
मुलुक डेस्क, काठमाडौं । २०७९ बैशाख १६, शुक्रवार
उम्मेदवारी फिर्ताका लागि डर, त्रास र धम्की दिनु निर्वाचनजन्य कसूर
भएको जनाउँदै यस्तो कार्य नगर्न निर्वाचन आयोगले आग्रह गरेको छ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रेस विज्ञप्ति जारी गरी उम्मेदवारी फिर्ताका लागि दबाब दिइएको भन्ने सूचना आएको जनाएका छन्। आयोगले भनेको छ, ‘कतिपय उम्मेदवारलाई मनोनयन फिर्ता गराउँनका लागि डर, धाक, धम्की, धरपकड र प्रलोभन देखाएको भन्ने समेत सूचना तथा जानकारी आयोगमा प्राप्त भइरहेकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ।’
यस्ता कार्य निर्वाचनजन्य कसूर भएको आयोगले स्मरण गराएको छ। ‘राजनीतिक दल, उम्मेदवार वा दलका भातृ संगठनले कुनै उम्मेदवार वा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास र धम्की दिन निर्वाचनजन्य कसूर तथा आचारसंहिता विपरीत कार्य भएकाले यस्ता कार्य कुनै पनि हालतमा नदोहोर्याउन स्मरण गराउँदै लोकतन्त्र र नागरिक अधिकारको सम्मान गर्न समेत निर्वाचन आयोग हार्दिक आग्रह गर्दछ,’ आयोगले भनेको छ।
