प्रकाशप्रसाद उपाध्याय, काठमाडौं । २०७९ असोज

आस्था, सद्भाव र समन्वयको पर्व ! हर्षोउल्लासका साथ मनाइने विजय उत्सव ! असत्य माथि सत्यको जीतको महाउत्सव ! दशैं आफैंमा विश्वास, भरोसा र भविष्यको सांकेतिक प्रतिक हो । दशैंको सेरोफेरो सामाजिक परिवेशको सकारात्मक र उर्जाले भरिएको आनन्दमय पर्व हो । विजया दशमीे हाम्रो समाजको मूल पर्व भएको हुँदा यसले राष्ट्रिय पर्वको रूपमा मान्यता पाएको छ । शक्तिपर्वको रूपमा हामी यस अवसरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आशिर्वाद पाई आरोग्यमय जीवन बिताउन, दीर्घायु र सुख-शान्ति पाउन र शक्तिशाली जीवन व्यतीत गर्नको लागि नौ दिनसम्म उनको पूजा-आराधना गर्दछौं ।

स्था, सद्भाव र समन्वयको पर्व ! हर्षोउल्लासका साथ मनाइने विजय उत्सव ! असत्य माथि सत्यको जीतको महाउत्सव ! दशैं आफैंमा विश्वास, भरोसा र भविष्यको सांकेतिक प्रतिक हो । दशैंको सेरोफेरो सामाजिक परिवेशको सकारात्मक र उर्जाले भरिएको आनन्दमय पर्व हो । विजया दशमीे हाम्रो समाजको मूल पर्व भएको हुँदा यसले राष्ट्रिय पर्वको रूपमा मान्यता पाएको छ । शक्तिपर्वको रूपमा हामी यस अवसरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आशिर्वाद पाई आरोग्यमय जीवन बिताउन, दीर्घायु र सुख-शान्ति पाउन र शक्तिशाली जीवन पाउनको लागि नौ दिनसम्म उनको पूजा-आराधना गर्दछौं ।
यो चाडलाई नवरात्र पनि भनिन्छ् । यस अवसरमा देवीका विभिन्न स्वरूपको पूजा गरिन्छ । जस्तै पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कूष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैठौं दिन कात्यायिनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको रूपमा विधिविधानपूर्वक पूजा गरिन्छ । देवीका यी विभिन्न रूपहरूको पूजा गरेबाट आ-आफ्नै किसिमको फल पाइन्छ भन्ने मान्यताले गर्दा नवरात्रभरि यी देवीको पूजा गरिन्छ । यस अवसरमा शक्तिस्थलहरूमा भक्तजनको अपार भीडको उपस्थितिले देवीको महिमा गान गरिरहेको हुन्छ । दशौं दिन विजादशमीको पावन दिन हुन्छ, जसमा घरका माता-पिता एवम् अन्य मान्यजनहरूबाट देवीको प्रसादको रूपमा जमरा र टीका ग्रहण गर्दै आशिर्वाद लिने गरिन्छ ।

शक्ति एउटा यस्तो वस्तु हो जसको सबै प्राणीलाई आवश्यकता पर्दछ । शक्तिको अभावमा हामी निश्चल हुन्छौं । पौराणिक गाथाबाट जानिएअनुसार आसुरी प्रवृत्तिका दैत्य-दानवहरू एकातिर देवी देवताको तपस्यामा लीन भई शक्ति
उपार्जन गर्ने गर्दथे र देवगण पनि असुरहरूसित लड्नको निम्ति देवीबाट आशिर्वाद प्राप्त गर्ने गर्दथे भने सामाजिक जीवन बिताउने, परिवारको कल्याण चाहने मानव जातिले शक्तिकी यस अधिष्ठात्रीको पूजा नगर्ने कुरै भएन । फेरि यो एउटा यस्तो चाड हो जसमा मानिसले दश दिनसम्म हर्ष, उल्लास र भक्तिमय वातावरणमा चिन्तामुक्त जीवन बिताउन पाउँदछ । मिठो-मिठो कुरा खान, नयाँ र राम्रा-राम्रा लुगा लाउन पाउँदा केटाकेटीहरू रमाउँदछन् र आफ्ना बन्धु-बान्धव र कुटुम्बजनलाई भेट्न पाउँदा दंग पर्दछन् । यसरी यो एउटा पारस्परिक सद्भाव स्थापनाको पर्व हो । मान्यजनहरूप्रति आदरभाव अभिव्यक्त गर्ने पर्व हो । सम्मान प्रकट गर्ने दिन हो । आफ्नो कामको सिलसिलामा आफ्ना बाबु-आमादेखि टाढा बस्नेहरूकालागि यो पुनर्मिलनको पर्व हो । सम्मान, सद्भाव र पारस्परमा प्रेमभाव प्रकट गर्ने पर्व हो ।

राजधानी काठमाडौंका सडकहरूबाट दशैंको पर्वको प्रभाव सुरु भएको संकेत प्रष्ट हुन थालिसकेको छ । सडकहरूमा ट्र्याफिक ज्यामको वातावरण विलुप्त हुन थालेको छ । किनभने मोटरगाडी, मोटर साइकिल र स्कुटीहरू गुड्न कम भइसकेका छन् । राजधानीबाट बाहिर आई काम गर्नेहरू आ-आफ्ना जिल्ला र पैतृक घरहरूमा फर्किन थालिसकेका छन् । राजधानीका स्थानीयहरूको भीड बजार र पसलहरूमा बढ्न थालिसकेको छ । व्यापारीहरूलाई कुरा गर्ने फुर्सत छैन । अनेक घरहरूबाट खसी, बोका र च्याङ्ग्राहरू कराउन थालेका आवाज आउन थालिसकेको छ । केटाकेटीहरूले रमाएर गाउन थालेका छन् – दशैं आयो, खाउँला पिउँला भन्दै । आजका दिनहरूमा अनेक मानिसहरू बलिप्रथाको विरोधी भएका छन् । तर देवीलाई यी बोकाहरू बलि चढाउनेहरूले महिषासुरमर्दिनी देवीले अष्टमीकै दिन महिषासुरको वध गरेको र देवीले पनि बलिको चाहना राख्ने गरेको तर्क दिँदै नवरात्रका दिनहरूमा देवीलाई प्रसन्न पार्न सके बोका, नसके हाँस, बत्तक, कुखुरा आदि बलि दिन लै जाने गर्दछन् । शक्तिस्थलहरूमा यी जनावरहरूका रगतको खोला बग्ने गर्दछ ।

तराई क्षेत्रमा मण्डपको स्थापना गरी देवी भगवतीको भक्तिभावका साथ पूजा गर्ने गरिन्छ र दशमीको दिन नजिकका नदी वा पोखरीहरूमा उक्त प्रतिमाको विसर्जन गर्ने गरिन्छ । स्थानीय शक्तिस्थलहरूमा बिहान भक्तजनहरूको अपार भीड हुन्छ भने बेलुकी अनेक ठाउँमा राम लीलाको आयोजना हुन्छ र दशौं दिन अत्याचार, अन्याय र अहंकारको प्रतीक दशानन रावणको पुतलालाई जलाउँदै अन्यायमाथि न्यायको, असत्यमाथि सत्यको विजय भएको कुरा सुन्ने गरिन्छ । तर के यस किसिमको कृत्यबाट समाज वा राष्ट्र अन्याय र अत्याचारबाट मुक्त हुनसकेको छ ? आज पनि जताततै अन्यायको बोलबाला छ, निमुखाहरूमाथि बलशालीहरूको अत्याचार भइरहेछ, शोषण भइरहेछ, जुन कन्यालाई देवीको प्रतीक ठानेर नवमीको दिन पूजा गरिन्छ, तिनै केटीहरू आसुरी प्रवृत्तिका युवा र बलशालीहरूका बलात्कारका सिकार हुने गर्दछन् ।

बलात्कारबाट मात्र नपुगेर तिनीहरूको हत्यासमेत गर्ने गरिएका घटनाहरू समाचारमाध्यमहरूबाट आउने र सुन्ने गरिन्छ । बुहारीका रूपमा भित्रिने युवतीहरू दाइजोको नाउँमा पीडित हुने गर्दछन् । यसो हुँदा प्रश्न उठ््छ – यो पुतलादहनको नाटक किन ? रामलीलाको अभिमञ्चन हामीले पनि किशोरावस्थामा गाउँमा देखेका हौं, पुतलादहन हेर्न गएका हौं । तर राम नामधारीहरूले रामले स्थापित गरेसरह मर्यादाको कतिसम्म पालन गरे, सोच्नु परेको छ । भाईहरूको व्यवहार लक्ष्मणसरह कत्तिको देखियो ? चिन्तन गर्नुपरेको छ । आधुनिक सीताहरूको अपहरणका समाचार भने सुन्ने गरिन्छ । रावणले पनि देवी सीताको अपहरण गर्‍यो तर उनको पतिव्रत्य धर्ममाथि चोट पुर्‍याएन । धम्कायो, तर्सायो तर सीताको इच्छाको विरुद्ध जोरजबर्जस्ति गरेन । वासनाको सिकार बनाएन । पौराणिक गाथाले त्यसै भन्दछ । तर वर्तमान युगका एकटाउके रावणहरूले अपहरण र बलात्कार मात्र गर्दैनन्, वासना पूरा हुनासाथ हत्यासमेत गर्न हच्किदैनन् ।

आज जताततै जनहितको नाउँमा होस् कि समाजसेवाको नाउँमा्, विकृतिको बोलबाला छ । बजारमा सर्वत्र महँगी छ, स्कूलमा शिक्षा र अस्पतालहरूमा उपचार महँगा छन्, कार्यालयहरूमा भ्रष्टाचार छ, सडकमा दण्डहीनता छ, घरभित्र हिंसाको वातावरण छ । सबैले यो कुरा थाहा पाएका छन् । तर यसलाई रोकथाम गर्ने साहस कसैमा छैन । सरकारले दशैंको अवसर पारेर सुपथ मूल्यका पसलहरू ठाउँ-ठाउँमा खोलेको छ । जनकल्याणको यो योजना प्रशंसनीय छ । तर के दुई-तीन साताको यस संक्रियाबाट देशबाट महँगी समाप्त हुनेछ । पसलेहरूको लुटतन्त्र समाप्त हुनेछ ? के वर्षभरि यस किसिमको व्यवस्था गरी जनतालाई राहत पुर्‍याउने व्यवस्था गर्न सकिँदैन ?

विजयादशमीको यो पर्व हरेक वर्ष आउँछ, यस्ता धार्मिक, सांस्कृतिक र सामाजिक दृश्यहरू आँखा अगाडि प्रकट भइरहन्छन्, तर चाड सकिनासाथै सबै आ-आफ्ना धन्धामा व्यस्त हुन्छन् । महँगी बढोस् कि भ्रष्टाचार सरोकारवालालाई समेत वास्ता हुँदैन । गणतन्त्र आएपछि शोषणमुक्त समाजको स्थापना हुन्छ भन्ने सपना देख्दै आन्दोलनमा होमिनेहरू असहाय र निरुत्साहित जीवन बिताइरहेछन् । सपना देखाउनेहरू रमाइरहेछन् । जनतालाई भेडा बाख्रा सम्झिदै सडकमा ओराल्ने योजना बनाउन र जनता पनि आफ्ना कथित भाग्यविधाताहरूका निर्देशअनुसार सडक तताउन सदैव तम्तयार हुन्छन् । परिवारको लागि सुख-शान्तिको चाहना र कामना राख्नेहरू दैवी शक्तिमाथि विश्वास राख्दै र पूजाको थाल बोक्दै मठ-मन्दिर र शक्तिस्थलहरूको यात्रा गरिरहेका हुन्छन् । किनभने उनीहरूले सुनेका छन् – महिषासुरहरूको उत्पातले जब पराकाष्ठा नाघ्छ र पापको गाग्रो भरिन्छ, अनि एउटा शक्तिको उद्भव हुन्छ । तर कहिले ? उनीहरूलाई थाहा हुँदैन । उनीहरूले सुनेका हुन्छन् – “यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत” । तर यी शक्तिहरूको अवतरण कहिले हुने हो कसैले भन्न सक्दैन । पुराणवाचकहरूलाई सोध्यो, उनीहरूको जवाफ हुन्छ- ‘पुराणमा यस्तै लेख्या छ हजुर, हामीलाई के थाहा ?’

तर पनि विश्वास र आस्थाका वशीभूत जनता मठ-मन्दिर र शक्तिस्थलहरू पुग्ने गर्दछन्, विजयादशमी मनाउँदछन्, पुतलादहन कार्यक्रममा उत्साहका साथ सरिक हुन्छन्, जन्माष्टमी मनाउँदछन् र रामनवमी मनाउँदछन् राम्रा दिन आइ हाल्दछ कि भन्ने आशामा । दशाननको पुतला जल्दछ तर समाजका एकटाउके रावणहरू अट्टहास गर्दै लीन हुन्छन् शोषण, दमन, अत्याचार र बलात्कार आदि कृत्यहरूमा । किनभने उनीहरूलाई थाहा छ उनीहरूलाई प्राप्त शक्तिको अगाडि सबै नतमस्तक हुने गर्दछन् ।

प्रकाशप्रसाद उपाध्याय

Leave a Reply

Your email address will not be published. Required fields are marked *