मुलुक डेस्क, काठमाडौं । २०७९ बैशाख ०४, आइतवार

कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ देखि सञ्चालन हुने भएको छ । यसपालि परीक्षामा ५ लाख १४ हजार ७ सय ६० जना सहभागी हुनेछन् ।

शैक्षिक सत्र २०७७ र २०७६ मा कोरोना महामारीका कारण विद्यालयले गरेको आन्तरिक मूल्यांकनकै आधारमा राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो । यसपालि बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा देशभरका २ हजार ७ परीक्षा केन्द्रमा दुई वर्ष पहिलेको जस्तै एसईई सञ्चालन हुने बोर्डले जनाएको छ । प्रश्नपत्र, उत्तरपुस्तिकालगायत परीक्षा सामग्री ७७ वटै जिल्लामा पुगिसकेको एसईईका परीक्षा नियन्त्रन कार्यालयले जानाएको छ । परीक्षामा देशभरका ११ हजार ६ सय १५ विद्यालयका विद्यार्थी सहभागी हुँदै छन् ।

नियमिततर्फ ४ लाख ८८ हजार ७ सय ४२ र ग्रेड वृद्धितर्फ ११ हजार ४ सय ५४ विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रक रायमाझीले जनाए । ग्रेड वृद्धि परीक्षा दिने विद्यार्थी दुई वर्षअघिका हुन् । गत दुई वर्ष आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्दा ग्रेड वृद्धिको अवसर दिइएको थिएन । प्राविधिक धारमा कक्षा सञ्चालन गरिरहेका मुलुकभरका २ सय ९९ वटा विद्यालयका १४ हजार ५ सय ६४ विद्यार्थीले पनि एसईई दिँदै छन् ।

साउन १ देखि कक्षा ११ को शैक्षिक सत्रलाई ध्यानमा राख्दै नतिजा पनि प्रकाशित हुनेछ । गत वर्ष शैक्षिक सत्रको सुरुवातमा कोरोना महामारीको तेस्रो लहरले पठनपाठन प्रभावित भएकाले चैत महिनाभर कक्षा सञ्चालन गर्ने र वैशाखमा परीक्षा/भर्ना अभियान सञ्चालन गरेर जेठ १ देखि कक्षा १–१० को आगामी शैक्षिक सत्र सुरु गर्ने शिक्षा मन्त्रालयको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *