
मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर ०२, बिहीवार
काठमाडौं । कतारविरुद्धको तीन खेलको टीट्वेन्टी क्रिकेट शृंखलामा नेपालले क्लिन स्विप गरेको छ। बिहीबार भएको तेस्रो तथा अन्तिम खेलमा कतारलाई १०९ रनले पराजित गर्दै नेपालले शृंखला ३-० ले क्लिन स्विप गरेको हो।
मंगलबार भएको पहिलो खेल पनि नेपालले एक सय १९ रनको जितका साथ बुधबार भएको दोस्रो खेलमा कतारलाई ६१ रनले पराजित गर्दै एक खेल बाँकी छँदै शृंखला जितेको थियो।
कतारको दोहास्थित वेस्ट एन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले दिएको १६५ रनको विशाल लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ५५ रन मात्र बनायो। कतारकी अलिना खानले सर्वाधिक १९ रन बनाइन्। कप्तान आयशाले १३ रन बनाइन्। कतारका चार खेलाडी रनआउट भएका थिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १६४ रनको विशाल योगफल खडा गरेको थियो। नेपालको विशाल योगफलमा सीता रानामगरले अविजित ८२ रनको अर्धशतकीय पालि खेलेकी थिइन्। उनले ७२ बलमा सात चौका हिर्काइन्। टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सीताको पहिलो अर्धशतक हो। यस्तै नेपालको भने तेस्रो अर्धशतक हो। यसअघि बुधबार कप्तान रुबिना क्षत्री र मंगलबार इन्दु बर्माले अर्धशतक बनाएका थिए।
यसैगरी ज्योति पाण्डेले २४, सरिता मगरले अविजित १७, डोली भट्टले १२ र काजल श्रेष्ठले सात रन बनाए। नेपालले २२ रन अतिरिक्त रुपमा पाएको थियो। कतारकी एन्जेलिन मरे, साची ढाडवाल र कप्तान आयशाले एक-एक विकेट लिए।
यसअघि मंगलबार भएको पहिलो खेलमा नेपालले कतारलाई एक सय १९ रनले पराजित गरेको थियो। बुधबार भएको दोस्रो खेलमा ६१ रनको जित निकाल्दै महिला टोलीले पहिलो पटक टीट्वेन्टी अन्तर्राष्ट्रिय शृंखला जितेको थियो।
आईसीसी महिला टीट्वेन्टी विश्वकपको एसियाली छनोटको तयारीका लागि नेपाली महिला टोलीले कतारसँग तीन खेलको टीट्वेन्टी शृंखला खेलेको हो। १४ सदस्यीय नेपाली टोली शुक्रबार संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई प्रस्थान गर्नेछ।
आईसीसी महिला टीट्वेन्टी विश्वकपको एसियाली छनोट खेल नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुँदैछ। छनोटमा ६ टोलीको सहभागिता रहने छ। जसमा भुटान, हङकङ, कुवेत, मलेसिया, नेपाल र संयुक्त अरब इमिरेट्सले प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगिताको शीर्ष स्थान हासिल गर्ने टोलीले ग्लोबल छनोट खेल्ने छ।
नेपालले आईसीसी महिला टीट्वेन्टी विश्वकपको एसियाली छनोटको पहिलो खेलमा आगामी सोमबार मंसिर ६ गते हङकङको सामना गर्नेछ। यसैगरी मंसिर ७ भुटान, मंसिर ९ गते कुवेत, मंसिर १० गते मलेसिया र मंसिर १२ गते यूएईसँग प्रतिस्पर्धा गर्नेछ।