मुलुक डेस्क, काठमाडौं । २०७९ असार १८, शनिवार

वीरगंजको गौतम स्कुल एक परिचित नाम हो । गौतम स्कुलले भर्ना शूल्क, मासिक शूल्क लगायतका अन्य शूल्क बाहेक पनि शुरुमै प्रति विद्यार्थी १० हजार रुपैया धरौटी शूल्क लिने गरेको छ।

२ हजार २ सय विद्यार्थी संख्या भएको गौतम स्कुलले हरेक विद्यार्थीबाट १० हजार रुपैयाँका दरले धरौटी शूल्क उठाउँदा २ करोड २० लाख रुपैयाँ हुन जान्छ । धरौटीबापत लिइएको रकम गौतम स्कुलले १० बर्षपछि जति लिएको हो त्यति नै फिर्ता गर्ने गरेको छ । उक्त संकलित रकम बैंकमै जम्मा गर्दा १० वर्षमा ३ गुणाले बृद्धि हुनेमा कुनै दुई मत छैन । उक्त रकमबाट प्रत्यक्ष रुपमा सञ्चालक आफैले लाभ लिने र विद्यार्थीहरुलाई कुनै पनि किसिमको सहुलियत र छुट नदिई ठगी गरेको देखिन्छ ।

नेपाल दुर सञ्चारले पनि टेलिफोन जडानबापत ३ हजार रुपैयाँ धरौटी लिने गरेको छ । यद्यपी दुर सञ्चारले ३ हजारको बार्षिक ब्याज वापतको रकम टेलिफोन कलमा मिनाहा गर्ने गरेको छ । तर गौतम स्कुलले २२ सय विद्यार्थीका अभिभावकसँग लिएको धरौटी बापत २ करोड २० लाख रकमको न त ब्याज नै दिन्छ न शूल्कमा मिनाहा गर्छ ।

अभिभावक संघर्ष समिति पर्साका अध्यक्ष सन्दिप साहका अनुसार धरौटी रकमबाटै मनग्य लाभ लिएर विद्यालयले अभिभावकहरुलाई ठगी गर्ने गरेको छ ।
विद्यालयका व्यवस्थापक राकेश शर्माले अन्य विद्यलयजस्तै गौतम स्कुलले पनि धरौटीबापतको रकम लिएको स्विकार गरेका छन ।

यता महिनामा ३/४ वटा परीक्षा गराएर विद्यार्थीको हातमा शूल्कबापतको रकम लेखिएको रसिद पठाउने गरेको अभिभावकको भनाई छ । मासिक शूल्कसहित अन्य शूल्क बाँकी हुँदा विद्यार्थीहरुलाई विभिन्न किसिमको मानसिक यातना समेत दिने गरेका कारण एकाध बाहेकका अभिभावककले समयमै शूल्क तिर्ने गरेको अभिभावक मनोज गुप्ताले बताए । गौतम स्कुलसँगै अन्य निजी विद्यालयहरुले मनोमानी रुपमा शूल्क बृद्धि गर्ने र आफुखुशी शूल्क उठाएर ठगी गरेको भन्दै अभिभावकहरु आन्दोलित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *