मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक १०, बुधवार

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा नदिने अड्डी कसेपछि सहकर्मी न्यायाधीशहरू आगामी कदमबारे सामूहिक धारणा बनाउन आज ११:३० बजे बैठक बस्दै छलफलमा जुटदै छन् ।

औपचारिक रूपमै इजलास बहिष्कार गर्ने, अदालतमै नआउने, भद्र विरोध जनाउने वा अन्य विकल्पमा जाने भन्ने विषयमा उनीहरूले छलफल गर्ने बताएका छन् । बुधबार यसबारे सामूहिक धारणा बनाउन उनीहरू बैठक बस्दै छन् ।

मंगलबार जबरासँग आधा घन्टा छलफल गरेर बाहिरिएका न्यायाधीशहरूले केहीबेर बैठक बसेका थिए । जबराको नेतृत्वमा न्यायपालिका चल्न नसक्ने निष्कर्षलाई सार्थक परिणामसम्म पुर्‍याउन निरन्तर लाग्ने उनीहरूको निर्णय छ । यही विषयमा औपचारिक धारणा बनाउन उनीहरू बुधबार बिहान ११:३० बजे पनि बैठक बस्दै छन् ।

‘अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफलमै छौँ । भोलि बिहान बिहान पनि बैठक बस्छौँ । हाम्रो निष्कर्ष उहाँ(जबरा)को नेतृत्वमा न्यायपालिका चल्न सक्दैन भन्ने हो, त्यसमा हामी प्रस्ट छौँ,’ एक न्यायाधीशले भने । जबरालाई राजीनामाका लागि दबाब दिन नियमित इजलास बहिष्कार गर्ने न्यायाधीशहरूको रणनीति छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *