मुलुक डेस्क, काठमाडौं । २०७८ चैत्र २६, शनिवार

शंकर श्रेष्ठद्वारा संकलन एवं लेखन गरि तयार पारिएको पुस्तक “नेपालका मल्लकालीन मुद्राहरु” को लोकार्पण आज काठमाडौंको अग्रवाल भवनमा एक विशेष समारोहबीच गरिएको छ ।

लोकार्पण समरोहको अध्यक्षता गरेका लेखक तथा संकलक श्रेष्ठ सानै उमेरदेखि
टिकट, नोट एवं मुद्रा संकलनका सौखिन रहदै आएका हुन् । नेपाल फिलाटेलिक तथा नेपाल नुमिसमेटिक समाजका आजिवन सदस्य समेत रहेका श्रेष्ठले पुस्तक मार्फत नेपाली इतिहासकै स्वर्णिम काल मध्यकालीन समयको संक्षिप्त परिचयसंगै त्यसबखत चलनचल्तीमा रहेको मुद्राहरुको बारेमा गहन र अनुसन्धानमुलक प्रस्तुति दिएका छन ।

लेखक तथा संकलक शंकर श्रेष्ठ

विश्वकै दुर्लभ सिक्काको प्रस्तुति नै पुस्तकको मुख्य विशेषताको रुपमा रहेको छ । त्यस्बखत चलनचल्तीका लागि निष्काशन गरिएको सिक्काहरुको चित्र र सिक्कामा प्रस्तुत गरिएका विभिन्न कलाकृति, सांस्कृतिक तथा धार्मिक विषयवस्तु, लिपी, यन्त्र, साल मिति आदिको प्रस्तुतिले पुस्तकलाई ओजिलो र महत्त्वपूर्ण बनाएको छ । कुनै कालखण्डलाई समाविष्ट गरि तयार पारिएको मुद्रा सम्बन्धि यो नै सम्भवत पहिलो पुस्तक हो भन्ने भनाइ लेखकको रहेको छ ।

लेखकले कोरोना महामारीको बेलामा यो पुस्तक तयार पारेको जनाए । उनले झन्डै दुई वर्ष लगाएर “नेपालका मल्लकालीन मुद्राहरु” नामक ३८२ पृष्ठको पुस्तक तयार पारेको पनि जनाए । पुस्तक लोकार्पण समारोह मै पुस्तक तयार पार्दा सहयोग पुर्याउने प्रति विशेष धन्यवाद सहित लेखकले मायाको चिनो समेत प्रदान गरेका थिए । यो पुस्तकको सज्जा एवं आवरणको लागि विशेष सहयोग पुर्याउने डिजाईनर सुधन महर्जनलाई पनि लेखकले आभार प्रकट गरे ।

आकर्षक र मनमोहक आवरणले सुसज्जित यो पुस्तकको लोकार्पण समारोहमा विशिष्ट अतिथिको रुपमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले आफ्नो मन्तव्य पाठ पठाए थिए । साथै समारोहमा अतिथिको आसनमा भुवनेश कुमार प्रधान( वरिष्ठ संकलक तथा पुर्व सचीव), ऋषि कुमार तुल्सियान(हुलाक टिकट संकलनमा एक मात्र स्वर्ण पदक विजेता), प्रतिमा रन्जित(प्रमुख, मुद्रा सङ्ग्राहलय) र दुर्गाभक्त छुछु(वरिष्ठ संकलक) को उपस्तिथि रहेको थियो । कार्यक्रमको संचालन वरिष्ठ पत्रकार एवं राससका पुर्व समाचार प्रमुख श्रीराम सिंह बस्नेतले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *