हेमलता सुवेदी(खनाल), काठमाडौं | २०७९ कार्तिक २७, आइतबार

वर्तमान आधुनिक समयमा जति विधि, प्रविधि ज्ञान बिज्ञानको विकास हुदै गएको छ त्यतिनै शारिरिक स्वास्थ्य समस्या र मानसिक स्वास्थ्य समस्याले पनि समाजलाई चुनौती दिदै त्रसित बनाई राखेको छ । शारिरिक स्वास्थ्य सरह मानसिक स्वास्थ्य पनि समाजको विकासका लागि स्वस्थ हुनु नितान्त आवश्यक भएकोले यसलाई सबैले राम्रो सँग बुझेर ब्यवहारमा उतार्न आवश्यक छ । मानसिक स्वास्थ्य मानिसको भावनासंग सम्बन्धित हुन्छ । कुनै पनि व्यक्तिको समाजप्रति, आफुप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुका साथै आफुमाथि विश्वास गर्दै हरेक समस्यालाई समाधान गर्नुका साथै जीवनमा कुशलतापूर्वक अगाडि बढ्दै जानु भनेको नै मानसिक रुपमा स्वस्थ हुनु हो ।

यदि व्यक्तिमा एक्लोपना ,चिडचिडे बानी आफ्नो जीवन प्रतिको डर त्रास आदि अवसादका रुपमा बढ्दै गएर मानसिक समस्याहरु विभिन्न रुपमा निम्तिन गयो भने व्यक्तिको पारिवारिक सामाजिक जीवन विकराल हुन पुग्दछ। यिनै मानसिक समस्याले मानसिक स्वास्थ्यमा असर पार्ने हुनाले बेलैमा समस्या पहिचान गरेर रोकथाम गर्न, घर परिवार लगायत समाजका हरेक निकायले सहयोग गर्न नितान्त आवश्यक छ । अहिले पनि हाम्रो समाजमा चेतनाको अभावमा मानसिक समस्या भएको व्यक्तिलाई हेयको दृष्टिले हेरिन्छ । बिगतभन्दा हिजो आज यस समस्यालाई हेर्ने दृष्टिकोणमा केहि परिवर्तन आए तापनि यसको रोकथाम र उपचार बारेमा अझै चेतनाको अभाव छ । शरीरमा विभिन्न रोग लागेर शारिरिक समस्या आए जस्तै मानिसको सोच बिचार मानसिक स्वास्थ्यमा पनि समस्याहरु आउन सक्छ ।जसलाई विभिन्न मनोचिकित्सकको सरसुझाव ,योग, प्रणायाम ध्यान , सन्तुलित आहारका साथै अन्य उपचार पद्धतिद्धारा सुस्वस्थ राख्न सकिन्छ भन्ने चेतना जगाउने काम राज्यबाट बृहत रुपमा प्रचार प्रसार गर्न आवश्यक छ । विश्व स्वास्थ्य संगठनका अनुसार मानसिक स्वास्थ्य एउटा यस्तो स्थिती हो जसमा व्यक्तिलाई आफनो क्षमताको ज्ञान हुन्छ जसले गर्दा त्यस व्यक्तिले अरुसंग सकारात्मक रुपमा ब्यवहार गर्नका साथै आफ्नो तनावलाई कुशलतापूर्वक ब्यवस्थापन गर्दै जीवनमा अगाडी बढ्न सक्छ ।

विश्वमा १०० भन्दा बढी देशले हरेक वर्ष अक्टोवर १० लाई मानसिक स्वास्थ्य दिवसको रुपमा मनाई राख्दा नेपालमा पनि केहि कार्यक्रमहरु गरेर औपचारिकताको रुपमा यस दिवसलाई मनाईन्छ तर यसको दिगो समाधानका लागि सरकारको सक्रियतामा ढिलासुस्ती मात्र देखिन्छ । राज्यले सक्रिय रुपमा मानसिक स्वास्थ्यको प्रवर्द्धन, बढ्दो मानसिक समस्याको रोकथाम र उपचारका लागि सजग भई टड्कारो रुपले निति नियमहरु बनाएर प्रष्ट हुन आवश्यक छ । केहि संघसस्थाहरुले यस विषयमा पहल गर्न खोज्दा राज्यका सम्वन्धित निकायबाट सक्दो सहयोगको अभावमा मानसिक स्वास्थ्यको अवधारणा जनमानस अगाडि ओझेल हुँदै विस्तृत र सरल रुपमा चेतना जगाउने र प्रर्वद्धन गर्ने काममा अवरोध ल्याउछ जसले गर्दा मानसिक समस्याले हाम्रो समाजमा जटिल र विकराल रुपमा जरा गाड्दै गएको देखिन्छ । मानिसहरुमा आफ्नो विभिन्न वातावरणीय समस्याका साथैे बर्तमान् कोभिड समस्याले पनि मानसिक समस्या निम्त्याउनमा धेरै सहायक हुन गएको छ तसर्थ हामी सबैमा पनि मानसिक सुस्वास्थ्यको लागि आफू जागृत भई खुलेर आफ्नो तर्फबाट उचित प्रयास र अभ्यास गर्न नितान्त आवश्यक छ ।

मानसिक स्वास्थय पनि देश विकासका लागि महत्वपुर्ण छ किनकि देशमा दिनदिनै मानसिक समस्याले ग्रसित नागरिकहरुको संख्या बढ्दै गयो भने उनीहरुको कार्य क्षमता र सहभागितामा कमी आएर देशको आय आर्जन घट्न थाल्छ र आर्थिक उत्पादकत्वमा असर पुग्छ । विश्व स्वास्थ्य संगठनले प्रत्येक वर्ष एउटा स्लोगन लिएर मानसिक दिवस मनाउनुको मुल उद्धेश्य नै विश्वमा मानसिक स्वास्थ्य बारेमा चेतना जगाउनु हो । तसर्थ हरेक व्यक्तिले मानसिक स्वास्थ कल्याणका लागि समाज घर परिवारदेखि व्यक्तिको कार्यगत स्थलसम्म मानसिक समस्याले ग्रसित मानिसहरुको पहिचान गरि सहयोगी भावनाले चेतना जगाउदै आफ्नो समस्याहरु खुलेर व्यक्त गर्दै समाधान तिर लाग्न जरुरी छ भन्ने कुरा अवगत गराउदै हौसला प्रदान गर्न र चेतना जगाउन अति आवश्यक छ जसले गर्दा मानसिक सुस्वास्थ्य भविष्यमा सुदृढ समाजको एैना बन्न पुगोस ।

हेमलता सुवेदी(खनाल)

Leave a Reply

Your email address will not be published. Required fields are marked *