सुजित कुमार झा | मंसिर २०७८

बिहिवार साँझ हुने वितिकै लक्ष्मी सागर पोखरीमा मानिसहरुको भीड़ हुनथाल्यो । नेपाल तर्फ बाट मात्रै नभइ भारततर्फ पनि निकै संख्यामा मानिसहरु जम्मा भए । केही समयमै पण्डितद्वारा संगीत प्रधान आरती गरियो । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा रहेको मटिहानी स्थान ऐतिहासिक स्थलहरुमध्ये एक हो । यहाँ साप्ताहिक आरती हुने गरेको छ । लक्ष्मी सागर र लक्ष्मी नारायण भगवानको आरती प्रत्येक विहिवार गरिदै आएको छ । नेपाल र भारतको सीमामा रहेको सो नगरपालिकामा यसै वर्ष साउन ५ गतेदेखि आरती शुरु भएपछि नेपाल भारतका दर्शनार्थीहरुको आकर्षणको केन्द्र बनेको छ । मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले भने ‘आरतीको क्रेज यति रहेको छ सीमा क्षेत्रका गाउँका सबै त्यहाँ पुग्ने गर्छन ।’

मठहरूको पनि महामठ-लक्ष्मीनारायण मठ । महन्थहरूका पनि महन्थ ‘मानमहन्थ’ । सात प्रकारका माटोहरूको संगम स्थल- सप्तमृतिका । त्रेता युगमा राम र सीताको विवाह हुँदा वेदी बनाउन माटो खनेर लगिएको मिथिलाको पावन भूमि । जहाँ छ ३०३ वर्ष पुरानो देशकै जेठो ‘राजकीय संस्कृत माध्यमिक विद्यालय’। पैदल तय गरिने १३३ किलोमिटरको १५ दिने माध्यमिक परिक्रमाको एक प्रमुख ॅविश्राम स्थाल’ । हप्तैपिच्छे हुने अनेकन पर्व त्यौहार । यी सबै मटिहानीका साँढे ५ सय वर्ष पुरानो पहिचान मात्रै होइन, नेपालको धार्मिक, सांस्कृतिक र शैक्षिक धरोहरको ‘वैभव’ पनि रहेकाले वर्षोदेखि आकर्षणको केन्द्र मटिहानी रहेको छ । यस बीचमा धार्मिक सांस्कृतिक गतिविधि बढेकाले अहिले क्षेत्र राष्ट्रको ध्यान खिच्न सफल भएको संस्कृत क्याम्पसका पूर्व प्राचार्य धीरेन्द्रकुमार झाले बताए । राष्ट्रपति विद्या देवी भण्डारीपनि यस स्थलमा यसै साता पुगेकी थिइन ।

इतिहासको पानामा

साढे पाँच सय वर्ष पूर्व मटिहानीको जंगलमा पोखरी छेउ रूखमुनि रामानन्द सम्प्रदायका सिद्धसन्त रामदास र सुफी सन्त पिरबाबा बस्थे । रामदास (तस्मैया बाबा) लाई पिरबाबाले भविष्यवाणी स्वरूप कुनै चमत्कारपूणर् दृश्य भएको स्थानमा आफ्ना खन्ती र चिम्टा गाड्न सल्लाह दिए । एक दिन राम दासले एउटा बिरालालाई मुसाले आफ्नो वशमा पारेको अद्भुत दृश्य अवलोकन गरे । उनले पिरबाबाको भविष्यवाणी स्मरण गर्दै त्यही ठाउँमा अठारौं शताब्दीपूर्व खन्ती र चिम्टा गाडे र मठको स्थापना गरे। जुन अहिले पनि यथावत् छ ।

त्रेता युगमा माता सीताको विवाह हुँदा मटकोरमा मटिहानीबाट माटो खनेर लगिएको थियो । जनकपुरधाममा त्यही माटोबाट वेदी बनाइएको थियो । माटो खनेकै ठाउँमा लक्ष्मीसागरमा तस्मैया बाबाले स्नान गर्दा भगवान् लक्ष्मीनारायणको मूर्ति भेटाएका थिए । त्यस मूर्तिलाई प्राणप्रतिष्ठा गरेपश्चात् नैवेद्यको रूपमा खीर अर्पण गरी लक्ष्मीनारायण भगवानको मन्दिर स्थापना गरे ।
मिथिला क्षेत्रको मटिहानीमा मात्रै सात प्रकारको माटो पाइन्छ । त्यसैले मटिहानीलाई सप्तमृतिकाको संगम स्थल पनि भन्छन् । मटिहानीको नाउँपनि यसैकारण भएको इतिहासकारहरु बताउँछन । ‘राम र सीताको विवाह हुदा सीताले माटो खनेको ठाउँ भएकाले सो स्थानको नाउँ मृतखनी रह्न गएको मानिन्छ । पछि त्यही अपभ्रंस भएर मटिहानी हुन गएको,’ प्राध्यापक मनोज झा मुक्ति बताउँछन ।

संगम नदीको माटो, राजदुवार (गढी), हात्तीसार, तबेला (घोडासार), गौशाला (गाई गोठ), लक्ष्मीसागर (सरोबर), धमिराको माटो मिथिला क्षेत्रमा प्रचलित छ । त्यसैले भगवान् राम र सीताको विवाहमा वेदी निर्माणका ऋषिमुनिले मटिहानीको माटोलाई रोजेका थिए । जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णब भन्छन्, ‘त्रेताकालमा माता सीताको विवाहमा माटो खनेर ल्याउने विधी मटिहानीमा भएको थियो । मटिहानीलाई एउटा कुण्डको रूपमा पनि लिइन्छ ।’ हुनत जनकपुरधाममा हुने मटकोर लगायतका परम्पराहरु ऐतिहासिक गंगासागरमा गर्दै आएको छ । विवाह, पूजाआजा, शिलान्याश, गृहप्रवेश गर्दा १० गाउँका गाउँलेलाई मटिहानीको माटोलाई नभई हुँदैन स्थानीयवासीहरु बताउँछन ।

मटिहानीको अर्को पौराणिक र ऐतिहासिक पक्ष हो, मिथिला माध्यमिक परिक्रमा । नेपाल र भारतमा गरिने १५ दिने मिथिला परिक्रमामा १३३ किलोमिटर पैदल तय गरिन्छ । यो धार्मिक यात्रा पनि हो । १८ औं शताब्दीबाट सुरु भएको यो परिक्रमा १५ विश्रामस्थल पर्छ जसमध्ये मटिहानी एक महत्त्वपूणर् स्थल रहेको लक्ष्मीनारायण मठ मठिहानीका मानमहन्थ जगरनाथ दास वैष्णव बताउँछन् । ‘परिक्रमा हाम्रो संस्कृति, हाम्रो सभ्यता हो । जहाँ जहाँ राम र सीताको चरण परेको छ, त्यहाँ त्यहाँ भ्रमण गर्दा मनोकामना पूरा हुने जनविश्वास छ’, उनी थप्छन्, ‘मिथिलाको सर्वाधिक लोकप्रिय १५ दिने मिथिला मध्यमा परिक्रमा हो ।

जहाँ ठूलो संख्यामा पहाडी समुदाय सहभागी हुन्छन् ।’ यसको सर्वपक्षीय विकासमा सरकारले काम गर्नु पर्ने उनले औंल्याए। प्राचीन मिथिलाको राजधानी जनकपुरको चारैकुनामा राजा जनकले चारवटा शिवालय क्रमशः कलाणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वर स्थापना गरेका थिए। जसलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ दास बताउँछन् । चारवटै शिवालय राजा जनकको इष्टदेव हुन् ।

