संजीव सिंह | पुस २०७८

नेतृत्वको दशकौंको वर्चश्व कायमै अपवादमा लिङदेन

नेतृत्वको नाराबाजी । महाधिवेशनको माहौल । मंसिर र पौष महिनाको जाडो । कार्यकर्ता, नेता र जनताको चासो । उन्माद र उमंगको न्यानो ! नेपालको प्रमुख र पुरानो दलहरूको महाधिवेशन भर्खरैै सम्पन्न भएको छ । नयाँ पुस्ताको आशमा पुरानै नेतृत्व चयन भएको छ, अपवाद बाहेक । नेतृत्वको लडाईमा दशकौं देखिको अधिपत्य कायमै । अपवादमा राप्रपाका राजेन्द्र लिङदेन ।
मठै मठको देश – नेपाल । मठमा जसरी मठाधीशले प्रधानको रुपमा मठ–मन्दिर संचालन र व्यवस्थापन गर्दै आएका छन् त्यसैगरी नेपाली राजनीतिका मठाधीशहरु वर्षौ देखि आ–आफ्नो दलको दलाधीश, मठाधीश एवं नेता भई दल, संचालन, व्यवस्थापन र नियन्त्रण गर्दै आएका छन् ।
नेकपा एमालेको महाधिवेशनबाट एकल रुपमा केपी शर्मा ओली नेता निर्वाचित भए । नेपाली काँग्रेसबाट शेरबहादुर देउवा फेरि पनि बाजि मार्न सफल भए भने माओवादीको वर्षों पुरानो मुखिया पुष्प कमल दाहाल ‘प्रचण्ड’ निरन्तर नेतृत्वमा रहन सफल भएका छन् । तथापी राप्रपामा अप्रत्याशित बदलाव भयो र कमल थापाको ठाउँमा नयाँ एवं समावेशी युवा राजेन्द्र लिङ्देनको उदय भयो ।

नेतृत्वको नारावाजी वर्षोदेखि उठिरहेको विषय हो । पुरानो पुस्तालाई सम्मानजनक विस्थापन गर्दै नयाँ र युवा पुस्तालाई नेतृत्वको बागडोर सुम्पिनु वा चयन गर्नु नै उपलब्धिमुलक विकाशको पथमा लम्किने बाटो हो । झण्डै शताब्दी लामो राजनीतिक नेतृत्वमा परिवर्तनको लहर अपवादको रुपमा मात्रै रहेको छ । शुरुवातमै आएका युवा नेताहरू हालसम्म एकपछि अर्को गर्दै रजाई गर्दै छन् । समयको मागसँगै परिवर्तन सार्थक हुन पाएको छैन । समावेशी र युवालाई न दलले न राष्ट्रले स्विकारेको अवस्था छ ।

दशकौँसम्म सत्ता र नेतृत्व सम्हाल्दै गरेका नेताहरू स्वेच्छाले त कहाँ हो कहाँ हटाउन खोज्दा समेत हठी गरेर बसेको अवस्था छ । दशकौ देखि माधव कुमार नेपाल, केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्प कुमल दाहाल ‘प्रचण्ड’, नारायणमान विजुक्छे, महंथ ठाकुर, उपेन्द्र यादव, चित्रबहादुर केसी सहितले पार्टी र सरकार हाक्दै आएको छ । हृदयेश त्रिपाठी, झलनाथ खनाल, कमल थापा, पशुपतिशमशेर राणा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, विजय कुमार गच्छेदार, शरद सिंह भण्डारी आदि सत्ता र दलको प्रमुख निर्णायकमै रहँदै आएका छन् ।

नेतृत्व र सत्ता परिवर्तन निरन्तर चलिरहने प्रकृया हो । यद्यपी पार्टी र राष्ट्रको नेतृत्व बारम्बार यही पात्रहरुले गरेको छ । परिवर्तनको नाममा आलोपालो पात्रहरु बदलिरहेको छ तर प्रवृती बदलिएन । पार्टी र सत्ता एकल जातिय वर्चश्व भएकाहरुले वर्षोदेखि चलाउँदै आएको छ । समावेशी, महिला एंव युवाको नेतृत्व त सपना जस्तै भएको छ । दोषी नेता की कार्यकर्ता ? की जनता ? प्रश्न आफैमा तेर्सिन्छ ?

नेताले नेतृत्व नछोडनुमा कार्यकर्ता एवं प्रतिनिधि नै मुख्य दोषी होइन्न र ? सत्ता र सरकारमा बारम्बार तिनीहरुलाई पु¥याउने जनता पनि उत्तिकै दोषी होइन्न र ? जनता, प्रतिनिधि र कार्यकर्ताका कारण नेतृत्वले समावेशी र युवालाई चयन गर्न नसक्दा उनीहरु चुप लाग्नु चै दोषीकै भागेदार हुन् । निष्ठाको राजनीति गर्न नसक्नु हैकमवादको नमुना र आडम्बर बाहेक केही होइन । आम जनता र कार्यकर्ता पनि आफ्नो अधिकारलाई प्रयोग गरी सही नेता र नेतृत्व चयन गर्नु पर्दछ ।
नेकपा एमालेको १० औं महाधिवेशन (मंसिर १०–१२, चितवन) बाट अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका हुन् । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध चुनिएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन (मंसिर १५–१८, काठमाडौं) बाट कमल थापालाई २२७ मतले पछि पार्दै युवा नेता लिङ्देन विजयी भएका हुन् । लिङ्देनले १८४४ मत ल्याएर वियजी हुदा कमल थापाले १६१७ मत प्राप्त गरेका थिए । महामन्त्रीमा धवल शमशेर राणा विजयी भए भने महिला महामन्त्रीमा कुन्ती शाहीले युवा नेतृ एवं नायिका रेखा थापालाई पराजित गर्दै विजयी भइन् ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशन (मंसिर २४–२७, काठमाडौं) बाट पार्टी सभापति शेर बहादुर देउवाले डा. शेखर कोइरालालाई पराजीत गर्दै पुनः सभापतिमा निर्वाचित भए । महाधिवेशनबाट पूर्णबहादुर खड्का र धनराज गुरुङ उपसभापतिमा निर्वाचित भए । गुरुङ निकटतम प्रतिद्वन्दी विजयकुमार गच्छदारभन्दा २ मत बढी ल्याएर उपसभापति बनेका हुन् । खड्का सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा टिमका हुन् भने गुरुङ सभापतिमा पराजित डा. शेखर कोइराला टिमका हुन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये उपसभापतिमा ४६७९ जनाले मतदान गरेका थिए । यसैगरी महामन्त्रीमा युवा नेता गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भए । कांग्रेस विधानमा महाधिवेशनबाट दुईजना महामन्त्री निर्वाचित हुने व्यवस्था छ ।

मधेशी महिलातर्फ एक नम्बरमा केन्द्रीय सदस्यमा विजयी भएकी धनुषाकी मुक्ता कुमार यादवले सर्वाधिक ३९६० मत प्राप्त गरेर रेर्कड बनाइन । नेकपा माओवादी केन्द्रको सम्पन्न ८ औं महाधिवेशन (पौष ११–१५, काठमाडौं) पछि बसेको केन्द्रीय कमिटी बैठकबाट अध्यक्षमा पुष्पकमल दाहाल निर्वाचित भएका छन् । दिनानाथ शर्माले दाहाल सर्वसम्मतबाट निर्वाचित भएको घोषणा गरेका थिए । नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथग्रहणसँगै नेता श्रेष्ठले दाहाललाई अध्यक्षमा नाम प्रस्ताव गरेका थिए ।

भर्खरै सम्पन्न नेपालका चार प्रमुख राजनीतिक दलको महाधिवेशनबाट एकमात्र युवा नेता राजेन्द्र लिङदेनको उदय भएको छ । अन्य पार्टीमा केही युवाहरु नेतृत्वको पंक्तिमा नजितेका होइनन् यद्यपी पुरानै परम्परा अनुसार ओली, देउवा र प्रचण्डको जीत भएको छ । वर्चश्वको जीत भएको छ । दम्भ र एकलौटी पनको निरन्तरता कायमै रहेको देखियो । केही आशा लाग्दो परिवर्तन पनि भएको छ । आउँदो दिनमा यस्ताखाले सकारात्मक र उर्जावान परिवर्तन दलमा र सत्तामा नेपाली जनताले उपलब्धी र निष्ठाको रुपमा हेर्न पाओस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *