अगनसिंह थापा | २०७९ भाद्र

परोपकार र पुनर्मिलन दुबैबाट अलौकिक आनन्द मिल्छ मान्छेलाई !!


गण्डकी बोर्डिङका अन्य जमघटमा सामेल भएपनि स्वास्थ्य शिविरमा सामेल हुने मौका मिलेको थिएन । कहिले यो र कहिले त्यो कामले पर्खाल लगाइदिएकोले “स्वास्थ्य शिविर” केवल सपनामा सीमित थियो । सधै सपना सजाउनु तर सधै बन्चित भैरहनु भनेको मनभित्र अतृप्ति र औडाहाका बेचैनीहरू हुर्काउनु रहेछ ।


“कृपया यसपालिको स्वास्थ्य शिविर र पुनर्मिलनमा सहभागी भैस्योस है दाजु हजुर“ रेखा शाह कार्की बैनीबाट मेसेन्जर बक्समा प्रेमपूर्वक पठाइएको सुखकर सूचनाले उन्मुक्त बनायो मलाई । अहिलेसम्म नजुरेको साइत यसपालि जुर्ने भयो भनेर । जतिजति नजिकिदै छ दिन उतिउति वैशालु भएर आउदैछु अनुभूतिहरूमा म ।


अन्ततः त्यो बहु प्रतीक्षित दिन पनि आयो । आज त सबैसँग पुनर्मिलन पनि त हुनेछ । मनमा जागेको यही स्फूर्तिले मलाई बिहानैदेखि चङ्गा बनाइरहेछ  । एकाबिहानै होम भट्ट भाइबाट गराइएको स्मरणले पनि उस्तै उत्साह थपिएको छ ।
बिहानको पौने ८ बजे शिविरमा ३ थान गाडीले मजस्ता सहभागी गण्डकीयन (गण्डकी बोर्डिङ स्कुलका भूतपूर्व विद्यार्थी)लाई उतारिसकेको छ । स्वास्थ्य शिविर सम्पन्न हुने खोकना स्थित जितापुर गन्धकुटी बिहार परिसरमा । गण्डकी बोर्डिङका भूतपूर्व विद्यार्थी संगठन (एग्बोसा), काठमाडौंले आयोजना गरेको एक दिवसीय निःशुल्क स्वास्थ्य शिविरमा मैले पनि सहभागी हुने सौभाग्य पाएको त्यो दिव्य दिन थियो– २०७९ बैशाख १० गते शनिबार ।


के बिरामी ? के साथ सहयोगका लागि आएका स्थानीयबासी ? एकाएक सवैले हामीलाई घेरिहाले । यसरी घेरे मानौं कि हामी सबै सेलिब्रेटी हौ र सजिलै जोकोहीले देखभेट गर्न सक्दैनन् । एग्बोसा, काठमाडौंले यही शिविरको लागि भनेर बनाएको टिसर्ट भकाभक वितरण हुँदै थियो । नास्ताको लागि निम्तो आयो । स्व. देवबहादुर डङ्गोल स्मृति कोष खोकनाका सदस्यहरूबाट । जाम, पाउरोटी, चना, चिया र केही फलफूलले सत्कार गरिएको छ । नास्ता सामान्य नै हो । तर स्वाद असमान्य लाग्दैछ । के सद्भाव र सत्कारबाट प्राप्त सुखद वातावरणले खानेकुराको स्वादलाई समेत वृद्धि गर्छ ? सायद मनको सिधा सम्बन्ध स्वादसंग गासिएको हुन्छ ।


आ–आफ्नै हिसाबले ब्यस्त छन् सबैजना । आजको दिन खोकनाका स्वास्थ सेवाग्राहीलाई सक्दो साथ सहयोग गर्नु छ । अन्य काम पन्छाइकन यहीँ परोपकारी भावनाबाट तानिएर एकत्रित भएका छौ हामी । कृष्ण दाइ, अर्जुन दाइ, रेखा बैनी लगायतलाई पहिलेका आयोजित कार्यक्रमहरूमा जस्तै जोशजागरकासाथ लागिपरेको देखिरहेकोछु । कोही गण्डकीयन बिरामी ब्यवस्थापनतिर लागेका छन् त कोही नाम टिपाउन र बिरामी कार्ड दिलाउन तिर । चिकित्सक र सहयोगी भाइबहिनीहरू फरकफरक रोग परीक्षणका लागि छुट्याइएको संबंधित परीक्षण कक्षतिर लागिसके ८ बज्नासाथ । निःशुल्क औषधी वितरण गर्न भनेर तैयारी अवस्थामा बसेका छन् केही भाइबहिनीहरू । उपचारमा आएका स्थानीय बिरामीहरूको जमात जात्रा भर्न निस्केको भीडभन्दा कम छैन ।


बिहानको घाम आगन हुँदै बौद्ध संस्कृतिकै धरोहर जितापुर गन्धकुटी बिहारकै छातामाथि चढ्यो । हामी पनि दिवा खानाको लागि छत चढ्यौ । छत सगोलको भवनको थियो । “यो मिचो ह्वःगुमी (टुसा उमारेको मेथी)को अचार, यो पनि मिचो (मेथी) कै साग … ।” स्वागतमा उभिइरहेकी एक स्थानीय युवतीले खानाको परिकार प्रष्ट्याउदै भनिन् । तारेको करेला र घुलो गुन्द्रुकको परिकारले पनि स्वादिलो बनाएको छ आजको शाहाकारी नेवारी खानालाई । कुनै तारे होटलको भन्दा कम छैन कुकको पाकशिल्प पनि । यही लन्चरुपी ’खाना’ थप्ने क्रममा पुनर्मिलनको अर्को अतिशय सुखद अनुभूतिको
स्वाद पनि थपियो ।


‘भाइ लमजुङ होस्टलको होइन ?’ स्वर र शैली त पुरानै हो । जस्तो स्कुलका पुराना दिनहरूमा थिए । तर ठ्याक्कै ठम्याउन भने नसकिरहेको बेला फेरि मिसियो अर्को प्रिय आवाज– ’म सुवासचन्द्र दवाडी उ हो बुद्धि गुरुङ ।’ मुखबाट निस्केका उक्त आवाज अद्भुत तरङ्ग बनेर कानबाट छिरे । अनायास मन र शरीरमा भावनात्मक रोमान्चकताको सन्चार गरायो । मिठाइ मिल्दाको बालक झैं खुसीले बेस्सरी बुर्कुसी मार्यो मेरो मन ।


गण्डकी बोर्डिङको एउटै छात्रावास (लमजुङ), एउटै शयनकक्षमा रहेका दुई दाइसंग ४२ वर्षपछि अनायास भेट हुँदाको विलक्षण स्वाद थियो त्यो । हराएको बहुमुल्य सामान अनायास भेट्टाउदा खुसी र आनन्द के मिल्ला ? जति भेटौ नभनिकनै लामो समय अन्तरालपछि यसरी जोगले जुराइदिएको जंकाभेटबाट मिल्छ । त्यो पनि अन्तर्मनमा डेरा जमाएर बसेको आत्मीय मान्छेसंग । भेटमा तरङ्गीत भावानात्मक भाका अतुलनीय र प्राप्त सुखानुभूति अब्यक्त अव्यक्त छन् । भाषाका शब्दभन्दा भावना धेरै गुना गहिरा र अर्थपूर्ण हुन्छन् ।


भेटमा हामी केहीबेर आवाजहीन भयौं । अन्तर्मनमा खेलेका बेग्रेल्ती भावनाहरू उतार्ने हाम्रा निश्चल आखाहरू मात्र आपसमा चुपचाप मिले । तर मौनतामा पनि स्कुलकालीन मुर्छना मिलिरह्यो । आखैको भाषामा गरिएका कुराले मुखले बात गरेभन्दा बढी सुखानुभूति दिइरह्यो । जसरी जवानीमा प्रीतिको गुलाबी मोहनी लाग्दा दिन्छ । सायद यस्तै परिस्थितिलाई सम्झेर सबैले बुझ्ने आखाको भाषा पनि बनाएको हुनुपर्छ प्रकृतिले ।


अनायास भएको यो पुनर्मिलनबाट स्कुलकालीन स्मृति कथाहरू ताजा मात्र बनेनन् । विस्मृतिको गर्तमा हराउन लागेको सुखद तस्वीर एकएक हरिया भएर आए मेरा । मौनता तोडिएपछिको हामी तीनै जना सिरसिरे हावाको लय संगसंगै विगतमा बग्यौ र वर्तमानमा उत्रियौ ।


शिविरको हातेमालोमा मिसिएका हरेक गण्डकीयनको हर्षिलो मुहार देख्दा लाग्थ्यो– केही न केही कोमल सपना रुपी स्कुलकालीन प्रसङ्गहरूबाट सिञ्चित भए सबैसबै । कैयन कलिला उमेरका स्मृति कथाहरूसंग जोडिए होलान् । कुनै न कुनै उठानले सम्झाइदियो होला त्यो कालखण्डका कुरालाई । जसबाट पुनर्मिलनको आस्वाद मिलिरह्यो । शिविरमा सेवा पुर्याएर सन्तुष्टि बटुल्न र भौतिक भेटघाटको रमाइलोमा रमाउन नै भनेर उपत्यका बाहिर नवलपरासीबाट फूलझैं खिल्खिलाउदै आउनु भएका खिलेश्वरी धिताल दाइले खुलेर सुनाउनु भो– “पहिलोपटक यसरी आफ्नै स्कुलका यति धेरै गण्डकीयनसंगको पुनर्मिलनबाट स्कुलकालीन प्रगाढ सम्झनाहरूमा जति जोडतोडले तानिदै गए । उति नै रोमाञ्चित अनुभूति भो ।”
त्यसो त गण्डकीयनहरूसंगको भेटघाट स्वतः प्रीतिकर र सरस बनिहाल्छ । हागा हालि हाल्छ, सौहार्द्रता र सुरम्यताले । आत्मीय वातावरणमा जो पनि मनैदेखि खुल्छन् । जुन ब्याजका भए पनि एउटै परिवारका सदस्य सरह भएर । गौरवशाली गण्डकी बोर्डिङले जोडिएका जोकोहीसंगको भेटले आखिर अपनत्वको विशुद्ध र सहृदयी सम्बन्ध मात्रको गण्डकीयन नातालाई आन्दोलित गर्छ । सम्बन्धको गहिराइलाई नै प्रतिबिम्बित गर्छ ।


सबैभन्दा पुरानो ब्याज (२०३२)का प्रख्यात चिकित्सक (न्यूरोसर्जन) वसन्त पन्त र अर्का पुराना ध्रुव भण्डारी (२०३३) लाई पनि श–शरीर उपस्तिथि गरायो । स्कुलप्रतिको असली आस्था र हामी भाइ–बहिनीहरूको स्नेहले । साक्षत साटिएर रमाउन आतुर गण्डकीयनहरूको यति ठूलो सहभागिताबाट पनि प्रष्ट हुन्छ– पुनर्मिलन र अतीतको याद कति आत्मीय, अर्थपूर्ण, अदभूत र आनन्ददायी हुन्छ ।


सबै चिकित्सक भाइबहिनी ब्यस्त छन्, आ–आफ्ना भागमा आएका बिरामीको परीक्षणमा । मेरो भागमा भने खास गर्नु पर्ने काम नै भेट्दिन म । कुनै बिधाको चिकित्सक पनि त परिन । नत्र चिकित्सक भाइबहिनीहरू झै मलाई पनि भ्याइनभ्याई हुनेथियो ! शिविर व्यवस्थित हिसाबले चलेपछि त झन आफ्नो सबै काम सिद्धिएझैँ भयो ।


खोकनाबासीका लागि सहयोगमा आएका वडाध्यक्ष रवीन्द्र महर्जनलाई स्थलगत जानकारी सहितको भ्रमण गर्ने इच्छा के जाहेर गरेथे । सहर्ष स्वीकारी हाले । उनैको पछि लागेर निस्केको छु मध्यकालीन खोकना गाउँ अवलोकन गर्न । आकाश छ्याङ्ग छ । भर्खरै नुहाएजस्तो । ताजा हावा, ताजा मन । पुरानो बस्ती तर प्रत्येक घरमा मोटर बाटो पुगेको छ । लागिरहेछ, उपत्यकाको नेवारी गाउँ मध्ये एक व्यवस्थित गाउँ हो खोकना ।


यो खोकनाको सबैभन्दा पुरानो र ऐतिहासिक घर हो । शुरुमै वडाध्यक्षले टिनको बोर्डमा खोकना मुजियम लेखिएको पुरानो घरलाई देखाउँदै भने– नेपालमा सबैभन्दा पहिला बिजुली बलेको ऐतिहासिक घर हो यो । नभन्दै बोर्डको मुन्तिर अङ्ग्रेजीमा लेखिएको अक्षरले पनि उनैको कुरालाई नै पुष्टि गरिरहेको पाउछु । फर्पिङ जलविद्युत आयोजनाले उपत्यकामा बिजुली ल्याउनको लागि यो घरमा सबैभन्दा पहिले परीक्षण गरेको रहेछ ।


चोएलासी चोकमा खोकनाको मुख्य मन्दिर छ, रुद्रायणी मन्दिर । तर भौतिक संरचना भत्किएको अवस्थामा । जसको पुनर्निर्माण जुटिरहेका छन् केही स्थानीय बासी । यसैको आडैमा अवस्थित वडा कार्यलयमा भेटिएको वडा सदस्य प्रदीप डङ्गोलनुसार– पुरानै पुरातात्त्विक हिसाबले नै मन्दिर निर्माण कार्य भैरहेको छ । गणेश, सरस्वती, कृष्ण र रुद्रेस्वरका हिन्दु देवीदेवताका मन्दिरहरू छन् वरपर । पुरानो इतिहास र संस्कृति बोकेको दे प्युखा पोखरी र एक ढुंगेधारा पनि यही छ । पुराना पुस्ताको जीवनसंग नजीकबाट जोडिएको अर्को यस्तै ढुंगेधारा बसपार्कको आडमा भेटिएको थियो बिहान आउदै गर्दा । यी सबैले गाउँको प्राचीन एवं पुरातात्त्विक पहिचानको नै प्रतिनिधित्व गरेका छन् ।


जावलाखेलबाट जम्मा ५ किलोमीटर दक्षिण पर्ने एक प्राचीन गाउँ खोकना । हामी सीधा उधो डोरिएको मुल बाटो लाग्दैछौ । दायाँबायाँका पुरानै बान्कीमा बनाइएका नयाँ घरहरूको बाहुल्यता छ । कहाँ गए ती काठ र माटोले बनेका पुराना तर प्रियलाग्ने घरहरू ? जसको बारे बखान गर्थे पहिलेका मान्छेहरू । जसलाई खोकनाको वेबसाईटमा समेत अझै देख्न र पढ्न पाइन्छ ।
युवतीको कानमा लर्किने गरगहनाको झुम्का जस्ता लाग्ने घरघरका कलात्मक कौसी र झ्यालहरूमा लर्काइएका सेता लसुनका झुप्पाहरू । पहेला मकैका झुत्ताहरू । र राताराता खुर्सानीका मालाहरू । यस्ता स्थानीय कृषि उत्पादनले घरहरूको मात्र होइन, सिङ्गो गाउँको शोभा मनग्य बढाएका थिए । अनेक प्रश्नहरू जन्मिइरहेछ आफैभित्र । जम्माजम्मी १ हजार ४० घरघुरी रहेको खोकनाको स्थलगत अवलोकनमा यस्ता दृश्य चामलमा बियाँ जसरी पनि नभेटिएपछि ।


म मीठो भ्रममा रहेको कुरा त्यतिबेला थाहा भयो । जतिबेला ती माटो र काठले बनेका पुराना घरहरू ७२ सालको भुकम्पले भत्काइदिएको जानकारी वडा अध्यक्षबाट मिल्यो । भुकम्पपछि बनेका रहेछन् यी सबै नयाँ घरहरू । भुकम्पपछि नै भत्किएको रहेछ, कलात्मक कौसी र झ्यालहरूमा लर्काइने ती स्थानीय कृषि उत्पादनका शोभायमान सभ्यताको निरन्तरता पनि ।
त्यसो त तोरी पेल्ने काठे मील, धागो काट्ने चर्खा, कपडा बुन्ने तान, अन्न कुट्नेपिस्ने ढिकीजातो, जस्ता परंपरागत तथा रैथाने उपकरणहरू पनि लोप भैसकेछ्न् यहाँ । अब त तिनीहरूलाई देख्नको लागि महोत्सव कुर्नुपर्ने हुन्छ । मात्र ३ दशक अगाडिसम्म यहाँका यस्ता परंपरागत कृषिजन्य सांस्कृतिक पहिचानका मौलिक खजनाहरू घरआँगन मै प्रत्यक्ष देखेर शहरबासीहरू मक्खिन्थे÷ दङ्गिन्थे । सिकाली भन्ने चोकमा आइपुगेका छौ हामी अहिले । वडा सदस्य पुराना शैलीका लहरै बसेका ५ घरलाई औल्याउँदैछन्– यी सबै फरकफरक सांस्कृतिक प्रायोजनका गुठी हुन् । तर सबै नेवारी परम्परामा आधारित । बर्षौदेखि नेवारी भाषा, सस्कार, संस्कृति सम्र्वद्धन गर्दै समस्त खोकनाबासीलाई एकबद्ध पार्नमा खास भूमिका खेल्दै आइरहेका छन् यी परंरागत गुठीहरूले ।


यो चोकको बीच भागमा केही जमिन उठाइएर बनाइएको एक डबली छ । जहाँ जात्राको बेला देउता नाच देखाइन्छ । जात्राको भोलिपल्ट खटमा राखेर खट जात्रा सम्पन्न गरिन्छ । इन्द्रजात्रा यहाँको अर्को मौलिक उत्सव हो । देवीदेवताको नाममा गरिने जात्रा होस् या यामनुसार मनाइने चाडपर्वहरू । अन्यत्रका नेवारसंग नमिल्ने खास खालका भएको कुरा वडा अध्यक्षको जिकिर छ ।
पश्चिम फर्केका गुठी गृहहरूलाई पश्चिम सर्दैको सूर्यले छड्के नजर लगाउदै थियो । केही छिनमै सुरु हुने प्रसंशा पत्र वितरण तथा समापन कार्यक्रम सम्झेर शिविर स्थल फर्कियौँ हामी ।


अपरान्ह ३ः३० बजे । गण्डकीयनहरु जम्मा भैसकेका छन् । समारोहमा हामी सबैका वरिष्ठ दाइ डा. वसन्त पन्त, सल्लाहकार मण्डलबाट कृष्ण गुरुङ, ललितपुर महानगरपालिका वडा नं २१ का वडा अध्यक्ष रवीन्द्र महर्जन, एग्बोसा, काठमाण्डौका अध्यक्ष दिपक मल्ल लगायतले केही बोल्दै थिए । औपचारिक समारोह जस्तो अनावश्यक औपचारिकता छैन । नेताले झैँ समयको पावन्दीलाई नबुझी नदीजस्तो लम्बिने र चुइङ्गमजस्तो नसकिने झन्झटिलो भाषण पनि कसैबाट भएन । करीब १ घण्टामा त उपस्तिथित गण्डकीयनहरूलाई सन्मान पत्र समेत बाडेर पनि सिद्धियो ।


जम्मा १ सय १० जना (५० चिकित्सक, ६० गैर चिकित्सक)हरूको जम्बो जमातको सहभागिता भएछ शिविरमा । जम्मा ७ सय ७८ स्थानीय बिरामीहरू अल्ट्रासाउन्ड, ई.सी.जी, भिडियो एक्सरे, ल्याब परिक्षण, पिएफटी (फोक्सोको परीक्षण), प्याब स्मीर टेस्ट (पाठेघर मुखको क्यान्सर परीक्षण) लगायतका निःशुल्क सेवा र औषधीबाट लाभान्वित भएछन् । एग्बोसा, काठमाण्डौको उक्त कल्याणकारी आयोजनामा स्व. देवबहादुर डङ्गोल स्मृति कोष खोकना र ललितपुर महानगरपालिका वडा नं २१ को सामुहिक समन्वय र सहकार्य थियो भने प्रायोजनमा साथसहयोग दिएको थियो– सूर्य नेपाल प्रा. लि. ले ।


लैनचौरको एक रेष्टुरेन्ट । साझको ५ः३० बजिसकेको छ । साँझ छिप्पिदै जाने जुन गतिलाई कैयौं गुना पछि पारेर चहलपहल र उल्लास ह्वात्तै थपिएको छ । जहाँ गण्डकीयनहरू आपसमा साटिएर क्षणलाई अद्भुत र अवस्मरणीय बनाइउदै छन् । साङ्गीतिक माहौलमा रमाउनेहरूको दृश्य पनि हेर्नलायक छ । अल्कोहललेभन्दा बढ्ता जमघटमा बोनस बापत मिलेको उत्सवले लठ्याउदै छ सबैलाई । तन, मन सबथोकमा उमंग उमारेका छन् । नाचगानमा शरीरका अङ्गप्रत्यङ्गबाट सम्प्रेषित अनेक जीवन्त हाउभाउ सहितको नाच अगाडि स्पिकरबाट बगेका गीत संगीत फिक्का बनिरहेछ । रमझममा तातिएर पग्लनेहरूको मात्र के कुरा ? मुक दर्शक भएर मजा लिइरहेका मजस्तालाई समेत यो उल्लासमय उर्जाबाट अलग्गिन पटक्कै मन छैन । घर फर्कने समय जति नै घर्कीसके पनि । वर्षैको भेटघाट भर्खर भएजस्तो लाग्छ ।


वास्तवमा परोपकारी भावनाले आयोजना गरिएको स्वास्थ्य शिविर, स्वास्थ्य शिविरमा मात्र सीमित भएन । मित्रता नवीकरणको भरपर्दो माध्यम पनि बन्यो । लामो समय अन्तरालपछिको अन्तर्मनसंग जोडिएका गण्डकीयनसंगको संगतबाट सिङ्गो दिन साच्चै अनमोल र रोमान्चक रह्यो । यसरी बिशेष बनेका ती सार्थक संवाद र असली उठबस अहिले पनि उत्तिकै अतिरेक आनन्दको स्रोत बनिरहेछ । भाव र भौतिक मिलनको अविस्मरणीय स्मृति कथा भएर । लाग्छ, लामो पुनर्मिलनको प्रकार जस्तोसुकै किन नहोस् । त्यसले गण्डकीयन बीचको आपसी सम्बन्ध र समन्वयको दायरालाई अझ दरिलो र प्रगाढ नै पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *