूचीमा सूचीकृत हुने तयारीमा छौँ, चालू आर्थिक वर्षमा यसका लागि बजेटसमेत विनियोजन गरेर काम अघि बढाइएको छ’, नगरप्रमुख भीम न्यौपानेले भने । उनका अनुसार नगरले चालू आर्थिक वर्षमा विश्व सम्पदामा सूचीकृत गराउन १ करोड बजेट छुट्याएको छ ।

सूचीकृतको यस प्रक्रियामा आफूद्वारा पुनःनिर्माण गर्ने ७२ वटा मौलिक नेपाली घरको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) समेत स्थानीय आरपी फाउण्डेशनले नगरलाई हस्तान्तरण गरिसकेको छ । उनका अनुसार नगर कार्यालयद्वारा सांस्कृतिक पर्यटन विकासका लागि कलात्मक काठ बनाउने तालीम, होमस्टे (घरबास) सञ्चालन र पुरातात्विक सम्पदाको संरक्षण कार्यक्रम सञ्चालन गरेको छ । काभ्रेपलाञ्चोकको पनौती विश्व सम्पदामा सूचीकृत भएपछि ‘पनौती यूनेस्को विश्व सम्पदा क्षेत्र’ भनिने छ ।
युनेस्कोले कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्व राख्ने (जस्तैः वन, पहाड, ताल, द्वीप, मरुभूमि, स्मारक, भवन, वा सहर) धरोहरलाई आफ्नो सूचीमा सूचीबद्ध गर्ने गर्दछ । जुन विश्व सम्पदा समितिद्वारा चयन गर्ने गरिन्छ । पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन २०३१ अनुसार २०५८ सालमा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ । युनेस्कोको नेपालस्थित निकायले २०५२ सालमै पनौतीलाई मध्यकालीन वास्तुकला क्षेत्र जनाउँदै विश्व सम्पदामा सूचीकृत गर्न प्रस्ताव गरेको थियो ।

पुरातत्व विभागका अनुसार नेपालका चार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ । जसमा काठमाडौँ उपत्यका (उपत्यका सात क्षेत्रः काठमाडौँ दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथको मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ र चाँगुनारायण मन्दिर), चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन् ।
नेपालले हालसम्म पनौतीसहित १५ वटा ऐतिहासिक एवं पर्यटकीयस्थललाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युनेस्कोसमक्ष प्रस्ताव गरेको छ । यसमध्ये सूचीकृतमा पनौती पहिलो हुने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *