
मुलुक डेस्क, काठमाडौं | २०७८ फाल्गुन २७ गते शुक्रबार
निर्वाचन आयोगवाट स्थानीय तहको निर्वाचनका लागि आवश्यक विविध निर्वाचन सामाग्रीहरु छपाई गर्ने सम्बन्धमा मिति २०७८।११।२२ मा प्रकाशित सुचनाप्रति काठमाडौ मुद्रण उद्योग संघले बिरोध जनाएको छ । साथै काठमाडौ मुद्रण उद्योग संघले केही सिमित मुद्रण उद्योगी तथा ब्यवसायीहरुलाई मात्र छपाई प्रक्रियामा सहभागि गराउने मनसायले अनावश्यक योग्यता सहितको सर्त तोक्दा आवश्यक सामाग्री छपाई कार्य गर्न सक्षम र ईच्छुक मुद्रण उद्योगी ब्यबसायीहरु प्रक्रियामा नै सहभागिता जनाउन नसक्ने भएकाले तत्काल उक्त सुचना खारेज गरी छपाई सम्बन्धी कार्य खुल्ला प्रतिस्पर्धामा गर्ने व्यव्स्था गर्न माग समेत गरेको व्यहोरा यसै पत्र साथ अवगत गराएको छ ।

कोरोना महामारीका कारण व्यवसायमा आएको मन्दीले तोकिएको बार्षिक औसत कारोवारको सर्त अधिकांश मुद्रण उद्योगहरुले पूरा गर्न नसक्ने अवस्था रहेकाले सक्षम र इच्छुक उद्योगी तथा ब्यवसायीहरु प्रतिस्पर्धा गर्नबाटै बञ्चित हुने उल्लेख गर्दै काठमाडौं मुद्रण उद्योग संघले केही सिमित उद्योगहरुलाई सूचिकृत गरी तिनीहरु कै बीचबाट दररेट कायम गराएर खरिद गर्न खोजिनु सार्वजनिक खरिद ऐनको बिरुद्धमा हुने र त्यस किसिमको विभेदकारी बाध्यात्मक व्यवस्था गरिदा स्वच्छ प्रतिस्पर्धामा शंका हुने भएकाले सार्वजनिक खरिद ऐनको ब्यवस्था र स्वच्छ प्रतिस्पर्धाको भावना अनुसार सरल र सहज प्रावधानहरुको व्यवस्था गरी खरिदको ब्यवस्था गर्न माग समेत यसै पत्रसाथ प्रष्ट पारेको काठमाडौं मुद्रण उद्योग संघका अध्यक्ष घन नारायण श्रेष्ठ (घनश्याम) द्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