मटिहानी स्थानमा लक्ष्मीनारायणको विशाल मन्दिर र दरबारसमेत रहेको छ । जनकपुरधामको जानकी मन्दिर निर्माण हुनुभन्दा झन्डै दुई वर्ष पुरानो लक्ष्मीनारायण दरबार १५ विघा क्षेत्रफलमा फैलिएको छ । तत्कालीन मकवानपुरका राजा हेमकणर् सेनले लक्ष्मीनारायणको दरबारलाई एक हजार तीन सय विघा जग्गा दान गरेका थिए । तीमध्ये झन्डै चार सय विघा जग्गा गुठी संस्थानले विक्री गरिसकेको र ३ सय ८४ विघा अझै बाकी रहेको र अन्य जग्गा अतिक्रमणमा परेको त्यहाँका पूजारीहरु बताउँछन् ।

जनकपुरधामको जानकी मन्दिर, राम मन्दिर रत्नसागर मठलगायतका धार्मिक मठहरुमा महन्थको पदवी (उपाधि) दिने अधिकार मटिहानी मठकै महन्थसँग रह्ने गरेको मानिन्छ । त्यसैले त्यहाँको महन्थलाई मान महन्थ भनिएको हो । मान महन्थले आफनै हातबाट पगरी लगाइदिएपछि मात्र धनुषा र महोत्तरीका अन्य मठ मन्दिरका महन्थले वैधता पाउने विधान छ ।

मटिहानी मन्दिरको नाउँमा धनुषाको फुलगामामा एक सय ३२ विघा, कजरारमौलमा ३४ विघा, सपहीमा ४३ विघा उमाप्रेमपुरमा १९ विघा महोत्तरीको मझौरा विसनपुरमा ८ विघा धिरापुरमा ५५ विघा मटिहानीमा ६० विघा र जाउखमा २७ विघा जग्गा छन् । तीमध्ये एक सय ७५ विघा जग्गा अतिक्रमण भइसकेको छ ।

यस स्थानमा नेपालकै पुरानो संस्कृत क्याम्पस रहेको छ । अहिले पनि त्यहाँ संस्कृत अध्ययन गर्नेहरु पुग्ने गर्छन । नेपाल संस्कृत विश्वविद्यालय मातहतमा पुगेको याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत विद्यापीठमा दर्जनौं विद्यार्थीलाई निःशुल्क भोजनको व्यावस्थापन गरिँदै आएको छ ।
पर्यटकीय स्थलको सम्भावना बोकेको मटिहानी स्थान चर्चामा रहेपनि संरक्षणको पर्खाईमा रहेको छ । कुनै बेला हात्तीघोडाहरुको चहलपहलले लक्ष्मीनारायण मठ सजिसजाउ हुन्थ्यो । संस्कृत शिक्षा आर्जन गर्नेहरु पनि प्रशस्त भोजन र सुविधामा यहा पढ्न पाउँथे तर अहिले अवस्था भने भिन्न भएको छ ।

नेपाल अधिराज्यकै महन्थहरुका पनि महन्थ अर्थात् महोतरी जिल्लाको मटिहानी नगरपालिकामा रहेको लक्ष्मीनारायण मठका मानमहन्थ जगन्नाथ दास मठको अवस्था देखेर चिन्तित छन् । मठको आफनै सम्पत्तिको राम्रो सदुपयोग नहुदा यसको जीणर्ोद्धारका साथै दैनिक कार्य सञ्चालन अनि विद्यार्थीहरुको सुखसुविधामा पनि प्रतिकुल असर परिरहेको छ, मानमहन्थ दास वैष्णव बताउँछन ।

भाइचाराको केन्द्र

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामबाट १५ किलोमिटर पश्चिम-दक्षिण लागेपछि महोत्तरीको जलेश्वर आउँछ । त्यहाँबाट घरी पूर्व त घरी दक्षिण मोडिँदै मटिहानी बजार पुगिन्छ । बजार नपुग्दै गाउँकै मुखमा भव्य स्वागतद्वारले पाहुनालाई स्वागत गर्दछ । त्यो स्वागतद्वारमै संस्कृतको श्लोकबाट संस्कृत शिक्षाको गरिमालाई झल्काउँछ । गाउँ हुँदै अलिपर पुगेपछि झन्डै अढाई बिघामा लक्ष्मीसागर तलाउ फैलिएको देखिन्छ । तलाउको उत्तरतिरको किनारमा मुलुकभरका मठहरूका नायक लक्ष्मीनारायण मठ देखिन्छ । चुन, मासको दाल, काठ, इँट्टाको समिश्रणबाट दुई तलामा मठ ठडिएको छ । जहाँ मटिहानी मठको साँढे पाँच सय वर्षको इतिहास छ । जसले तागरशैलीको बखान गर्छ ।

मठको प्रवेशद्वारको माथिल्लो भागमा टाढैबाट दुई सिंहको प्रतिमा देखिन्छ। त्यहाँ पुग्ने पाहुनाले मनमा उर्जा पैदा भएको ठान्छन् । गेटमै पुगेपछि दुई विशाल हात्तीले स्वागत गर्छ । जसलाई सौभाग्यको रूपमा आगन्तुकले भाग्यशाली ठान्ने गर्छन् । बिहान र साँझ पुग्दा साधुसन्तहरू लक्ष्मीनारायण भगवानको भजनकृतनमा झुमिरहेका हुन्छन् । ढोलक, झ्याली, कर्ताल र हारमोनियमको तालमा नाचगान गर्दै लक्ष्मीनारायण भगवान्को महिमा गान सुन्न र देख्न पाइन्छ। यो मठ राजगुठीको सूचीमा पर्छ। यहाँका मानमहन्थले देशभरीका अन्य मठका महन्थहरूको पगरीगुथाउँछन् । रामानन्द सम्प्रदायका सिद्ध सन्त रामदास र सुफी सन्त (मुस्लिम धर्मगुरु) पिर बाबाको भूमि पनि मटिहानी हो । यहाँ हिन्दू र मुस्लिमहरूको धार्मिक सहिष्णुता लोभलाग्दो छ। ईदजस्ता पर्वमा मजारमा ठूलो भिड लाग्छन् । त्यो दृश्य हेर्न त्यहाँका हिन्दू धर्मावलम्बी पनि सहभागी हुन्छन् । आफूलाई दुःख-तकलिफ हुँदा पिर बाबालाई पुकार गर्न मुस्लिम मात्रै होइन, हिन्दू धर्मावलम्बीहरू पनि मजार पुग्छन् ।


मुस्लिमको ईस्लामिक क्यालेन्डरअनुसार हिजरी सम्वत्को पहिलो महिना मुहर्रममा मुस्लिम समुदाय ताजिया (दाहा) लिएर लक्ष्मीनारायण मठमा पुग्छन् । त्यहाँ मठाधीशलाई हजारौंको संख्यामा लाठी, घरेलु हात हतियार प्रदर्शन गरेर देखाउँछन् । त्यो दृश्य हेर्न हिन्दू पनि हजारांैको संख्यामा पुग्छन् । मठाधीस खुसी भएर आर्शीवाद र दक्षिण दिएर पठाउने चलन छ ।

नगरपालिकाको स्थापना

२०७३ सालमा नगरपालिका स्थापना भएको मटिहानी नगरपालिकामा मटिहानी, धिरापुर, मझौरा विसनपुर र सिमरदही गा.वि.सलाई मिलाइएको छ । ९ वटा वडा रहेको सो नगरपालिकाको क्षेत्रफल २९.०२ वर्ग कि.मि. रहेको छ । २०६८ सालको जनगणनाअनुसार नगरपालिकाको जनसंख्या ३१,०२६ रहेको छ जसमध्ये महिला १५,८२३ र पुरुष १५,२०३ रहेको छ । स्थानीय सरकार आएपछि मटिहानीका मठमन्दिर, शैक्षिक तथा धार्मिक स्थलको संरक्षण, सम्वर्द्धनमा लागि परेको छ । तर, बजेट अभाव छ । हालै मटिहानी नगरपालिकाले नगरभित्र रहेका प्रतापी थान मन्दिर, राघोबाबा मन्दिर, पासवान जातिका कूलदेवता राजा सलहेशको मन्दिरको जीणर्ोद्धार गरेको छ । मटिहानी बजारमा घण्टाघर छ । जहाँ घण्टैपिच्छे समयको बोध गराउँछ । जलेश्वर-मटिहानी सडक र मटिहानी-जनकपुर सडक (रामजानकी पथ)मा नगर प्रवेशद्वार बनाइएको छ । लक्ष्मीसागरमा मनोरम घाट र चित्ताकर्षक पक्की घेराबेरा छ ।

राति झिलिमिली बत्ती बल्छ । मटिहानीबजारमा अतिथिगृह निर्माण गरिएको छ। लक्ष्मीनारायण मठअगाडि भव्य दुर्गा मन्दिर र विद्यालय परिसरमा नेपाली सेनाले अन्नपूणर् भोजनालय निर्माण गरेको छ । मटिहानी नगरपालिका, प्रदेश सरकार, प्रदेश सभा सदस्य अभिराम शर्मा र प्रतिनिधि सभा सदस्य महन्थ ठाकुरको संसदीय कोषबाट धार्मिक स्थल संरक्षणका थोरबहुत कामहरू भएका छन् । मटिहानी नगरपालिका मेयर हरिप्रसाद मण्डल भन्छन्, ‘मटिहानीको विकास तथा प्रवर्द्धनका लागि राज्यबाट न योजना बनाइयो न त भरपुर विकास बजेट आयो ।’

पुरानो गुरुकुलको चर्चा

तस्मैया बाबाका शिष्य जयकृष्ण दास थिए । उनी आफै संस्कृतका महावैयाकरण थिए । उनले नै १७७५ सालमा संस्कृत पाठशाला (गुरुकुल)को स्थापना गरे । जुन अहिले राजकीय संस्कृत माध्यमिक विद्यालयको नामले चिनिन्छ । जहाँबाट नेपालमा औपचारिक शिक्षाको सुरुआत भएको राजकीय संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेल बताउँछन् । १८२५ सालमा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरे । त्यसभन्दा ५० वर्ष पहिले मटिहानीमा गुरुकुल खोलिएको थियो । १९१० सालमा जंगबहादुर रानाले दरबार हाईस्कुल खोलेका थिए ।
दरबार हाईस्कुलको नामनिशान केही नहुँदै मटिहानी-७ मा लक्ष्मीनारायण मठबाट संस्कृत गुरुकुल सञ्चालन थियो । तर, राज्यको नजरमा यो स्कूलले सोचेको जस्तो अभिभावकत्व नपाएको नव्य न्याय शास्त्रका डा. गोविन्द चौधरी बताउँछन् ।

गुरुकुलको इतिहास गाउँका बुढापाकाबाट मात्रै सुन्न पाइन्छन् । दस्तवेज धमिराले खाइसकेको छ। डा. चौधरी भन्छन्, ‘यहीबाट ज्ञान आर्जन गरेर सयौंले विद्वान्को मानपदवी पाए । तर, मटिहानीको ऐश्वर्यलाई चिनाउने लाल अझै भेटिएको छैन ।’ पुरातात्त्विक विभागले देशको जेठो स्कूलबारे अध्ययन, अनुसन्धान गरिनु माग गर्दै प्रधानाध्यापक पौडेल भन्छन्, ‘विद्यालयको भ्रमण गर्न राष्ट्रप्रमुख आउँदै हुनुहुन्छ, अब हाम्रो विद्यालयले विशेष सहयोग प्राप्त गर्छ भन्ने आशा पलाएको छ ।’
मुलुककै जेठो मानिने महोत्तरीको मटिहानी नगरपालिका-७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालय परिवार यतिखेर उत्साहित छन् । राष्ट्रपतिले विद्यालय परिसरमै पुगेर अवलोकन गर्दै शैक्षिक र भौतिक अवस्थाबारे चासो देखाउनुभएपछि यहाँका शिक्षक, विद्यार्थी र मटिहानीवासी उत्साहित भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले विद्यालयको अवलोकन गर्दै विद्यालयका गतिविधिबारे जानकारी लिनुभएको थियो । राष्ट्रपतिले विद्यालयको शैक्षिक, भौतिक अवस्थाबारे चासो देखाउनुभयो बताउँदै विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेलले भन्नुभयो, ‘राष्ट्रपतिले विद्यालयको सुधारका लागि के गर्न सकिन्छ ? भन्ने चासो देखाउनुभएको छ, राष्ट्रप्रमुखको यो चासोले हामी उत्साहित भएका छौँ ।’

शैक्षिक जागरण र सुधारका अग्रदूत बालगुरु षडानन्द (भोजपुर, दिङ्ला) ले शिक्षा आर्जन गर्नु भएको यो विद्यालयलाई पछिल्लो कालमा नेपालको प्रजातान्त्रिक आन्दोलन (२०१७-२०४६) मा यहीँकै विद्यार्थीले सहादत दिनुभएको गौरवपूणर् इतिहास रहेको मटिहानीवासी सम्झन्छन् । नेपाली प्रजातान्त्रिक आन्दोलनका महान् शहिद केशव कोइरालाको शिक्षा यहीँ भएको हो, उहाँको सहादतस्थल पनि मटिहानीकै माटो हो ।

करिब १५ कठ्ठा क्षेत्रफलमा फैलिएको अहिले कक्षा-८ देखि १२ सम्म अध्ययन/अध्यापन हुने यो विद्यालयमा पढेका विद्यार्थी मुलुककै विशिष्ट ओहदामा पुगेर कुशलतासाथ सो जिम्मेवारी निर्वाह गरेका मटिहानीबासी गौरव गर्दै सम्झन्छन् । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति भइसक्नुभएका कुलप्रसाद कोइराला, पाठ्यक्रम विकास केन्द्रका निर्देशकको जिम्मेवारी निर्वाह गर्नॅभएका शम्भु दाहाल, सरकारको विशिष्ट श्रेणीका शम्भु कोइराला र न्यायशास्त्रका प्रकाण्ड विद्वान प्राध्यापक डा. गोविन्द चौधरी र हाल बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण सचिब विद्यानाथ झा केही सम्झनाका विद्यार्थी रहनुभएको छ । मटिहानी मेयर मण्डल भन्छन कति सरकारी अधिकृत, प्राफेसर, बकिल, पत्रकार यस विद्यालयका छात्र बनेका छन गिन्ती नै गर्न सकिदैन । भारतको बिहार प्रान्तस्थित मिथिला विश्वविद्यालय, दरभङ्गा विश्वविद्यालय र बिहार विश्वविद्यालयमा उपकुलपति, रजिष्टार हुने पनि कैयौं यस विद्यालयका विद्यार्थी छन् ।

विसं २०४६ देखि विद्यालयमा पढ्न आउने विद्यार्थी घटेका छन् । खासमा प्रजातन्त्र पुनः स्थापनायता ठाउँठाउँमा विद्यालय स्थापनाको लहर चलेपछि विकट पाहाडि भेगबाट पढ्न आउने विद्यार्थीको संख्या घटेको यहाँका शिक्षक बताउँछन् । ‘यहाँ भारतदेखि नेपालका विकट पाहाडि भेगका विद्यार्थी भरिभराउ हुन्थे’, यसै विद्यालयमा अध्ययन गरेर अहिले यहीं नै कर्मकाण्ड विषयका शिक्षक रहनुभएका शोभाकान्त झा भन्नुहुन्छ, ‘ती दिन सम्झँदा अहिले सुनसानझैँ लाग्छ ।’ अहिले पनि मुलुकका २७ जिल्ला र छिमेकको भारतका विभिन्न ठाउँका गरी १५० विद्यार्थी अध्ययनत रहेका झाले बताउनुभयो । हाल अध्ययनरत विद्यार्थीमा महोत्तरीबाहेक विकट पहाडी जिल्ला दैलेखका बढी छन् ।

विगतमा व्राह्मण जातिका वटुकमात्र पठनपाठन गर्न पाउने विद्यालयमा अहिले सबै जातजाति, धर्म परम्पराका छात्रछात्रा पढ्न पाउने भएका छन् । विद्यालयमा हिन्दू परम्पराका विभिन्न जातजातिका मात्र नभई इस्लाम धर्म परम्पराका छात्र पनि रहेका प्राचार्य(प्रधानाध्यापक) पौडेल बताउनुहुन्छ । विद्यालयमा अहिले व्राह्मण, क्षत्री, जनजाति (केवट, धानुक) दलित (परियार, खत्बे, चमार) जातिका हिन्दू परम्पराका मात्र नभई इस्लाम धर्म परम्पराका छात्रसमेत अध्ययन गरी रहेका विद्यालयले जनाएको छ । जम्मा १५० विद्यार्थीमध्ये ६५ छात्रावासमा छन् । मुलुकको राजगुठीबाट विद्यालयको छात्रावासमा रहने विद्यार्थीले भोजनवृत्ति पाउँदै आएका छन् । यसको स्थानीय व्यवस्थापन मटिहानीस्थित लक्ष्मीनारायण मठले गर्दै आएको छ ।

मुलुकको माध्यमिक तहको पाठ्यक्रमअनुसार अनिवार्य सबै विषय अन्य विद्यालयजस्तै यहाँ पनि पढ्नुपर्ने हुन्छ । यसका अतिरिक्त अनिवार्य संस्कृत (भाषा, साहित्य) र ऐच्छिक प्रथम र द्वितीय गरी वेद, ज्योतिष, साहित्य, व्याकरण, न्यायशास्त्र र कर्मकाण्ड विषय छन् । प्रथम ऐच्छिकमा कर्मकाण्डको विकल्पमा साधारण विद्यालयको जस्तै इच्छाधीन गणित र शिक्षा रोज्न पाउने व्यवस्था छ । द्वितीय ऐच्छिकमा भने वेद, ज्योतिष, साहित्य, व्याकरण र न्यायशास्त्रमध्ये एक विषय पढ्नुपर्ने नियम छ । द्वितीय ऐच्छिकका सबै विषय संस्कृत माध्यमका रहेका प्राचार्य पौडेलले जानकारी दिनुभयो ।

विद्यालयको छात्राबासमा बस्ने वटुक (छात्र) ले दैनिक रुपमा बिहान रुद्राभिषेक पाठ गर्ने नियम छ । यो अखण्ड रुद्राभिषेक महर्षि फाउण्डेशनको सहयोगमा चार वर्ष पहिले प्रारम्भ गरिएको हो । फाउण्डेशनले विद्यालयलाई एकजना ध्यानगुरुको दरबन्दी दिएको छ । छात्रावासमा बस्ने विद्यार्थी सधैं अनिवार्य रुपले बिहानको योग, ध्यान र रुद्राभिषेकमा सरिक हुन्छन् । त्यसैगरी सधैं विद्यालयमा सन्ध्या आरती हुन्छ । नियमित रुद्राभिषेक पाठले विद्यार्थीको वाचन शुद्ध भएर यहाँको देवकार्य, पितृकार्य नियमसङ्गत हुने गरेको प्राचार्य पौडेल बताउनुहुन्छ । विद्यालय परिसरसँगै जोडिएको पौराणिक लक्ष्मीसागर (तलाउ) मा प्रत्येक बिहीबार हुने लक्ष्मीनारायण आरती छात्रावासका वटुकले नै गर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *