वर्ष ०४ | अंक २७ | कार्तिक १८, २०७८ | डा. सनतकुमार वस्ती

“सुखमय पारी सब संसार
आयो रसिलो चाड तिहार
बन्दछ मानू सबको काम
खुशि छन् राजा रैति तमाम ।”

कविशिरोमणि लेखनाथ पौड्याल


खुशी लिएर आउने रसिलो पर्व हो – तिहार वा दीपावली । यो वार्षिक महोत्सव अपार सुख, समृद्धि र उल्लास लिएर आउँछ, किनभने सर्वत्र धनधान्यको परिपूर्णता देखिन्छ यस महोत्सवमा । पाकेका धानका बाला आली आलीमा हरियाली भरेर कृषि प्रधान राष्ट्को मानौँ गौरवगान गरिरहेका हुन्छन् । मानिसमात्र होइन, काग र घुमन्ते कुकुरसम्म पनि तुष्ट, सन्तुष्ट र हृष्ट परिपुष्ट बनेका देखिन्छन्, कविशिरोमणिको बयान छ :

Maa Laxmi Ji Wallpapers - Wallpaper Cave


अन्न छ सबका घर घर पूर्ण
छैन कसैको पेट अपूर्ण
काग र डुलुवा कुत्तासम्म
भात नहेर्ने यो छ अचम्म ।


तिहार प्रकाश पर्व हो । औँसीको निबिड तिमिराच्छन्न रातलाई दीपावली गरी झलमल्ल तुल्याएर यो समुज्ज्वल पर्व हामी मनाउँछाँै । जताततै झलमल्ल पारेर समस्त लोक नै झकाझक बनेको देखिन्छ तिहारमा । कविता यसरी अगि बढ्छ :


घर घर सबका भाँती भाँती
झकमक बल्छन् दीपक ताँती
झिलिमिलि झिलिमिलि वारी पारी
यो छ मजाको रमिता भारी ।


यसमा विशेषतः धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिन्छ । लक्ष्मी सुख समृद्धि र समुज्ज्वलताकी देवी हुन्, शोभा र सौन्दर्यकी अधिष्ठात्री हुन् । सारा नरनारी आ आफ्ना घर आँगन सिँगारेर धनकी उपास्या देवीको अर्चना गर्दछन् । विशेषतः दीप र फूलको साजसज्जा र शोभाले तिहार उल्लासमय बनेको हुन्छ, कविताका पंक्ति बोल्दछन्:


स्थिर गर हाम्रा घरमा पाउ
भन्दै हिन्दू सब नर नारी
गर्छन् पूजा, भवन शिँगारी ।
खेती पाती पूर्ण तयारी
ढकमक फुलले ती फुलबारी
हँसिला मुखका सब नर नारी
सबतिर लक्ष्मीपूजा भारी ।


प्रकृतिका अन्य प्राणी र मानवका बीचको पारस्परिक सह सम्बन्धप्रति श्रद्घा र सम्मान व्यक्त गरेर सृष्टिका हरेक रूपसँग मैत्री र तादात्म्यको बोध गराउनु तिहारको विशेष उद्देश्य प्रतीत हुन्छ । काग, कुकुर, गाई, गोरु आदि मानवसभ्यतासँग सामीप्य सम्बन्ध राख्ने जीवजन्तुहरूका साथ दाजु भाइ दिदी बहिनीलाई समेत गौरव र महिमा प्रदान गर्ने महोत्सव हो: तिहार । तिहार यो तीन अक्षरको एक संज्ञा भए तापनि अनेक उत्सवहरुको पुञ्ज हो ।

kag tihar - NepalaYak

कागतिहार

पाँच दिनसम्म हर्षोल्लासका साथ मनाइने यस पर्वको पहिलो दिन कागतिहार हो । यो कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइन्छ । कागलाई मृत्युका देवता यमराजको दूत मानिन्छ, मन्त्र भन्दछ ः


काकोऽसि यमदूतोऽसि वायसोऽसि महामते
इमं बलिं गृहाण त्वं त्रायस्व यमसंकटात् 


हे कागराज, तिमी यमका दूत हौ । महामति हौ । मैले श्रद्धापूर्वक सम्पन्न गरेको यो पूजा आराधना र नैवेद्य ग्रहण गर अनि मलाई यमको संकटबाट बचाऊ ।
यसरी मृत्युका देवता यमराजको दूतका रूपमा सम्मान गर्दै मृत्युको संकटबाट मुक्तिको कामनाका साथ कागलाई पूजा आजा र नैवेद्य अर्पण गरेर कागतिहार मनाइन्छ । त्यसै साँझ यमदीपदान पनि सम्पन्न गरिन्छ । शास्त्रनिर्देश छ:


कार्तिकस्यासिते पक्षे त्रयोदश्यां निशामुखे
यमदीपं बहिर्दद्यादपमृत्युर्विनश्यति ।


कार्तिक कृष्णपक्षको त्रयोदशीका साँझ यमदेवलाई दीपदान गर्नाले अपमृत्यु विनष्ट हुन्छ ।
यसै शास्त्रीय मान्यतालाई हृदयंगम गरेर साँझमा यमदीपदान गरिन्छ निम्नोल्लिखित मन्त्र उच्चारण गरेर :


मृत्युः पाशधरः कृष्णः कालदण्डधरो महान्
तुष्टोस्तु दीपदानेन त्रयोदश्यां स धर्मराट् ।


हे पाशधर, हे काललण्डधारी महान् धर्मराज, यो मैले हजुरलाई चढाएको दीपदानबाट सन्तुष्ट बन्नुहोस् र मेरा समस्त दोषहरुलाई क्षमा गरेर कृपापूर्वक मलाई अपमृत्युबाट मुक्त गर्नुहोस् ।

Dog Worship Festival 'Kukur Tihar' Observed Across Nepal and India - INSIDE  NE

कुकुरतिहार

दोस्रो दिन कुकुर तिहार हो । कार्तिक कृष्ण चतुर्दशीमा कालो र झालेमाले दुइ रंगका दुइ भाइ कुकुरलाई यमराजको सेवकका रुपमा सम्मान गर्दै मृत्युभयबाट मुक्त हुन टीका फूलमाला र खानेकुरा दिएर कुकुरलाई पूजा गरिन्छ । मन्त्र छ :

शुनकौ श्यामशबलौ भ्रातरो यमसेवकौ
तुष्येताञ्च चतुर्दश्यां दीपदानेन मृत्युजौ ।

सेता र छिरबिरे रंगका यी दुई भाइ यमसेवक श्वानयुगललाई दीपदानका साथ नैवेद्य अर्पण गरेर पूजा गर्दछु, यी दुवै प्रसन्न होऊन् र यमको कोपबाट हामीलाई बचाऊन् । वास्तवमा पशुहरुमध्ये पनि कुकुरजाति अनादिकालदेखि मानवसभ्यतामा सहभागी निकटतम रुपले सहभागी हुँदै आएको प्राणी हो । महाभारतकालमा पञ्चपाण्डवको अन्तिमयात्रामा समेत सहयात्री बन्न पुगेको कुकुर आधुनिक कालमा पहिलो अन्तरिक्षयात्री पनि बनेको इतिहास पाइन्छ । आधुनिकतम मानवसभ्यतामा देशविदेश सर्वत्र कुकुरले मानिसको सबैभन्दा नजिक बनेर मित्रताको निर्वाह गरेको पाइन्छ । यी सबै पक्षले पनि कुकुरतिहारको सन्दर्भलाई अझ अर्थपूर्ण बनाएको देखिन्छ ।

Book Diwali Laxmi Puja & Katha | Shaligram Shala

लक्ष्मीपूजा

तेस्रो दिन कार्तिक कृष्ण अमावस्याको रात लक्ष्मीपूजा गरिन्छ । समस्त धनधान्यकी देवी लक्ष्मीको उपासनाले सुख, समृद्धि, सम्पदा र समुन्नति प्राप्त हुन्छ । यस रात्रिलाई सुखरात्रि पनि भनिन्छ ।
मन्त्र भन्दछ:

विश्वरुपस्य भार्यासि पद्मे पद्मालये शुभे
महालक्ष्मि नमस्तुभ्यं सुखरात्रिं कुरुष्व मे ।
वर्षाकाले महाघोरे यन्मया दुष्कृतं कृतम्
सुखरात्रि प्रभातेद्य तन्मे लक्ष्मीव्र्यपोहतु ।

विश्वरुप विष्णुकी भार्या हे महालक्ष्मी, हजुरको निवास कमलको फूलमा रहेको छ, त्यसैले पद्मा र पद्मालया हुनुहुन्छ । घोर वर्षाकालमा मैले जे जति दुष्कृत गरेँ हुँला त्यो सबै समाप्त होस्, म हजुरको वन्दना गर्दछु । हे धनधान्य र समृद्धिकी देवी, ममाथि प्रसन्न हुनुहोस् । यसै दिन दीपावलीको अपूर्व आलोकले समस्त जगत् समुज्ज्वलित हुन्छ । देउसी भैलो खेलेर अपार आनन्दको वातावरणमा हर्षोल्लास मनाउनु हामी नेपालीमात्रको नितान्त मौलिक परम्परा रहेको छ ।

Gai Puja – Samrat Group Blog

गाईपूजा, गोरुपूजा, गोवर्धन पूजा र म्ह पूजा

चौथो दिन कार्तिक कृष्ण प्रतिपदाका दिन गाईपूजा गरिन्छ , गाईलाई सनातन परम्परादेखि धेरै ठूलो सम्मान र गौरव प्रदान गरिएको छ । गाईका अंग प्रत्यंगमा चौधैवटा भुवन र समस्त देवदेवीको वास भएको भावना गरिन्छ । पूर्वीय चिन्तनमा गाइलाई आमाका रूपमा गोमाता भनेर सम्मान गरिँदै आएको छ । हुन पनि मानवशरीरको मूल पोषक तत्व दूध, दही, घिउ, आदि समग्र वस्तु गाईबाट पाइन्छ । गोमूत्र र गोबरको पनि महत् उपयोगिता हामीले प्रत्यक्ष गर्दै आएका छौँ । अत्यन्त सरल स्वभाव र साधुताको प्रतिमूर्ति गाईको महिमा अपरम्पार छ । हजारौँ वर्षदेखि गोसेवाको महनीय परम्परा रहिआएको छ । उनी लक्ष्मीकी साक्षात् स्वरुप पनि मानिन्छिन् । गोधन गोसेवा र गोदानको बखानले हाम्रा पौराणिक साहित्य सम्पन्न छ । भगवान् कृष्णलाई आदर्श गोपाल मानिन्छ । मन्त्र भन्दछ:

गवामंगेषु तिष्ठन्ति भुवनानि चतुर्दश
यस्मात्तस्माँिच्छवं मे स्तु इह लोके परत्र च ।
लक्ष्मीर्या लोकपालानां धेनुरुपेण संस्थिता
घृतंवहा च यज्ञार्थे मम पापं व्यपोहतु ।

गाईका अंगप्रत्यंगमा चौधै भुवनको वास हुन्छ । यिनी लोकपालहरुकी लक्ष्मी हुन् । दूध, दही, घिउजस्ता अमृतमय वस्तुहरु प्रदान गरेर यज्ञ सम्पन्न गराउँछिन् । यस्ती गौमाताको म अर्चना गर्दछु, हे माता मेरा सबै पाप हरण गरेर सदा कल्याण गर्नुहोस् ।

गोवर्धन पर्वतको महिमा पनि गाईसँगै जोडिएर आउँछ । गौमताको संवर्धन गर्ने यस पर्वतको प्रसंग श्रीकृष्णको लीलामा देखा पर्दछ । यस पर्वतलाई प्रतीकात्मक रुपले पूजागर्ने विधान नै गोवर्धनपूजा हो । प्रत्यक्ष देवताको रूप मानेर हामी गोरूलाई पनि सम्मान र श्रद्घा गर्दछौँ । गोरु समस्त कृषिकर्मको मूल आधार हो । गोरुलाई देवाधिदेव महादेवले स्वयं आफनो वाहनका पमा गौरव प्रदान गर्नाले पनि यसको महिमा गहन छ । यो धर्मको प्रतिरूप पनि मानिन्छ ।
यसै दिन विशेषतः नेवारी समाजमा म्ह पूजाको परम्परा रहेको छ । आत्मतत्त्वको आराधना र आत्मबोधको पर्वका रुपमा यो उत्सव मनाइन्छ । यसै दिन नेपाल संवत्को पनि प्रवर्तन भएको थियो । यसलाई नववर्षारम्भका रुपमा पनि मनाइने गरिन्छ ।

भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा | Sudur Press

भाइटीका

पाँचौँ दिन तिहारको चरमोत्कर्षका रूपमा चिनिन्छ । भातृपूजा या भाइपूजा भनेर पनि चिनिने यो दिन मूलतः भाइटीकाका नामले प्रख्यात छ । यसमा यम र यमुनाको आराधनामा दिदी बहिनीहरुद्वारा यस्तो मन्त्रप्रार्थना गरिन्छ :

यथास्ति यमुनादेवी यमेन भ्रातृशालिनी
तथा मे भ्रातरः सन्तु प्रतिजन्मसु सुव्रताः
मार्कण्डेय नमस्तेस्तु नमस्तेस्तु महायुषे
चिरायुस्त्वं यथा लोके तथा भ्राता भवेन्मम ।

जसरी यमुनादेवी यमराजद्वारा भातृशालिनी बनेकी छन् त्यसै गरी जन्म जन्मान्तरसम्म मेरा पनि स्वस्थ, सम्पन्न, असल दाजुभाई बनिरहुन् । हे चिरंजीवी मार्कण्डेय महर्षे, म हजुरलाई प्रणाम गर्दछु मेरा दाजुभाइलाई हजुरकै जस्तो चिरायुष्य कृपा गर्नुहोस् ।

दिदी बहिनी र दाजु भाइका बीचको पवित्र प्रेमको अभिव्यक्ति गरिने पर्व हो भाइटीका । दाजुभाइलाई दिदी बहिनीले पूजा अर्चना गरी स्वादिष्ट भोजन गराउने र दाजुभाइले चाहिँ टीका माला लगाई दक्षिणा दिई गोडामा ढोगेर दिदीबहिनीको सम्मान र आदर व्यक्त गर्ने यो पर्वले धेरै ठूलो भावनात्मक महत्व राख्दछ । यसरी टीका टाला यो तिहार पर्व सम्पन्न हुन्छ । कविशिरोमणि भन्नुहुन्छ :


वर पर सबका दाज्यू भाई
बटुलिन थाले टीकालाई
हिँड सब जाऊँ बहिनीबाट
पहिरौँ टीका, पारौँ ठाट ।
सब सिद्ध्याई टीका टाला
पहिरि गलामा लामा माला
चिजबिज खाऔँ, चाड मनाऔँ
बेर नलाआँै, जाऔँ जाऔँ ।

आध्यात्मिक चेतना र नेपाली संस्कृतिका वाहक यी हाम्रा राष्ट्रिय पर्वलाई श्रद्घा र प्रेमपूर्वक मनाआँै, मानवीय आस्था र प्रेमको प्रवर्धन गर्ने महापर्व तिहारले हाम्रो जीवनमा सुख समृद्घि र आनन्दको वर्षा गरोस्, समस्त पाठक बन्धुहरूमा यही शुभ कामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *